कहिलेकाहीँ मन दुखाइमा
आफ्नै दुखाइसँग,
कहिले मेरो र तिम्रो झगडामा,
कहिलेकाहीँ मौनताको कोलाहलमा,
कहिलेकाहीँ सपनाहरूको शान्त अन्त्यमा,
कहिले आकाशको नीलोमा,
कहिले धर्तीको चिसोमा,
कहिले तिलिचोको चुचुरोमा,
कहिले नीलगिरीको काखमा,
कहिले बारपाकको आँगनमा,
कहिले दरौँदीको किनारमा,
कहिले बिरिनचोकको डाँडामा,
कहिले मुग्लिन बजारमा,
कहिले आँबुखैरेनीको पुलमा,
कहिले नारायणीको किनारमा,
कहिले अनरौली चोकमा,
कहिले आफ्नै रिसको झोकमा,
धेरै समयदेखि
एउटा चिज खोज्दै छु म !
आफूले आफैँलाई
गुमाएको गुमनाम क्षेत्रभित्र
हो, आफैँलाई खोज्दै छु
आफैँभित्र आफूलाई पाउँछु कि भनेर !
म एक्लो छैन,
म दुःखी पनि छैन,
यो एक मेला त हो !
अन्ततः आफैँ एक्लो हुने मेला ।
वरिपरि हरेक पल
यहाँ कुनै चिन्ता छैन,
म ठिङ्ग उभिएर
मस्त रमाइरहेको शरद ऋतुको पहाड हुँ ।
कुनै आशा छैन,
अझै पनि किन
मनमा यो तिर्खा छ ?
त्यो के हो ?
मैले कहिले पनि
आफूले आफैँभित्र
आफू पाउन सकिनँ ।
तिमी भन्दछौ— “आफैँलाई खोज”,
मेरा त्यत्रा बल्ढ्याङ्ग्रे आँखाले
तिमीलाई खोजेको
पानी परेको चिसो रातमा
जुनकीरी बादलभित्र लुक्दा
रिसाएकी याद छ ?
आजसम्म मैले नपाएको भनेको
आफूले आफैँलाई हो,
आजसम्म खोज्दा नभेटिएको
एउटा मभित्रको ‘म’ नै हुँ ।
म धेरै समयदेखि आफैँलाई खोज्दै छु,
कहीँ कतै भेटिनँ मैले मलाई,
अब सूचना जारी गर्न मात्रै बाँकी छ ।
भौतिक सुखको ?
यो कस्तो भ्रम र भ्रान्ति हो ?
सारा संसारलाई
भ्रमको धुवाँले छोपेको छ ।
कसरी आँखामा नाच्यो जिन्दगी ?
यो एक क्षणमा छुट्नेछ,
यो हिउँदको शीतजस्तै टुट्नेछ ।
मैले धेरै समयदेखि खोज्दै छु म आफूलाई,
यदि मैले केही गुमाएको छु भने
त्यो केवल ‘म’ले ‘म’ नै हो ।
जति पाए पनि,
जति कमाए पनि,
जति थुपारे पनि,
म भने सधैं रित्तो छु ।
यो मानव मन हो,
कहिल्यै भरिनेछैन,
केही छैन !
यहाँ रित्तिनु र अन्तमा
कमाएको गुमाउनुपर्ने नियति
बोकेर आएका छौँ हामी ।
नियतिको नियन्त्रणमा नियन्त्रित
सारा भौतिक प्रपञ्चमा मानिसले
केवल आफूले आफूलाई गुमाएर मात्रै
केही पाएको छ यहाँ ।
एकदिन ऊ आफैँ हराउँछ,
यो गुमनाम शहरको जङ्गलबाट ।
कसलाई थाहा छ ?
यो छटपटीको अन्त्य कहाँ हुन्छ ?
हामीले आफूलाई फेरि कहिले पाउँछौँ ?
–०००–
काठमाडौँ


