यौनकथा: काम–रतिको पुनर्जन्म
लेखक: डा. टीकाराम पोखरेल
दुई जोडी ओठहरूको मिलनले कामदेव र रतिमा मादकता जगाइदियो, तर त्यो त केवल आरम्भ मात्र थियो।
कामदेवको हात रतिको ढाड हुँदै तल झर्यो, उसको शरीर रतिको चुम्बनमा हराउँदै गयो। रतिले सासभित्रै धीमा स्वरमा फुस्फुसाई–
‘अझै नजिक आऊ कामदेव। मलाई सम्हाल।’
कामदेवका ओठ रतिको काँध, स्तन, पेट हुँदै तल झर्दै गए। हरेक चुम्बनले दुवैलाई भित्रभित्रै कम्पन गराइरहेको थियो। रतिका जाँघहरू खुल्दै गए, उसका हातहरू कामदेवको पिठ्यूँमा थिए। कामदेवले रतिको गहिराइ चुम्दा रतिले उन्मुक्त स्वर निकाली। मानौँ हजारौँ वर्षदेखि दबिएको रतिको स्वर आधुनिक शहरमा पुनर्जन्म भएर गुन्जिएको होस्।
अब उनीहरूलाई रोक्ने कुनै शक्ति थिएन। आवाज विलीन भयो। शरीरले शरीरसँग टकराव लियो। तालमा ताल मिल्यो। सासको चाप तीव्र हुँदै गयो, पसिनाले दुवैलाई निथ्रुक्क पार्यो। शरीरको रफ्तार तीव्र हुँदै गर्दा रतिको ओठबाट बेलाबेलामा निस्किने मन्द आवाजमा मादकताको उच्छ्वास थियो।
‘कामदेव ! के तिमी मेरो हुन सक्तैनौ ?’
कामदेवको आलिङ्गनमा बाँधिएकी रतिले भनी। कामदेव केही बोलेन। उसले रतिको अनुहारमा हेरिरह्यो। रति अझ कामदेवको शरीरसँग एकाकार हुन खोजी। कामदेवले रतिलाई अझ बलियोसँग च्याप्यो। त्यो च्यापाइमा पीडाभन्दा कयौँ गुणा बढी आनन्द थियो।
रतिले सोची– ‘कामदेव जस्तो हृष्टपुष्ट, बलिष्ठ र सशक्त पुरुष संसारमा अर्को हुन सक्तैन। सन्तुष्टिले सगरमाथा चुम्यो। तर ….’
तर यसरी अर्काको लोग्नेसँग चोरझैँ लुकेर कति दिन बस्ने ? असन्तुष्टिले उसको खुसी एकैपटक महासागरको पिँधमा पुगेर बिलायो। आनन्दमा क्रोध मिसियो।
‘छ्या! यस्तो मुला नि लोग्ने मान्छे हुन्छ ? पाँसुला मात्र भएर के गर्नु, खान मिल्दैन। हिम्मत हुनुपऱ्यो नि।’
रतिले घोप्ट्याएको आक्रोशले कामदेवको मर्ममा प्रहार भयो।
‘म विवाहित हुँ भन्ने थाहा नै छ नि तिमीलाई।’ कामदेवले झिनो स्वर निकाल्यो।
‘अनि म चाहिँ कन्याकुमारी हुँ र ?’ रतिले कामदेवतिरै प्रहार गरी।
‘त्यसो भए हिसाबकिताब बराबर।’ कामदेव पन्छिन खोज्यो।
‘छुच्चा।’ रतिले कामदेवको छातीमा प्रेमको मुड्की बजारी। कामदेव दङ्ग पऱ्यो।
कामदेव यौनविज्ञ थियो। निकट भविष्यमा उसले एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा प्रेम र यौन विषयक कार्यपत्र प्रस्तुत गर्नुपर्ने थियो। कार्यपत्रमा केही दिनदेखि ऊ व्यस्त थियो। उसको कार्यपत्रको सार यस्तो थियो, जुन उसले रतिलाई सुनाएको थियोः–
“म बजारको यौनलाई घृणा गर्छु, तर आत्माले प्रस्ताव गरेको हरेक यौन अपिल मेरो लागि स्वीकार्य छ र हरेकको लागि स्वीकार्य हुनुपर्छ।
प्राणी यौनको परिणाम हो, त्यसैले प्राणीको अस्तित्व यौनसँग जोडिएको छ। यौनलाई घृणा गरेर अस्तित्वलाई निमिट्यान्न पार्ने काम अप्राकृतिक हो। परापूर्वकालमा आफ्नो अस्तित्व जोगाउन नारीहरूले लिङ्ग पूजा गरेका थिए। संसारमा एक जना मान्छे देखाइदेऊ, जो यौनबाट नजन्मेको होस्। पुरुषहरूले योनीलाई सिर्जनाको प्रतीक मानेका छन्, पशुपतिको शिवलिङ्ग सिर्जनाकै प्रतीक हो। पशुपति गएर लिङ्ग पूजा गर्ने, गुह्येश्वरी पुगेर गुह्य पूजा गर्ने तर मान्छेका यौन अङ्ग र कर्मलाई छिछिः दुरदुरः गर्ने ढोँगी चरित्रकै कारण आज यौन विकृत हुन पुग्यो। भोलि विज्ञानको चमत्कारले बिना यौन कुनै मान्छे जस्तो आकृति आविष्कार गरेछ भने पनि ती बोइलर मान्छे हुनेछन्। यौन भन्दै हिँड्ने विषय होइन, तर लुकाउने विषय पनि त होइन। यौन समाज निरपेक्ष तर प्राकृतिक हो। नग्नता चाहिँ समाज सापेक्ष तर कृत्रिमता हो। परापूर्वकालमा महिला पुरुष नाङ्गै हिँडथे। यसको मतलब आज नाङ्गै हिँड्न त सकिँदैन, तर यौनमा अनुदार हुनु भनेको चाहिँ आफैँलाई अस्वीकार गर्नु हो। हाम्रो समाजको आजको यौनप्रतिको बुझाइले एकदिन समाज विस्फोट हुन्छ।”
रतिले कामदेवको कार्यपत्रको निष्कर्ष सुनि मात्र रही। कुनै प्रतिक्रिया जनाइन।
‘बोलिनौ नि किन, मेरो कुरा चित्त बुझेन कि ?’ कामदेवले प्रश्न गऱ्यो।
‘म सहमत छु।’ रतिले यति मात्र भनी।
त्यसो त रतिलाई कामदेवको कार्यपत्रसँग त्यति मतलब थिएन, तथापि मन नलागी नलागी सुनिदिन्थी, कामदेवले गरेको कुरामा हो मा हो भने मिलाउँथी।
रति र कामदेव आज त्यत्तिकै कहाँ आलिङ्गनबद्ध थिए र ? त्यसका पछाडि लामो पृष्ठभूमि थियो। तर त्यो पृष्ठभूमि कामदेवको यौन विषयक कार्यपत्रले निर्माण गरेको थिएन। बरु रतिको कामोत्तेजनाले भने कामदेवलाई त्यो कार्यपत्र तयार गर्न धेरै खुराक मिलेको थियो।
रतिको पति विदेशमा थियो, तर ऊ रतिलाई वास्ता गर्दैनथ्यो। ऊ यौनमा दुर्बल थियो वा रतिसँग विवाह हुनुपूर्व नै उसको कुनै अर्की प्रेमिका थिई। यो रतिले खोजी गरिन पनि। प्रेम र यौनमा कसैले कसैलाई खोजी गरेर हुने होइन, दुई आत्माको मिलन भए स्वतः खोजिने हो। जसरी यतिबेला रति कामदेवसँग बाँधिएकी थिई, त्यसैगरी उसको विवाहित पति पनि कसैको आलिङ्गनमा बाँधिएको पो थियो कि ?
रति। यस धरतीकी परमसुन्दरी। कलेज पढ्दा मात्र होइन, विद्यालयमै हुँदादेखि सबैले रतिको सुन्दरताको प्रशंसा गर्थे। धेरै केटाहरू रतिसँग नजिकिन हुरुक्क हुन्थे। कतिले जिस्क्याउँथे, कतिले प्रेम प्रस्ताव राख्थे। तर रति कसैलाई बाल दिन्नथी। मन पराउँथे धेरैले, प्राप्त गऱ्यो अर्कै एउटाले। जिन्दगीमा नियतिको खेल हो कि ?
रति र कामदेवको पहिलो भेट कुनै कार्यक्रममा भएको थियो। कार्यक्रममा कामदेव धाराप्रवाह भाषण गरिरहेको थियो। रति श्रोता थिई। तर अवश्य पनि ऊ अरू श्रोताभन्दा फरक थिई। हलक्क अग्ली, ठूलो ओठमा मिठो मुस्कान, अग्लो पारेको कर्ली कपाल, कालो चस्मा, त्यो पनि अरूको भन्दा फरक लाग्ने। हेराइमा चमकता। कामदेवको हेराइको वाण रतिमाथि बज्रियो।
कामदेव पनि ह्यान्डसम थियो। रतिलाई पहिलो हेराइमै लाग्यो– ‘कामदेव सर्वगुणसम्पन्न छ।’ त्यसो त कामदेवलाई पनि त लाग्यो– ‘रति बत्तीस लक्षणयुक्त छे।’ पहिलो नजरमै दुवैलाई लाग्यो, केही अदृश्य डोरीले एकआपसमा उनीहरू बाँधिदिएका छन्।
कार्यक्रमपश्चात् दुवै एकआपसमा आमनेसामने भए।
रतिले भनी– ‘म रति।’
‘म कामदेव।’
‘म चिन्दछु, परिचय दिइरहनु आवश्यक छैन।’
रतिले भनी। कामदेव दङ्ग पऱ्यो।
कामदेवको हाँसो र बोलीको न्यानोपन, मानौँ कामदेवले स्वयम् रतिको शरीरलाई स्पर्श गरेझैँ भयो। रतिले ठानी– ‘उसप्रतिको कामदेवको यो दृष्टि साधारण होइन, यो त पौराणिक कामदेवको धनुषबाट छुटेको अदृश्य कामुक बाण नै हो।’
सुरुमा उनीहरूले सामान्य कुरा गरे, परिचयका बहानामा। तर जति कुरा बढ्दै गयो, जति आँखामा आँखा छिप्दै गयो, शरीरभित्र अदृश्य लहर उठ्न थाल्यो। दुवै जना नशामा झैँ। परन्तु यो नशा मदिराको होइन। यो त दुवैको देहभित्र उम्लिरहेको शक्ति थियो, कामशक्ति।
यसरी अचानक कुनै कार्यक्रममा भएको भेटबाट परिचय भएको कामदेव र रतिको सम्बन्ध तीव्र गतिमा अगाडि बढ्यो। दुई चार पटक घरबाहिरको भेटघाट रतिको घरसम्म पुगेको थियो। जहाँ रति एक्ली थिई।
आज पनि सधैँझैँ कामदेव रतिको घरमा उपस्थित थियो। रति मौन थिई। कामदेवले रतिको काँधमा हल्का स्पर्श गऱ्यो। मानौँ ऊ आफ्नो सीमा सोध्दै थियो। कामदेवको स्पर्शले रतिको शरीरमा बिजुली दौडियो। रतिले आँखाबाट जवाफ दिई। आँखामा निम्तो थियो। सीमा नाघेर गति बढाउने निम्तो।
उनीहरूका ओठहरू आपसमा मिसिँदा पौराणिक रति र कामदेव फेरि जन्मिएर आधुनिक सहरमा भेटिएका हुन् कि भन्ने भान भयो। उनीहरूको शरीर मिल्दा उही पौराणिक कथामा वर्णन गरिएको कामदेव र रतिको अनन्त मिलनको आभाष भयो। तर यो पटक कामदेव र रतिको मिलन कुनै देवलोकमा होइन, इँटा, काठ र सिमेन्टबाट बनेको रतिको घरको कोठाभित्र हुँदै थियो, जुन कोठामा रतिको उसको आफ्नै श्रीमान्सँग यस्तो अविस्मरणीय मिलन हुन सकेको थिएन।
रतिले कामदेवतर्फ हात बढाई। रतिको स्पर्शले कामदेवको शरीरमा तरङ्ग फैलियो। रतिको छाला तातो भयो। कामदेवको नसानसामा रगत बगेर अनुहार रातो भयो। रतिको निम्तो समर्पण र तृष्णाले भरिएको थियो। दुवैका ओठहरू मिसिए। पहिलो चुम्बन हल्का थियो, जस्तो कुनै कविले शब्द खोज्दै गरेको जस्तो। तर तुरुन्तै त्यो चुम्बन गहिरिँदै गयो, दुवै एकआपसमा हराए। जस्तो नदी समुद्रमा हराउँछ।
एकान्त कोठामा सुरुमा दुवैको सास हराउँदै गएको र विस्तारै आवाज बढ्दै गएको त्यो अभूतपूर्व चुम्बनले दुवैलाई नग्न पार्दै लग्यो। पहिले आत्मा नग्न भयो, अनि शरीर। रतिको टाउको कामदेवको छातीमा अडियो। कामदेव रतिको कपालको गन्धमा हराउँदै गर्दा उसले रतिको ढाड समातेर अझ नजिक तान्योे।
दुवैको शरीर तातो भयो। रतिको हात कामदेवको छाती हुँदै कम्मरमा पुगेको थियो। त्यो स्पर्शले कामदेवको देह काँप्यो, मानौँ रतिले आफ्नो सम्पूर्ण शक्ति उसमा उतारेकी होस्। अब शब्दको आवश्यकता नै रहेन। शब्द किन चाहिन्छ ? कहिलेकाहीँ मौन नै सबैभन्दा ठूलो भाषा हुन्छ।
कामदेव र रति मिलनको प्रतीक बनेका थिए, उनीहरू बिस्तारै एउटै पिण्डमा रूपान्तरण भइरहेका थिए। कपडाहरू पतझरझैँ भुइँमा खस्दै गएका थिए। शरीरमा शरीर मिसिँदा तातोपनले पसिनाको सुगन्ध पैदा गऱ्यो। रतिको श्वास छिटो हुँदै गयो, उसका ओठहरूबाट बीच-बीचमा ‘कामदेव, कामदेव’ भन्ने ध्वनि निस्कियो। मानौँ रति कुनै देवताको मन्त्र उच्चारण गरिरहेकी होस्। कामदेवको मुखबाट ‘रति, रति, रति’ भन्ने ध्वनि निस्क्यो। मानौँ कामदेव कुनै शक्तिकी देवीको आराधना गरिरहेछ। कामदेवले रतिको शरीरलाई चुम्बनले रङ्ग्याउँदै गयो। काँधदेखि स्तनसम्म, पेटदेखि जाँघसम्म।
अन्ततः उनीहरू सम्पूर्ण रूपमा एकअर्काभित्र विलीन भए। शरीरको नाङ्गोपनभन्दा गहिरो थियो आत्माको नग्नता। उनीहरू भित्रभित्रै बुझिरहेका थिए– ‘यो क्षणमा उनीहरू देवत्वको छायाँ बनेका छन्, कामदेव र रति आधुनिक सहरको कोठामा पुनर्जन्म लिएका छन्।’
‘अझ बल गर कामदेव ! अझ बल गर ! अझ… अझ… अझ।’
रतिको पटक-पटकको आग्रहले कामदेवको उत्तेजनाको सीमा नाघिरहेको थियो। कामदेवको गति समुद्रको छालझैँ बढ्दै गयो।
उनीहरू एकै साथ चरमोत्कर्षमा पुगे। सारा शरीरको सीमा हराएर, आत्मा-आत्मामा विलीन भए। त्यो क्षण कोठाभित्र न त समय बाँकी थियो, न त स्थान। उनीहरू केवल प्रतीक बनेका थिए– कामदेवको अग्निबाण र रतिको शरण। दुवै रित्तिए।
भोलिपल्ट कामदेव र रति कुनै क्याफेमा आमनेसामने थिए। ‘कला र यौन दुवैमा समान ऊर्जा हुन्छ। दुवै सिर्जनात्मक र दुवै विस्फोटक हुन्।’ कामदेव अलि गम्भीर भएर बोल्यो।
‘सत्य भन्नुपर्दा, तिमीलाई देख्दा मलाई लाग्छ। पौराणिक कामदेव आफैँ तिमीभित्र सवार छन्।’ रतिले कामदेवको प्रशंसा गरी।
कामदेवले रतिलाई झनै नजिकैबाट हेऱ्यो। रतिका कपालमा टल्केको बत्ती, ओठमा खेलिरहेको हल्का मुस्कान। भन्यो– ‘तिमीमा पनि त पौराणिक रति सवार भएको थियो नि हिजो।’
‘मलाई लाग्छ कामदेव, ममा रतिको सवार भएको छ भने त्यो तिम्रो कारणले सवार भएको छ। कामदेव बिना रति अधूरी छे।’
रतिले कामदेवलाई फर्क्याई।
‘हो हामी एकआपसमा एकअर्का बिना अधुरै हुनेछौँ।’ कामदेवले भन्यो।
‘सुन रति ! म एउटा केस स्टडी भन्छु। जुन मैले मेरो रिसर्चको दौरान कलेक्ट गरेको थिएँ। यो कथा मलाई एकजना यौन पाठशालाको पूर्वसञ्चालकले सुनाएको थियो।’
कामदेवको केस स्टडीमा रतिको त्यति चासो गएन। रतिले कुनै प्रतिक्रिया नदिएपछि कामदेवले थप्यो– ‘मलाई थाहा छ रति, तिमीलाई यस्ता यौनका कुरामा मतलब छैन, यौनकर्ममा मात्र रुची छ। तर यौनको वास्तविकता बुझ्न यौन विषयक अध्ययन पनि आवश्यक छ।’
‘भन, म तिम्रो केस स्टडी सुन्छु।’ रतिले भनी।
कामदेव सुनाउन थाल्यो।
“कुनै दिन मैले यौन शिक्षालय खोलेको थिएँ। आजकलको भाषामा भन्दा यौन परामर्श केन्द्र। युवायुवतीहरू लुकिछिपी शिक्षालयमा आउँथे। कक्षाभित्र पसेपछि पनि सुरु-सुरुमा कुरा गर्न सङ्कोच मान्थे। म उनीहरूलाई यौनका बारेमा खुलेर बोल्न प्रोत्साहित गर्थेँ। पछि-पछि उनीहरू खुलेर कुरा गर्न थालेका थिए। यौनलाई जीवनको अभिन्न अङ्ग हो भनेर समाजलाई कसरी बुझाउने र यौन जीवन कसरी सुखद बनाउने ? भन्ने विषयमा मेरा एकपछि अर्का प्रवचनहरू चलिरहेका थिए। प्रवचनकै दौरान एक दिन एक सुन्दर युवतीले भनी– ‘सर! यस्ता कुरा भनेर मात्र त कसरी थाहा हुन्छ ? प्रयोगात्मक पनि हुनुपऱ्यो नि।’
युवतीको कुरा सुनेर शिक्षालयका शिक्षार्थीहरू गलल्ल हाँसेका थिए। म भने त्यसपछि त्यो शिक्षालय बन्द गरेर भागेको थिएँ। भाग्नु मेरो गल्ती थियो कि बुद्धिमत्ता ? म द्वैध मानसिकतामा रुमल्लिएर झन्डै-झन्डै यौन दुर्बलताको शिकार भएको थिएँ।”
‘यो केस स्टडीको सार बुझ्यौ नि रति। कसैले यौन अपिल गर्दा उसको इच्छा पूरा गर्न सकिएन भने पूरा गर्न नसक्ने मान्छे यौन दुर्बलताको शिकार बन्छ।’
‘ठीक भन्यौ तिमीले। तिम्रो केस स्टडीमा दम छ। तर हाँसोभन्दा बढी पीडा छ। कुनै पनि मानिस यौनमा असफल नभई किन यौन पाठशाला जान्छ ? अशिक्षितहरू पढेर शिक्षित बन्न त पाठशाला जाने हुन्। शिक्षितहरू त पाठशाला जानै परेन नि।’
‘तिमीले यौनलाई ठीक बुझ्यौ रति।’ कामदेवले भन्यो।
‘तर तिम्रो केस स्टडी अपूरो छ। त्यो केस स्टडीको केटा त यौन दुर्बलताको शिकार भयो, अनि केटी के भई भन्ने कुरा तिमीले समेट्नै सकेनौ। तिमी पुरुषहरू यौनलाई पुरुषको आँखाबाट मात्र व्याख्या गर्छौ।’ रतिले असन्तुष्टि जनाई।
कामदेव केही बोलेन। कुरा पुनः रतिले नै सुरु गरी।
‘मैले पनि यौन सजिलै बुझेकी होइन कामदेव। तिमीले केस स्टडी जम्मा गरेझैँ मैले पनि साथीहरूबाट धेरै यौन भोकका कथाहरू सुनेकी छु। गत सालको एउटा कहानी सुन।’
म अन्नपूर्ण बेसक्याम्प गाएकी थिएँ। बाटैमा एकजना नयाँ साथी भेटिइन्। छिटै उनी मसँग आत्मीय भइन्। उनले आफ्नो कथा मलाई यसरी सुनाएकी थिइन् :-
“मेरो श्रीमान् विदेशमा थिए। म अधबैँसे उमेरमा थिएँ। मलाई पतिको आवश्यकता थियो, तर उनी मसँग थिएनन्। उनले कमाएको सम्पत्ति मसँग जति पनि थियो। तर मेरो इच्छा पूरा गर्न नसक्ने त्यो सम्पत्ति मलाई के काम ? यत्तिकैमा एक नवजवान मेरो सम्पर्कमा आयो। ऊसँग म आकर्षित भएँ। उसले मलाई भरपूर आनन्द दियो, जुन आनन्द मैले मेरो पतिबाट प्राप्त गरेकी थिइनँ। मैले यौन के हो भन्ने कुरा उसैबाट बुझेकी थिएँ। उसले मलाई यौनका आसनहरू सिकायो। आसन मात्र सिकाएन, यौनमा एकअर्कालाई सम्मान गर्न सिकायो। यौन मान्छेको सर्वश्रेष्ठ क्रियाकलाप हो भन्ने कुरा मैले उसैबाट बुझेकी थिएँ।”
उसले मलाई यतिसम्म भनेकी थिई कि– केही गरी मेरो जीवनमा त्यो नवयुवक नआएको भए म यौनको महत्व नबुझेरै मर्ने रहेछु।
आफ्नो कथाको अन्त्यमा उसले मलाई सोधेकी थिई। ‘जीवन र यौन अभिन्न रहेछ, तर पनि यौनलाई मान्छे यत्तिसारो किन घृणा गर्छन् हँ ?’
‘ज्ञानको अभाव भएर।’ मैले उसलाई उत्तर दिएकी थिएँ। ‘उसको कुरामा मेरो समर्थन बुझेर होला, ऊ मसँग खुसी भएकी थिई। खुसी मात्र होइन आत्मीय भएकी थिई। अहिले पनि उसले आफ्ना यौन क्रियाकलापबारे मलाई अनुभव सुनाउँछे।’
‘तिम्रो साथीको कथा पनि तिमीसँगै मिल्दोजुल्दो रहेछ नि रति ?’ कामदेवले भन्यो।
‘त्यही भएर त म यतिबेला तिमीसँग छु नि कामदेव।’ रतिले बिना हिच्किचाहट भनी।
रतिले आफ्नो साथीको यौनकथा सुनाएपछि कामदेव झनै हौसियो। उसले भन्यो– ‘ल त्यसो भए आज यौन कथाको प्रतिस्पर्धा नै हुने भो। मेरो तर्फबाट अर्को एउटा कथा सुन।’
“हिजो राति म शहरमा नाम चलेकी चर्चित नायिकासँग सम्भोगमा थिएँ। धन्य थिएँ म, ऊसँग सम्भोग गर्न पाएकोमा। धन्य त मभन्दा बढी ऊ थिई, म जस्तो हृष्टपुष्ट व्यक्तिसँग सम्भोग गर्न पाएकोमा। चरम आनन्दमा डुबेका थियौँ हामी। छुट्टिने बेला उसले मलाई आभार व्यक्त गरी। मैले उसको आभार स्वीकार गरेँ। यौनमा सबल पुरुष नारीका लागि प्रिय हुन्छन्। यौनमा सबल नारी पनि पुरुषका छनौटमा पर्छन्। हिजो रातिको सम्भोगले मलाई त्यही शिक्षा दियो।”
‘तिमी नाम चलेकी नायिकासँग सम्भोगमा थियौ रे ? दुई-दुई जनासँग सम्बन्ध ? यो त तिमीले मलाई धोका दियौ। धोकेबाज हौ तिमी।’
क्याफेको कुर्सीबाट जुरुक्क उठ्दै रतिले आक्रोश पोखी।
कामदेव खितित्त हाँस्यो र भन्यो– ‘यो मैले हिजो राति निद्रामा देखेको सपना हो।’
रति लजाई।
कामदेव र रतिको क्रीडा चरमोत्कर्षमा पुगेको छ। सधैँ चरमोत्कर्षमा रहिरहनुपर्छ भन्ने दुवैको समान बुझाइ छ।
‘मलाई लाग्छ आज पौराणिक कामदेव र रति फेरि जीवित भएका छन्, तिमी यो कुरा मान्छौ नि कामदेव ?’ अर्को दिन बन्द कोठामा कामदेवलाई रतिले भनी।
‘अवश्य रति। हरेक व्यक्तिमा सुसुप्त रूपमा कामदेव र रतिको प्रतिरूप हुन्छ। तर हामीमा खुलमखुला सवार छ।’ कामदेवले भन्यो।
उसले रतिको ओठ चुम्यो, विगतको चुम्बनभन्दा आजको चुम्बन अझ लामो र गहिरो थियो।
कामदेवले रतिको शरीरलाई ओठले पुनः रङ्ग्याउँदै गयो– काँधदेखि स्तनसम्म, पेट हुँदै तलसम्म। रतिले पनि उसै गरी। दुवैको केही कतै बाँकी रहेन।
रतिको स्वर झन् अधीर हुँदै गयो, पुनः उनीहरू एकअर्काभित्र विलीन भए, विगतमा झैँ। ताल बिस्तारै सुरु भयो– सुरुमा मन्द, गहिरो। तर बिस्तारै तीव्र हुँदै गयो– समुद्रको छालझैँ।
रतिले कामुकताले भरिएको स्वरमा भनी– ‘तिमी मेरो सम्पूर्णता हौ कामदेव।’
कामदेवले जवाफ दियो– ‘र तिमी मेरो सर्वश्व हौ रति।’
चरमोत्कर्षमा पुगेका बेला दुवैको शरीर पसिनाले निथ्रुक्क भिजिरहेको थियो, शरीर नभएर उनीहरूको आत्मा मिलिरहेको थियो।
‘आज हामीले जुन मिलनको चरमोत्कर्ष अनुभव गऱ्यौँ, त्यो केवल शारीरिक होइन, आत्माको हो रति।’
कामदेवले भन्यो।
‘यो त सदियौँदेखि दोहोरिँदो मिथकको अर्को अध्याय हो कामदेव।’
रतिले पनि आज दार्शनिक भएर बोली।
‘हो, हामी नै कामदेव र रति हौँ। हाम्रो पुनर्जन्म भएको छ।’
दुवैले एकै स्वरमा भने।
–०००–
कपन-३, काठमाडौँ
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।


