नेपाली आख्यान, समालोचना र नाट्य विधामा सुपरिचित नन्दलाल आचार्यको जन्म उदयपुरको ठोक्सिला, जहडामा वि.सं. २०३० असार २८ गते भएको हो। स्नातकोत्तरसम्मको शैक्षिक योग्यता हासिल गरी शिक्षण पेसामा संलग्न रहँदा पनि उहाँले साहित्यमा आफ्नो एक विशिष्ट पहिचान बनाउनुभएको छ। साहित्यलाई जीवनधर्म मान्ने आचार्यले आफ्नो कलमलाई ‘लौरो’, मनलाई उपन्यास र संवेदनालाई ‘शल्यक्रिया’को विषय बनाउँदै सिर्जनात्मक यात्रालाई निरन्तरता दिनुभएको छ।
उहाँका प्रकाशित कृतिहरूले उहाँको बहुआयामिक साहित्यिक व्यक्तित्वलाई उजागर गर्छन्। ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ (नाट्यकृति), ‘गरूराहा’ (उपन्यास), ‘एकहाते जीवन’ (निबन्धसङ्ग्रह), ‘पुण्य कार्कीको कथाकारिता’ (समालोचनासङ्ग्रह), ‘लौरो’ (लघुकथासङ्ग्रह) र ‘शल्यक्रिया’ (कथासङ्ग्रह) जस्ता कृतिहरूले उहाँलाई बहुविधामा कलम चलाउने स्रष्टाको रूपमा स्थापित गरेका छन्। संवेदनशील दृष्टिकोणका साथ सामाजिक विषयवस्तुको कलात्मक उठान गर्नु उहाँको लेखनको प्रमुख विशेषता हो।
नेपाली साहित्यमा, विशेषगरी लघुकथा विधामा, ‘उत्तरकथा’ लेखनको प्रयोग थालनी गर्ने श्रेय आचार्यलाई नै जान्छ। विश्व साहित्यमा प्रचलित यस परम्परालाई नेपाली माटोमा मलजल गर्दै उहाँले एक नौलो आन्दोलनको प्रारम्भ गर्नुभएको छ।
यसै प्रयोगलाई निरन्तरता दिँदै उहाँले हाम्रो कथाघरको “लघुकथामा एक प्रयोग” स्तम्भ सञ्चालन गर्दै आउनुभएको छ। यस स्तम्भमा उहाँले प्रत्येक पटक तीन स्रष्टाका लघुकथा छनोट गरी तिनको विश्लेषणात्मक समीक्षा गर्नुका साथै तिनै कथामा आधारित उत्तरकथाहरू पनि सिर्जना गर्नुहुन्छ। यसरी उहाँले समीक्षा र सिर्जनालाई एकैसाथ अगाडि बढाउँदै नेपाली लघुकथामा एउटा नवीन र महत्वपूर्ण आयाम थप्नुभएको छ।
प्रस्तुत छ “लघुकथामा एक प्रयोग”को
नयाँ श्रृङ्खला
१. लघुकथा: उत्परिवर्तन
✒ इन्दिरा चापागाईं
‘हैन, मेरो सृष्टिमा के खोट थियो र मानिस यस्तो संवेदनाहीन हुन थाल्यो हँ ? तिम्रो पालनमा केही खराबी भएको हुनुपर्छ,’ ब्रह्माजीले विष्णुलाई आरोप लगाए ।
‘खरानी र सुलीको प्रयोग गरेर मान्छे बनायौ । कच्चा पदार्थ राम्रो भए पो चीज राम्रो हुन्छ !’ विष्णुले उल्टै ब्रह्मालाई झपारे ।
‘यसमा तिमीहरू दुवैको केही दोष छैन । विनाशकाले विपरीत बुद्धि ! मानव सभ्यता नाश हुने समय आएकोले मानव अमानवीय हुँदै गएको हो,’ संहारकर्ता महेश्वरले तर्क लडाए ।
वैज्ञानिक मार्क स्मिथले ब्रह्मा, विष्णु र महेश्वरका यी सब कुरा सुने । प्रयोगशालाबाट बाहिर निस्किँदै स्मिथले भने, ‘माफ गर्नुस् भगवान् त्रय ! यहाँहरू कसैको तर्कमा पनि कुनै सत्यता छैन । मैले पन्ध्र वर्ष अनुसन्धान गरेर सत्य तथ्य पत्ता लगाएको छु ।’
‘त्यसो भए के हो त तिम्रो सत्य तथ्य ?’ भगवान् महेश्वरले सोधे । ब्रह्मा र विष्णु जिज्ञासु नजरले हेरिरहे ।
‘मानवका केही जीनमा आएको उत्परिवर्तनको कारण मान्छेमा मानवीय संवेदना हराउँदै गएको हो प्रभु !’ वैज्ञानिक अनुसन्धाता स्मिथले मुस्कुराउँदै भने ।
—०००—
सभापोखरी-१, सङ्खुवासभा
❀❀❀
❛लघुकथा टिप्पणी❜
☞ शीर्षक सार्थकताको दृष्टिकोणबाट इन्दिरा चापागाईंको ‘उत्परिवर्तन’ लघुकथाको विमर्श
✒ नन्दलाल आचार्य
इन्दिरा चापागाईंको लघुकथा ‘उत्परिवर्तन’ शीर्षकमा नै एउटा गहिरो र अर्थपूर्ण सङ्केत छ– मानवभित्र भइरहेको अदृश्य परिवर्तन, जसले व्यवहार, संवेदना र संस्कारका जरा हलचल भइरहेका छन् । शीर्षक देखिने-नदेखिने, बाहिरी-भित्री, दैवी-वैज्ञानिक तीनै तहमा समान रूपमा प्रासङ्गिक छ । यही कारण कथाको सार, व्यञ्जना र सन्देशलाई समेट्ने सशक्त प्रवेशद्वार बनेको छ शीर्षक– ‘उत्परिवर्तन’ ।
पहिलो तहमा, शीर्षकले मानवीय संवेदनाको क्षयलाई एक वैज्ञानिक कारणसँग जोड्छ । लघुकथामा ब्रह्मा, विष्णु र महेश्वरको दैवी संवादले मानवको अमानवीयता कसरी उत्पन्न भयो भन्ने प्रश्न उठाउँछ । गोर्खे ढङ्गले दोषारोपण चलिरहँदा वैज्ञानिक मार्क स्मिथले भन्छन्– “मानवका केही जीनमा आएको परिवर्तनका कारण संवेदना हराएको हो ।” यही क्षण शीर्षक उज्यालिन्छ । ‘उत्परिवर्तन’ भन्ने शब्दले विज्ञानको त्यो सूक्ष्म क्रियालाई सङ्केत गर्छ, जसले जनावरदेखि मानिस बनायो, तर फेरि मानिसभित्रैको मनुष्यता हत्याउँदै आजको असंवेदनशील मनुष्य बनाइरहेको छ । शीर्षक वैज्ञानिक दाबी र दार्शनिक चिन्तन दुवैमा खपिने जति सहज र गम्भीर छ ।
दोस्रो तहमा, शीर्षकले मानव सभ्यताको चरित्रगत यात्रा देखाउँछ । सुरुमा ब्रह्माले “के खोट थियो मेरी सृष्टिमा ?” भनी प्रश्न सोध्दा लघुकथाले एक नैतिक चिन्तन उठाउँछ– मानिस बिग्रेको हो कि परिस्थितिले बिगारेको हो ? महेश्वर भन्छन्– “विनाशकाले विपरीत बुद्धि ।” यसले सभ्यताको आदिम चेतनादेखि अन्तिम पतनसम्मको चक्रबारे सङ्केत गर्छ । ‘उत्परिवर्तन’ यहाँ रूपक हुन्छ– मानवीय मूल्यहरूको भित्रभित्रै भइरहेको अधोगतिको जीवनचक्र । शीर्षक केवल जीनको परिवर्तन मात्र होइन, मानव मनको परिवर्तन पनि हो ।
तेस्रो तहमा, शीर्षक अत्यन्त कलात्मक छ– शब्द छोटो, ध्वनि मृदु, अर्थ बहुअर्थी । ‘उत्परिवर्तन’ सुन्नासाथ पाठकको ध्यान वैज्ञानिक प्रयोगशालातिर पनि जान सक्छ, मानवीय मनको परिवर्तनतिर पनि र समाजको बिम्ब-प्रतिबिम्बतिर पनि । यो परिवर्तन अनिवार्य पनि हुन सक्छ, दुर्घटनात्मक पनि र चेतनाको भूलभुलैयामा हराएको पनि । लघुकथाको चरम बिन्दुमा आएर लेखकले “मानवीय संवेदना हराउँदै गएको हो” भन्नासाथ शीर्षकले आफ्नो सम्पूर्ण अर्थदायरा विस्तार गर्छ ।
चौथो तह लघुकथाको शैलीगत दृष्टिले महत्त्वपूर्ण छ । दैवी पात्र र वैज्ञानिक पात्रलाई एउटै संवाद-मञ्चमा राख्नु स्वयं एउटा ‘कथात्मक उत्परिवर्तन’ हो । पुरानो मिथकीय विश्वदृष्टिलाई आधुनिक प्रयोगशालामा पुर्याएर लेखकले लघुकथा संरचनामा पनि वैचारिक परिवर्तन देखाएकी छिन् । शीर्षक त्यसैको सङ्केत– पुरानाप्रति नयाँ दृष्टिकोण, मिथकमा विज्ञानको फल्को र विज्ञानमा नैतिकताको प्रश्न ।
पाँचौँ तहमा, शीर्षक वर्तमान समाजसँग सीधा जोडिन्छ । आजका समाचार, व्यवहार, सामाजिक विभाजन, प्रविधिको चाप र मानव मनोविज्ञानको कठोरता, यी सबैलाई समेट्ने एउटा सङ्क्षिप्त शब्द हो ‘उत्परिवर्तन’ । मानवीय संवेदना किन हराउँदै छ ? उत्तरमा लघुकथाले दिएको वैज्ञानिक व्याख्या मात्र होइन, शीर्षकले सुझाउने सामाजिक व्याख्या पनि हो । मानिस बदलिएको छ, तर परिवर्तनको दिशा गलत छ ।
यसरी ‘उत्परिवर्तन’ शीर्षक कथाको मूल भावनात्मक, वैज्ञानिक, दार्शनिक र सामाजिक पक्षलाई बाँध्ने एउटा सुन्दर गाँठो बनेको छ । छोटो शब्द, तर विशाल अर्थ । लघुकथाको अन्तिम वाक्यझैँ शीर्षक पनि तीखो छ– अदृश्य परिवर्तन नै आजको सबैभन्दा ठूलो सङ्कट हो । यही सङ्कटका केन्द्रमा यस लघुकथाको शीर्षकले उज्यालो बालेर राखिदिन्छ– मानिस बदलिएको मात्र होइन, मानिसभित्रको मानवीयता नै उत्परिवर्तित हुँदै छ ।
❀❀❀
❛उत्तरकथा❜
लघुकथा: उत्परिवर्तनको प्रतिफल
✒ नन्दलाल आचार्य
“त्यसो भए त्यसको उपचार के छ त स्मिथ ?” विष्णुले अधीरतापूर्वक प्रश्न गरे । उनको मुहारमा सृष्टिको चिन्ता स्पष्ट झल्कन्थ्यो ।
स्मिथ प्रयोगशालाको सफा सेतो भुइँमा उभिए, एकछिन सोचेजस्तो गरे अनि आत्मविश्वासका साथ भने, “उपचार त छ प्रभु, तर त्यो प्रकृतिविरुद्धको हस्तक्षेप हुनेछ । यो उत्परिवर्तित जीनलाई मेटाउन, हामीले मानव मस्तिष्कमा एउटा नयाँ ‘कोड’ स्थापना गर्नुपर्छ, जसलाई मैले ‘करुणा कोड’ नाम दिएको छु ।”
“कोड ? फेरि अर्को कृत्रिमता ?” ब्रह्माजी झसङ्ग भए ।
“के हाम्रो लाखौँ वर्षको सृष्टि केवल एउटा डिजिटल समीकरणमा खुम्चिन्छ ?”
महेश्वरले आफ्नो त्रिशूल भुइँमा टेकाउँदै गम्भीरतापूर्वक भने, “मानव सभ्यताको प्राकृतिक अन्त्य नै यसको समाधान होइन र ? विनाशपछि नयाँ, शुद्ध सृष्टि ?”
स्मिथ मुस्कुराए- “विनाश समाधान होइन प्रभु ! समस्या त्यो जीनमा छ, जुन नयाँ पुस्तामा सर्न थालिसकेको छ । यदि हामीले हस्तक्षेप गरेनौँ भने, केही दशकभित्रै हरेक मानव संवेदनाहीन रोबोटमा परिणत हुनेछ । मैले तयार पारेको कोडले मानवीय सद्भावलाई पुनर्स्थापित गर्नेछ ।”
ब्रह्मा, विष्णु र महेश्वरले एकअर्कालाई हेरे । विवशता स्वीकार्दै विष्णु बोले, “जे गर, तर यसको परिणाम…?”
स्मिथले आफ्नो प्रयोगशालातिर हेरे र गम्भीर वाक्य फ्याँके, “परिणाम ? अब तपाईंहरूले सृष्टि गर्नु पर्दैन प्रभु, म नै हजुरहरूको नयाँ ‘मानव’ लाई ‘अपडेट’ मात्र गरिदिने छु ।”
❀❀❀
२. लघुकथा: कृतघ्न
✒ दिप मङ्गराती
“सतीले सरापेको भन्दा मतिले सरापेको ज्यादा खतरनाक हुँदो रहेछ,” म आवेशित हुँदै मुर्मुराएँ ।
“सतीले देशलाई सरापिन्, मतिले कसलाई सराप्यो..?” ऊ केही ठट्टेउली भावमा बोल्यो ।
“मतिभ्रम भएकाहरूलाई नि…! अरू कसले गर्छ यस्तो दुराचार ?” म अझै आवेशित थिएँ ।
“अरे छोड न, कोही त्यस्तै हुन्छन्, त्यस्तोलाई उस्तैले खाल्डोमा हाल्छ नि…!” ऊ सम्झाउन खोज्छ ।
“होइन…! स्वार्थ र सर्तको पृष्ठभूमिमा उभिएको मित्रता दिगो कसरी बन्न सक्छ…? आफ्नो अभीष्ट पूरा गर्न मात्रै सम्बन्धको डोको बुन्ने होइन नि…!” म अझै गरम भएँ ।
“छोड न यार ! हाइना (हुँडार) कुकुरजस्तो देखिँदैमा घरपालुवा बन्न सक्छ र ? जति नाटक गरे पनि हाइनाले भुक्न त सक्दैन, ऊ त खुसी हुँदा पनि हाँस्छ, दुःखी हुँदा पनि हाँस्छ नि ! यसैलाई भनिन्छ– हाइना प्रवृत्ति । हाँसेको पनि चिनिँदैन, रोएको पनि चिनिँदैन । सायद अरूको लुटेर खानेको प्रवृत्ति नै यस्तै हुन्छ,” उसले दार्शनिक शैलीमा भन्यो ।
“आफ्नो काम लिनु छ भने खुसुक्क घुस्यो, काम सकेपछि फुत्रुक्क उफ्रियो…!”
“नजिकै छ भनेर जति च्याप्न खोज्यो उत्ति चिप्लिएर पर जाने ।”
जति टोके पनि धित नमरेजस्तो मैले टोकिरहेँ, तर दाँतले होइन शब्दले । आज आफैँलाई अनुभूति हुँदै थियो, शब्दले पनि टोक्न सकिँदो रहेछ..!
मेरो एकहोरो फतफते बानीले ऊ केही असहज बन्दै थियो ।
“आखिर कसले के गर्यो तँलाई, भन त सही…?”
“अरू को हुनु…? तँ होस् नि… मुला कृतघ्न !”
—०००—
बेलबारी-३, मोरङ
❀❀❀
❛लघुकथा टिप्पणी❜
☞ शीर्षक सार्थकताको दृष्टिकोणबाट दिप मङ्गरातीको ‘कृतघ्न’ लघुकथाको विमर्श
✒ नन्दलाल आचार्य
दिप मङ्गरातीको लघुकथा ‘कृतघ्न’ बाह्य रूपमा सरल संवादमा बग्छ । तर भित्री तहमा यसले मानवीय सम्बन्धको सबैभन्दा नाजुक मोड– विश्वास भङ्ग र कृतघ्नताको घाउ उत्कट र तिखो रूपले छोइरहेको छ । शीर्षक ‘कृतघ्न’ भन्नेबित्तिकै मनमा एउटा कर्कश यथार्थ उठ्छ, जसले पाएको सुहृत्ता, साथ र सदाशयको मूल्य नबुझी उल्टै चोट दिने चरित्रलाई सङ्केत गर्छ । यही मूल भावनालाई कथाले अत्यन्त कलात्मक, व्यङ्ग्यपूर्ण र घनत्वसहित पुष्टि गर्छ ।
कथाको सुरु नै आवेशमय संवादले हुन्छ– “सतीले सरापेको भन्दा मतिले सरापेको ज्यादा खतरनाक हुँदो रहेछ ।” यस वाक्यमार्फत कथाभित्रको मनोभूमि देखिन थाल्छ । पात्रको भित्री उबलाहट, उसको अनुभवजन्य निराशा र जवाफ खोज्न नसकेको तिक्तता, सबै एउटै तरल भावनामा मिसिएको छ । यही आवेशले पाठकलाई पनि गहिरो रूपमा छुन्छ । ‘कृतघ्न’ शीर्षकको अर्थ यहाँदेखि नै झल्किन थाल्छ– किनकि कृतघ्नता प्रायः विश्वासको धज्जी उडाएको क्षणमा मात्र अनुभूत हुन्छ ।
लघुकथाका संवादहरू साधारणजस्तै लागे पनि तीमा भावनात्मक तिखोपन, कटाक्ष र भोगाइको बोझ मिसिएको छ– “स्वार्थ र सर्तको पृष्ठभूमिमा उभिएको मित्रता दिगो कसरी बन्न सक्छ…?” यो वाक्य शीर्षकको सारमा पुग्ने सबैभन्दा सटीक सेतु भएर उभिन्छ । ‘कृतघ्न’ शीर्षकले सङ्केत गरेको सम्बन्धको अस्थायित्व र विश्वासघात यही प्रश्नमा प्रस्ट हुन्छ । स्वार्थले चलायमान मित्रता, अवसरले खिइने नाताको तन्तु र उपयोगिताको सीमायता, यी सबै कृतघ्नताको व्यापक छायामा अडिएका सूक्ष्म तत्त्व हुन् ।
कथामा प्रयोग भएको ‘हाइना प्रवृत्ति’ रूपक विशेष रूपमा कलात्मक छ । हाइना, जो हाँसो र पीडा दुवैको सङ्केत बुझ्न नसकिने प्राणीको रूपमा चिनिन्छ, कृतघ्न व्यक्तित्वको मनोविज्ञान बुझाउन सान्दर्भिक प्रतीक बनेको छ । हाँस्दा पनि नचिनिने, रोएको पनि थाहा नहुने, खुसी-दुःखी दुवै अवस्थामा बाहिरी आवरण उस्तै रहने यस्तो द्वैध स्वभाव कृतघ्नताको गहिरो व्याख्या हो । शीर्षकले भनेकै यही हो– भावनालाई बुझेर सम्बन्ध निभाउने होइन, फाइदा र अवसरसँगै रूपान्तरण हुने प्रवृत्ति ।
कथाको रचनाशैली पनि शीर्षकसँग मेल खान आइपुग्छ । भाषाशैली छोटा र छरिता संवादले भरिएको छ । पात्रका वाक्यहरूमा आरोप, गुनासो, कटुता र व्यङ्ग्य मिसिएका छन् । यी सबै तत्त्वले कृतघ्नताको घाउलाई सतहमा ल्याउँछन् । जब नायक भावनात्मक रूपमा ‘टोकिरहन्छ’– “दाँतले होइन शब्दले”, त्यो टोकाइ नै कृतघ्नताले बनाएको अदृश्य डसाइ हो ।
कथाको अन्त्य अत्यन्त प्रभावकारी छ– “अरू को हुनु…? तँ होस् नि… मुला कृतघ्न ।” एकाएक मोड आउने यो क्षणले शीर्षकलाई पूर्णता दिन्छ । सुरुमा आफूलाई चोट दिने कसैको कुरा गरिरहेझैँ देखिने पात्र अन्त्यमा आफ्नै साथीसँगै भावनात्मक विस्फोट गर्छ । कृतघ्नता बाहिर कतै छैन; नजिकैको नातामा, सम्झनामा, विनोदमा, संवादमा नै लुकेर बसेको मूल सन्देश यही अन्त्यले कलात्मक रूपमा प्रकट गर्छ ।
यसरी हेर्दा ‘कृतघ्न’ शीर्षक केवल नाम होइन, कथाको मर्म, मनोभाव र अन्तिम चोट– तीनै तहको सारांश हो । कथा यति छोटो र संवादमा निर्भर भएर पनि शीर्षकलाई मर्मस्पर्शी अर्थ दिन सफल छ । कृतघ्नता जीवनका सबैभन्दा भित्री पीडाहरूमध्ये एक हो– न त देखिन्छ, न छुन सकिन्छ, तर भित्रभित्रै निरन्तर टोकिरहन्छ । लघुकथाले यही अदृश्य घाउलाई दृश्य बनाएको छ र शीर्षकले उसैलाई शब्द दिएको छ ।
यस दृष्टिकोणले हेर्दा, ‘कृतघ्न’ शीर्षक कथा-भावना, कथा-संरचना र कथा-मर्मको अटुट केन्द्र हो– छोटो तर चोटिलो लघुकथाजस्तै तिखो, सत्य र कलात्मक ।
❀❀❀
❛उत्तरकथा❜
लघुकथा: सत्यको आगो
✒ नन्दलाल आचार्य
“तँ होस् नि… मुला कृतघ्न !” मेरो त्यो अन्तिम वाक्यले ऊ झस्कियो । उसको अनुहारको ठट्टेउली भाव एकाएक गायब भयो ।
“के भन्दै छस् ? होसमा छस् कि छैनस् ?” ऊ अत्तालियो ।
“होसमा छु र त तेरो नकाब उतार्दै छु । मेरो आर्थिक सहयोगमा खडा भएको तेरो व्यापार, तेरो यो हाँसो… सब झूट हो ! तेरो लागि मैले मेरो जमानी राखेँ, तेरो सफलताको खुसी मनाएँ । तर जब मेरो लागि एउटा सानो सहयोगको पालो आयो, तैँले फोन उठाउनसमेत छाडिस्,” मेरो स्वर काँप्यो ।
ऊ अचानक उठेर हिँड्न थाल्यो ।
“कहाँ जान्छस् ? मेरो प्रश्नको जवाफ नदिई ? हाइना ! हाँस्ने प्रवृत्ति तेरो मात्र होइन रहेछ, तँलाई च्याप्ने मेरा हात पनि स्वार्थी रहेछन् । मैले तँलाई विश्वासको डोरी दिएँ, तेरो स्वार्थको डोरीमा आफैँ बाँधिएँ । अब बुझ्दै छु, कृतघ्नलाई सराप्नुभन्दा पहिले, कृतघ्नलाई चिन्ने मतिहीनतालाई सराप्नु पर्ने रहेछ ।”
ऊ रोकियो, तर फर्किएन । उसको मौनताले मेरो क्रोधलाई पराजित गर्यो । कृतघ्नले दिने सबैभन्दा ठूलो पीडा शब्द होइन, सम्बन्धको निरर्थकता रहेछ ।
❀❀❀
३. लघुकथा: पशुपतिनाथको सेरोफेरो
✒ अजित आचार्य
“के-के हेरेर आयौ त ?”
एसईईको परीक्षा सकेर काठमाडौँ घुम्न आएको नातिलाई हजुरबा धनञ्जय बाजेले सोधे । नाति सिमलले आफूले देखेको दृश्य-परिघटनाबारे बताउन थाल्यो ।
“पशुपतिनाथको मन्दिर वरपर छाडा साँढे रहेछन् । बाँदरहरू धेरै रहेछन् । परेवाका बथान रहेछन् । माग्ने मानिसहरू पनि रहेछन् । रमिता हेर्ने मान्छे त झन् थुप्रै ।”
“अरू पनि केही देख्यौ त्यहाँ ?” हजुरबाले फेरि सोधे ।
“अँ, बागमतीको धमिलो पानी देखेँ । लास जलाइरहेको देखेँ । पारिपट्टिका मानिसहरू पूजा गर्दै गरेको देखेँ,”
सिमलले सम्झँदै भन्यो ।
“यी सबै दृश्यलाई मिलाएर फरक ढङ्गले भन्न सक्छौ ?”
हजुरबाले उसकै बुझाइ थाहा पाउन चाहे ।
सिमल एकछिन सोच्यो । अनुहार उज्यालो बनाउँदै भन्यो–
“मैले पशुपतिनाथ वरपर जुन दृश्य देखेँ, त्यो त संसारकै प्रतिनिधि स्थलजस्तै लाग्यो, जहाँ मानिस र पशुपन्छी एकअर्कामा आश्रित भएर बसेका हुन्छन् । मानिसहरूका स्वभाव फरक, परिवेश फरक । सबैको समय, अवसर, दक्षता र क्षमता उस्तै हुँदैन । मानिसको जीवन कहिले सुख, कहिले दुःखमा घुमिरहन्छ । जीवनको सुरुवात, मध्य र अन्त्य सबै कुनै न कुनै विश्वासमा टेकेर चलिरहन्छ । प्रकृतिको काखमा नै यो सब भइरहन्छ ।”
नातिको वर्णन सुनेर हजुरबा दङ्ग परे । उनलाई सिमलको सोचाइमा यस्तो अप्रत्याशित क्षमता भेटियो, जसको अनुमान उनले कहिल्यै गरेका थिएनन् ।
—०००—
व्यास-९, कलेस्ती, तनहुँ
हाल: मातातीर्थ, काठमाडौँ
❀❀❀
❛लघुकथा टिप्पणी❜
☞ शीर्षक सार्थकताको दृष्टिकोणबाट अजित आचार्यको ‘पशुपतिनाथको सेरोफेरो’ लघुकथाको विमर्श
✒ नन्दलाल आचार्य
अजित आचार्यद्वारा लेखिएको लघुकथा ‘पशुपतिनाथको सेरोफेरो’ शीर्षक सुन्दा नै एउटा विशाल सांस्कृतिक, धार्मिक र दार्शनिक वृत्त मनमा खुलिहाल्छ । नेपालका असङ्ख्य मानिसका लागि पशुपति केवल पूजाआराधनाको स्थल मात्र होइन, जीवनलाई बुझ्ने एउटा खुला कक्ष हो, जहाँ जन्म, मृत्यु, सङ्क्रमण, कर्म र समयको सतत प्रवाह खुला आकाशजस्तै स्वतन्त्र छ । यही शीर्षकको गहिराइभित्र कथा सुरु हुन्छ– एक नाति र हजुरबाबीचको सानो, आत्मीय र संवादमुखी यात्राबाट ।
कथाको भाषा सरल छ, आत्मीय छ, स्थितिलाई चित्रात्मक ढङ्गले देखाउने कोमलता बोकेको छ । हजुरबाको एउटा सामान्य जिज्ञासाबाट कथा बिस्तारै दार्शनिक मुहानतिर बग्दै जान्छ । नाति सिमलले देखेका दृश्यहरू– साँढे, बाँदर, परेवाहरू, माग्नेहरू, भाविकहरू सबै मिलेर पशुपति क्षेत्रको प्राकृतिक, सांस्कृतिक जीवनचित्र खडा गर्छन् । यिनै विविध रूपहरूले शीर्षकलाई सजीवता दिन्छन्, किनभने पशुपतिनाथ भन्नासाथ यस्ता असङ्ख्य गतिशीलता नै हाम्रो सामु खुट्ट्याइरहेका छन् ।
लघुकथा केवल दृश्यहरूको साधारण विवरणमा नअडिएर अघि बढ्छ । हजुरबा नातिको सोच नाप्न चाहन्छन्– ‘यी दृश्यहरूलाई फरक ढङ्गले व्यक्त गर्न सक्छौ ?’ यही प्रश्नले लघुकथालाई सामान्य वर्णनबाट दार्शनिक प्रतीकात्मकतामा रूपान्तरण गर्छ । सिमलको उत्तर छोटो छ तर गहिरो– ‘पशुपति वरपर जे देखेँ, त्यो संसारकै प्रतिनिधि स्थल हो ।’ यही एक वाक्यले शीर्षकको सार्थकता अत्यन्त उचाइमा उठाउँछ ।
पशुपति केवल मन्दिर होइन, जीवनका सबै रूपहरूको सङ्गम हो । सिमलले उल्लेख गरेको ‘मानिस, पशुपक्षी, बगिरहेको बागमती, शवदाह, पूजाअर्चना, दुःख-सुख, समय-अवसर-क्षमता’ सबै मिलेर जीवनचक्रकै विराट क्यानभास हो । यसरी सिमलको बुझाइ शीर्षकमा समाहित सांस्कृतिक-दार्शनिक गहिराइलाई उजागर गर्छ । शीर्षकले जनाउने भूगोल कथामा केवल पृष्ठभूमि होइन, अर्थको केन्द्रबिन्दु बनेको छ ।
कथाको भावभूमि कोमल छ– नातिले देखेको संसार, हजुरबाले महसुस गरेको गर्व, एक पुस्ताले अर्को पुस्ताबाट सोध्ने, बुझ्ने आत्मीयता । लघुकथा यहाँ आएर मानिसको जीवनपथप्रति सन्तुलित दृष्टिकोण प्रस्तुत गर्छ– कुनै पक्ष नकारात्मक छैन, कुनै केवल रमाइलो दृश्य होइन; सबै जीवनका स्वरूप हुन् । यही व्यापक दृष्टिकोण शीर्षकको उचितताको मूल आधार हो ।
‘पशुपतिनाथको सेरोफेरो’ शीर्षकले बाहिरी परिवेश मात्र सम्झाउँदैन, जीवन-मृत्यु, गति-निष्क्रियता, चेत-अचेत, आश्रय-परनिर्भरता, सुख-दुःख, अवसर-सीमितताको दार्शनिक द्वन्द्व पनि जनाउँछ । लघुकथा यस्तै द्वन्द्वहरूलाई एक बालकका आँखाबाट देखाएर सरल भाषामा अत्यन्त कोमल रूपमा प्रस्तुत गर्छ । शीर्षकको सांस्कृतिक प्रतिमा र लघुकथाको दार्शनिक अन्तर्लय मिलेर एउटा उज्यालो, अर्थपूर्ण र जीवनमुखी चित्र बनाउँछन् ।
हजुरबाले नातिमा देखेको ‘अप्रत्याशित क्षमता’ लघुकथाको अन्त्यमा हल्का, स्वाभाविक र मानवीय भाव बोकेर आयो– कुनै ठूलो मोड छैन, न कृत्रिम नाटकीयता; केवल एक पुस्ताको आश्चर्य, अर्को पुस्ताको संवेदना र स्थिर संस्कृतिको निरन्तरता । शीर्षक यही निरन्तरताको प्रतीक हो– पुस्तौँदेखि उही सेरोफेरोमा जीवनको अर्थ खोजिरहने मानवीय प्रयासको प्रतीक ।
यसरी हेर्दा, शीर्षक उपयुक्त मात्र होइन, कथाको सम्पूर्ण भाव, संरचना र आशयलाई बोक्ने केन्द्रीय धुरी हो । पशुपति वरिपरि देखिने जीवनका सबै रूपहरू नै कथाको सन्देश बनेका छन् र यही कारण शीर्षक पूर्णतः सार्थक, सुसंगत र कलात्मक छ ।
❀❀❀
❛उत्तरकथा❜
लघुकथा: पशुपतिनाथको सेरोफेरो
✒ नन्दलाल आचार्य
“बाजे,” सिमलको आवाजमा अब गाम्भीर्य थियो, “मैले बुझेँ– पशुपतिनाथको सेरोफेरो त जीवनको वृत्त (Cycle) रहेछ । जहाँ छाडा साँढेहरू मुक्ति खोज्दै भौंतारिन्छन्, बाँदरहरू मौका हेरेर घुस्छन् र फुत्किन्छन्, परेवाहरू निःस्वार्थ प्रेम खोज्छन्, माग्ने मानिसहरू लोभ र अभावको बीचमा बाँचेका छन् ।”
सिमल अलिकति रोकियो, “र, बागमती… त्यो धमिलो पानी, जसले लासको खरानी बगाएर पनि पूजाको जल बोक्छ । यसले देखाउँछ कि सुख र दुःख, पाप र पुण्य, जीवन र मृत्यु सबै एकै स्थानमा पवित्रता खोज्दै एकैसाथ बगिरहेका छन् । हामी सबै आ-आफ्नो कर्मको अन्तिम यात्रामा छौँ ।”
हजुरबाले एउटा लामो सास फेरे । उनको आँखामा गर्व थियो । उनले सिमलको काँधमा हात राखे, “तिमीले भर्खर जीवनको त्यो सत्य देख्यौ, जुन बुझ्न सारा उमेर लाग्छ ।”
“तर बाजे,” सिमलले रहस्यमय मुस्कान फ्याँक्यो, “ती सबैको साक्षी बन्ने रमिता हेर्ने मान्छेचाहिँ को हो त ?”
❀❀❀
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



