कविता: एकादेशको कथा
जीवन सोनी
एउटा देश छ,
देशभरि देशवासीहरू छन्
तर महासागरमा थोपाबराबर छन्–
देशलाई छातीमा बोकेर हिँड्ने,
देशको हितका लागि
सूलीमा चढ्न तम्तयार हुने
देशभक्त राष्ट्रप्रेमीहरू ।
अनि ! ती देशैभरिका देशवासीहरू… ?
उनीहरू त
क्षेत्री, बाहुनहरू हुन्,
कामी, दमाई, सार्कीहरू हुन्,
राई, मगर, तामाङ र गुरुङहरू हुन्,
जो आफूआफैँ मौलाउने प्रयत्न गरिरहेछन्
सिङ्गो देशलाई भुलेर ।
उनीहरू त
उमेरले सीमा नाघेपछि
सीमा पार गर्न नसकेका
लाचार वृद्ध-वृद्धाहरू हुन् !
राहदानीका लागि लर्को लगाएर
कार्यालय–कार्यालय भौतारिँदै हिँड्ने
बेरोजगार र आक्रोशित युवाशक्ति हुन् !
राहदानी लिन बालिग बन्ने प्रतीक्षामा
जबर्जस्ती उमेरलाई धकेलिरहेका
नाबालिग बालबालिकाहरू हुन्,
जो लाचार छन्, विवश छन्,
बाध्यताका जन्जिरले जकडिएका छन्,
जसले चाहेर पनि सकिरहेका छैनन्
देशलाई अँगालोभरि कस्न !
उनीहरू त
हिमाली, पहाडी,
त कोही मधेशीहरू पो हुन्,
जो हिमाल लेख्छन्, पहाड गाउँछन्,
मधेश गुनगुनाउँछन्
तर देश बोल्दैनन्, देश सुन्दैनन् ।
उनीहरू त
हिन्दु हुन्, बौद्ध हुन्, मुस्लिम त
कोही इसाई, क्रिश्चियनहरू पो हुन् !
जो मलजल गर्न जान्दछन्
आफ्नै मात्र धार्मिक संस्कृतिलाई ।
उनीहरू त
विभिन्न राजनीतिक दलहरूका
नेता, कार्यकर्ताहरू हुन्,
भ्रष्टाचारी हुन्, दलाल हुन्
वा हुन् स्वार्थले पुरिएका
विभिन्न अभियानका अभियन्ताहरू,
जो जारी गरिरहन्छन्
भिन्न–भिन्न नामका अभियान
र देशलाई नै खोक्रो बनाइरहन्छन्
हरबखत,
तर अहँ !
रत्तिभर नियालेर हेर्दैनन्
देशको दयनीय अवस्थालाई,
देशलाई सर्वोच्च बनाउने
क्षमता हुँदाहुँदै पनि
न सिन्को भाँच्छन् देशका नाममा
न भाँच्न दिन्छन् सिन्को भाँच्नेहरूलाई ।
साँच्चै,
देशमा भएकाहरू सबैले
देशलाई आफूजत्तिकै माया गरिदिए,
देशभरिका देशवासीहरू
एक परिवारझैँ बनिदिए,
हरेक देशवासीको मुखबाट
“‘मेरो देश र मेरा देशवासी’
‘म र मेरो परिवार’ बराबर हो” भन्ने शब्द
मन्त्रजस्तै गुञ्जायमान भइदिए !
के देश देशजस्तै हुँदैनथ्यो होला त ?
के देश देशजस्तो छ त ?
कुमाख गा.पा.–२, सल्यान, कर्णाली प्रदेश, नेपाल ।
हाल: जालन्धर, पंजाब, भारत ।


