भूमिका:
नेपाली साहित्यका विविध विधा—नाटक/एकाङ्की, समालोचना, निबन्ध, उपन्यास, कथा र लघुकथा—मा आधा दर्जन कृति सार्वजनिक गरिसकेका साहित्यकार नन्दलाल आचार्यको नवीनतम् बाल-उपन्यास ‘अद्भुत विवाह’ एक प्रकाशोन्मुख कृति हो । उपन्यासको यो आरम्भिक अंशले पुराना प्रतिज्ञा र गहिरा चाहनाहरूमा आधारित प्रेमको शाश्वत खोजीलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ ।
कथाको परिवेश जनकपुरको बिहे पञ्चमी उत्सवपछिको सुनसान रातबाट सुरु हुन्छ । यहाँ ज्ञानका प्रतीक ‘गुरुजी काका’ (काग) र चञ्चल स्वभावका ‘नयन’ (परेवा) बिचको संवादमा कथाको दर्शन अन्तरनिहित छ । बाल-उपन्यास ‘अद्भुत विवाह’ को यो खण्डले यिनै दुई पात्रमार्फत प्रेमको गहिराइ र सत्यको अस्थिरतालाई उजागर गर्छ ।
पृष्ठभूमिमा राम-सीताको विवाहको स्मरण गराउने बिहे पञ्चमीको उत्सव सकिएको छ । तर, परेवा ‘नयन’ ब्याकुल छन् । उनी राम-सीताको विवाहजस्तै हरेक ‘गाँठो’ (सम्बन्ध) को सुरुवातमा लुकेको ‘अदृश्य धागोको पहिलो टुप्पो’ खोजिरहेका छन् । उता काग ‘गुरुजी काका’ स्थिरता र ज्ञानमा विश्वास गर्दै प्रेमलाई भ्रम मान्छन् । यद्यपि, नयन आफ्नो विचारमा दृढ छन् । उनको बुझाइमा कुनै पनि ‘सत्य’ स्थिर हुँदैन; जबसम्म कुनै ‘चाहना’ वा ‘पुरानो वाचाको प्रतीक्षा’ ले त्यसलाई बाँध्दैन, तबसम्म यो परिवर्तन भइरहन्छ ।
(क्रमशः … भाग–२ मा)
अध्याय एक
जनकपुर गाढा रातको अँगालोमा थियो । बाहिर, विवाह पञ्चमीको भव्य उत्सव सकिएको थियो । सहरका घरहरूमा मधुरो उज्यालो मात्र बाँकी थियो ।
गाउँको छेउमा एउटा विशाल पिपलको रूख थियो । त्यो रूख धेरै पुरानो थियो । त्यसका हाँगाहरूले धेरै शताब्दीका कथा बोकेका थिए । त्यही रूखको एउटा बलियो हाँगामा दुई अनौठा मित्रहरू बसेका थिए ।
एक जना थिए— गुरुजी काका । उनी गाढा कालो रङका काग थिए । उनका आँखा निकै चम्किला थिए । उनी सधैँ गहिरा कुराहरू मात्रै सोच्थे । उनलाई संसारकै सबैभन्दा ज्ञानी काग मानिन्थ्यो ।
अर्का मित्र थिए— नयन । उनी एकदमै सफा सेतो परेवा थिए । नयनको शरीर चाँदीजस्तै चम्किलो देखिन्थ्यो । सायद रातको चाँदनी उनको पखेटामा टाँसिएको थियो । नयन कहिल्यै एक ठाउँमा स्थिर रहन सक्दैनथे । उनीभित्र सधैँ केही खोज्ने तीव्र चाहना हुन्थ्यो ।
आजको रात नयन निकै बेचैन थिए । उनी आफ्ना पखेटा बेलाबेला फडफडाइरहेका थिए । उनको ध्यान घरी आकाशमा जान्थ्यो त घरी जमिनमा ।
गुरुजी काकाले लामो सास फेरे । हावामा मीठो सुगन्ध थियो ।
“ए नयन !” गुरुजी काकाले बिस्तारै बोलाए । उनको आवाजमा गहिरो शान्ति थियो, “तिमीलाई आज किन यति हतार छ ? तिमी किन यसरी बेचैन छौ ?”
नयनले आफ्नो टाउको हल्का झुकाए । उनका चम्किला आँखामा एउटा अलग्गै चमक थियो ।
गुरुजी काकाले फेरि सोधे, “के तिम्रो पखेटामा चाँदीको धुलो टाँसिएको हो र ?”
नयनले यो प्रश्न सुनेर आफ्ना पखेटा हल्का हल्लाए । साना–साना धुलोका कणहरू हावामा उडे । ती कणहरू चन्द्रमाको प्रकाशमा हिराजस्तै चम्किए ।
नयनले मधुरो स्वरमा जवाफ दिए, “गुरुजी काका ! यो धुलो मेरो होइन । यो त सपनाको धुलो हो । यसले मलाई नदेखिने कुरा देखाउँछ ।”
नयनले आफ्ना चम्किला आँखा माथि आकाशतिर सोझ्याए । आकाशमा चन्द्रमा पातलो सेतो घुम्टोभित्र लुकेकी दुलहीजस्तै देखिन्थी ।
नयनको स्वरमा अचम्मको गम्भीरता मिसियो, “मेरो यो यात्रा चाँदीको धुलोले तय गर्दैन काका ! मलाई त नदेखिने एउटा धागोले तानिरहेको छ ।”
गुरुजी काकाले ध्यान दिएर सुने ।
नयनले अगाडि भने, “आज जनकपुरमा राम र सीताको विवाहको सम्झनामा धेरै जोडीको विवाह भयो । हरेक विवाह दुई मनको गाँठो हो । तर, हरेक गाँठोको सुरुआतमा एउटा पहिलो टुप्पो लुकेको हुन्छ ।”
उनका आँखामा जिज्ञासा भरियो, “मैले त्यही अदृश्य धागोको पहिलो टुप्पो पत्ता लगाउनुपर्छ ।”
गुरुजी काकाले यो कुरामा सहमति जनाएनन् । उनी ज्ञानी थिए, तर प्रेमको रहस्यलाई उनले कहिल्यै पूर्ण रूपमा बुझ्न सकेका थिएनन् ।
गुरुजी काकाले कर्कश हाँसो निकाले । त्यो हाँसो शीतको थोपामा मिसिएर चिसो भयो ।
“हा–हा–हा ! धागो ? धागो त केवल मायाले सिर्जेको एउटा भ्रम मात्र हो, बाबु ! सबै कुरा त सधैँ आ–आफ्नो ठाउँमा अटल र स्थिर रहन्छन् नि । तिमीलाई किन भ्रम चाहिएको ?”
नयनले गुरुजी काकाको कुरा मानेनन् ।
“अटल ?” नयनले फेरि सोधे । उनको स्वरमा विद्रोहको भाव थियो, “तपाईंले बिर्सनुभयो काका ! कुनै पनि ‘सत्य’ सधैँ एकनासले स्थिर रहँदैन । त्यो सत्य तबसम्म परिवर्तन हुन्छ, जबसम्म कुनै ‘चाहना’ त्यसको बाटोमा तगारो बन्दैन ।”
नयनले गम्भीर हुँदै भने, “मैले खोजिरहेको धागोको टुप्पो, आजको खुसीको नयाँ सुरुआतको अन्त्य होइन । त्यो त धेरै वर्षअघि गरिएको एउटा पुरानो वाचाको प्रतीक्षा हो ।”
नयनले भन्न खोजेको कुरा अलि गाह्रो थियो । उनले बुझाउन खोज्दै थिए कि कुनै नयाँ खुसी सुरु हुनुअघि, पुरानो प्रेम र प्रतिज्ञालाई सम्झनुपर्छ ।
उनीहरू कुरा गर्दै थिए, त्यही बेला पिपलको रूखका पातहरू अचानक काँपे । हावा चलेको थिएन, तर रूख काँप्यो ।
अचानक नयनका चम्किला आँखामा ठूलो डर र अचम्म एकैचोटि देखियो । उनको मुटु जोडले ढुकढुक गर्न थाल्यो ।
उनले काँपेको स्वरमा गुरुजी काकालाई सोधे, “के… के तिमीले पनि त्यो आवाज सुन्यौ ?”
गुरुजी काका अलमलमा परे । उनी अझ नजिक झुम्मिए, “कस्तो आवाज ? मैले त केवल स्याल कराएको सुनेँ ।”
नयनले टाउको हल्लाए । उनको मुखबाट मुस्किलले आवाज निस्क्यो, “त्यो आवाज… त्यो त सीतामाताको चुरा फुटेको आवाज होइन र ? तर, आज त उहाँको विवाहको उत्सव भइरहेको छ ! आज त चुराहरू चम्किनुपर्ने हो ! अनि त्यो आवाज त टुटिसकेको पुरानो प्रतिज्ञाको जस्तो… लाग्छ ।”
नयनको त्यो वाक्य बीचमै अधुरो रह्यो ।
त्यही बेला, आकाशबाट एक्कासि तेजिलो नीलो प्रकाशको एउटा चम्किलो किरण सिधै उनीहरू बसेको पिपलको रूखमा झर्यो । त्यो उज्यालो यति तीखो थियो कि गुरुजी काकाले आफ्ना आँखा बन्द गर्नुपर्यो ।
त्यो प्रकाशसँगै एउटा मीठो र सरल आवाज गुरुजी काकाको कानमा प्रतिध्वनि भएर गुन्जियो—
“प्रेमको कथा तब मात्र पूरा हुन्छ, जब खुसीको पलमा पनि एक आत्माले अर्को आत्मालाई गहिरोसँग याद गरिरहेको हुन्छ ।”
जब त्यो प्रकाश हरायो र गुरुजी काकाले आँखा खोलेर हेरे, नयन परेवा त्यहाँ थिएन !
केवल पातलो चाँदीको धुलो हावामा बिस्तारै उडिरहेको थियो । गुरुजी काकाले लामो सास फेरे । उनको मनमा एउटा गहिरो प्रश्न बाँकी रह्यो ।
“अनि त्यो, जसको चुराको आवाज अझै गुन्जिरहेको छ, उसले कसलाई बिर्सियो र आजको खुसीको विवाहमा पनि याद गरिरहेको होला त ?”
क्रमशः …
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



