Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

उपन्यास: गरुराहा भाग: ४ | नन्दलाल आचार्य | हाम्रो कथाघर

मंसिर २८, २०८२

यौनकथा: काम–रतिको पुनर्जन्म | हाम्रो कथाघर

मंसिर २७, २०८२

समाचार: विद्युतकर्मी साहित्यिक समाजले पुष्कर लोहनीको साहित्यिक योगदानलाई सम्झियो

मंसिर २७, २०८२

स्मार्ट कविता श्रृङ्खला ५३ | हाम्रो कथाघर

मंसिर २६, २०८२

गजल श्रृङ्खला ३२ | हाम्रो कथाघर

मंसिर २५, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » उपन्यास: गरुराहा भाग: ४ | नन्दलाल आचार्य | हाम्रो कथाघर

उपन्यास: गरुराहा भाग: ४ | नन्दलाल आचार्य | हाम्रो कथाघर

आख्यान - उपन्यास
नन्दलाल आचार्यनन्दलाल आचार्यमंसिर २८, २०८२1K Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

स्रष्टा परिचय:
वि.सं. २०३० असारमा जहडा, उदयपुरमा माता भगवती र पिता विष्णुप्रसाद आचार्यका सुपुत्रका रूपमा जन्मिएका नन्दलाल आचार्य नेपाली साहित्यका एक स्थापित स्रष्टा हुन्। हाल बेलका नगरपालिका–२, सिद्धार्थटोल, गल्फडिया, उदयपुरमा बसोबास गर्दै आएका उनले सानैदेखि नेपाली साहित्य लेखनमा रुचि राख्दै वि.सं. २०५३/५४ देखि विभिन्न पत्रपत्रिकामा आफ्ना लेख तथा रचनाहरू प्रकाशन गर्दै आएका छन्।

साहित्यमा निरन्तर सक्रिय आचार्य नेपाली भाषाका प्रायः सबै विधामा कलम चलाउँछन्। उनका नाटक, समालोचना, निबन्ध, उपन्यास, लघुकथा र कथा विधाका कृतिहरू प्रकाशित छन्। उनले नेपाली साहित्यमा पुर्‍याएको योगदानका लागि एक दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन्।

हाल उनी विभिन्न साहित्यिक पत्रपत्रिका तथा संघ-संस्थामा आबद्ध रही नेपाली साहित्यको सेवामा समर्पित छन्। उनका महत्वपूर्ण कृतिमध्ये “गरुराहा” उपन्यास विशेष रूपमा चर्चित छ, जसलाई जामुनलाल स्मृति प्रतिष्ठान, उदयपुरले वि.सं. २०७६ मा प्रकाशित गरेको थियो। सो उपन्यासलाई “हाम्रो कथाघर डट कम” अनलाइन पत्रिकाले डिजिटल रूपमा पुनः प्रकाशन गरेको छ।


ज्योतिजी ! गरुराहाले केकस्ता अत्याचारका पाटाहरूलाई आफ्नो इतिहास बनाएको छ भन्नेबारे बुझ्नु जरुरी छ । यस पाटोको जरो नछोई परिधीय चक्कर लगाउँदा परिणाम शून्य हात लाग्छ । तिमीलाई कलुवा मोची काम गरिरहेको स्थानमा लग्दै छु ।

मध्याह्नको समय छ । सूर्य ताप मात्र खन्याइरहेछ । वरपरका बोटवृक्षहरू प्याकप्याक मुख बाउँदै छन् । चराचुरुङ्गीहरू बोली बन्द गरेर झोक्राइरहेछन् । माटो वाफ ओकल्न विवश छ । काम गर्न बाध्य हुनेहरू निथ्रुक्कै शरीर भिजाएर जोतिँदै छन् । पेट ठूला हुने मालिकहरूजस्ता मान्छेहरू बाँसको पङ्खाले शरीर हम्किँदै छन् ।

कलुवा मोची अहिले मेरो छिमेकी भएको छ । ऊ सोझो छ तर अबुझ छैन । अबुझ बन्नु त उसको विवशता भएको छ । मालिकको मन खुसी भए आफू र आफ्नो परिवारको जिउने आधार जुट्छ भन्ने मानसिकता बनाउन ऊ बाध्य छ । अह्राएको काम खुरुखुरु गरे मात्र आफ्नो जय छ, छक्कापञ्जा गर्‍यो कि शरीरभरि नीलडाम लिएर लखेटिन बाध्य हुनुपर्छ; उसको बुझाइ त्यत्ति मात्रै छ ।

ऊ आलीशान घरमुन्तिर छ । चारैतिर सुवासिला फूलहरू फुलिरहेका छन् । त्यसबेला फूलहरूले पनि आफ्नो प्राकृतिक स्वभाव देखाउन सकिरहेका छैनन्, किनभने चर्को घाम लागेको छ । माटो खङ्ग्रङ्ग भइसुकेको छ ।

कलुवा इनारबाट पानी झिकेर सिँचाइ गरिरहेको छ । इनार पनि गहिरो छ, पानी निकाल्न मुस्किल पर्छ । मध्याह्नभन्दा समय उकालो लागिसकेको छ । उसको पेटमा मुसा दगुरिरहेका छन् । कतिखेर काम सकिन्छ र मालिक वीरुले खाना खान छुट्टी दिन्छन् भनेर ऊ मालिक कज्याउने ध्याउन्नमा छ । मालिक वीरु टुलुटुलु यताउतीको दृश्य हेरिरहेको छ ।

घरी “त्यो बोटमा अरू पानी हाल” भनिरहेको छ, घरी “त्यो बोटलाई डोरीले बाँधिदे” भनिरहेछ । जति पानी हाले पनि ‘अब भयो’ भनेर भन्दैन । शरीर पसिनाले निथ्रुक्कै भएपछि भने कलुवा खुई–खुई गर्दै शीतलमा बस्छ । उसलाई मालिकहरू निर्दयी भएर पनि धन–वैभवले ऐश्वर्यशाली भएकोमा ईश्वरीय लीलाप्रति असन्तोष भइरहन्छ ।

कलुवाकी छोरी मुसी पनि आँगनको छेउछाउका घाँसपात उखलिरहेकी हुन्छे । आफ्नै धुनमा काममा व्यस्त हुन्छे । भएजति सबै काम आजै गरिसकिने हो भने भोलिदेखि मालिकहरू के काम लगाउँदा हुन् भनेर ऊ आफैँलाई प्रश्न गर्छे ।

खाना खान बोलावटको प्रतीक्षामा रहेर उनी काम गरिरहेकी हुन्छे । आँखा कामतिर एकोहोर्‍याए पनि कान भने चनाखा पारेर बाबुको बोली सुन्न तत्पर छे । खाना खान सङ्केत गर्दै बाबुले भनोस्– ‘बेटी, खाइ लऽ चलऽ ।’ त्यतिखेर उसले सुन्न चाहेको कुरो नै त्यही हो । ऊ हलक्क बढेकी हुन्छे । यौवनका प्रारम्भिक रूपरेखा उसका शरीरमा प्रवेश गरिरहेको आभास हुन्छ । कसैप्रति आकर्षण पनि छैन, विकर्षण पनि छैन । ऊ पनि धेरै कुरा बुझ्दिन, तर महत्त्वपूर्ण कुरा भने बुझ्दछे ।

इज्जतका सवालमा चनाखो छे । साना हुन् या ठूला, धनी हुन् या गरिब, इज्जत सबैको बराबर छ भन्ठान्ने उसको नीति छ । ऊ श्याम वर्णकी भए पनि सुन्दरी छे । ‘जवानीमा स्याल पनि घोर्ले’ भनेझैँ मुसीमा समेत त्यो नियम लागू नहुने कुरा आउँदैनथ्यो ।

उसलाई देखेर वीरु र्‍याल काढ्छ । मुसी त्यस कुराबाट बेखबर हुन्छे । उसले छोरीतिर हेरिरहेको देखेर कलुवाको मुटु ढुकढुक गर्न थाल्छ । ऊ सम्भावित सङ्कटले भित्रभित्रै गल्न थाल्छ ।

‘हे रै कलुवा ! तोहर बेटीके साँझमे कामैत पठा दिहें । हम बिहानें पठा देबौ ।’ मुसीको फक्रँदो बैँस ध्वस्त पार्ने मनसायले वीरु बोल्दछ ।

मालिकका कुराले ऊ अझ भयभीत हुन्छ । बोली फुट्दैन । भित्रभित्रै आगो दन्किन्छ । चिट्चिट पसिना आउँछ । कसो गरौँ, गरौँ हुन्छ । विरुद्धमा बोलूँ भन्ने लाग्छ, तर परिवारको बिचल्ली हुने भयले क्रोध भित्रभित्रै दबाउँछ ।

त्यस्तो भयङ्कर शब्द प्रहार होला भन्ने उसले चिताएकै हुँदैन । कतै दयामायाका शब्द निस्कलान् कि भन्ने आशले ऊ वीरुतिर फर्कन्छ र फिस्स हाँस्छ ।

‘बात बुझलिही, कलुवा !’ वीरु कलुवाले कुरा बुझे–नबुझेको यकिन हुन चाहन्छ ।

बुझेको कुरा सङ्केतबाट जनाउ दिँदै ऊ काम गर्न उठ्न खोज्छ । त्यत्तिकैमा वीरुको सङ्केत पाएर फेरि थचक्क बस्छ ।

‘कहाँ कुछो कहै छी !’ वीरु अडान नछोड्ने आशय व्यक्त गर्छ । कलुवा मरेतुल्य हुन्छ । नबोली धरै पाउँदैन ।

कलुवा मनमा जे भए पनि छोरीले नमान्ली कि भन्ने भय मिश्रित विवशता पोख्छ– ‘हमर बात नइँ मानत तऽ हम की करब, मालिक साहेब !’

गरिबलाई पेटभरि खान चामल र आङ ढाक्न कपडा भए अर्थोक केही नचाहिने ठानी वीरु फकाउने भाका निकाल्छ– ‘मिलाके कहिए नें । भरि पेट खाइलऽ देबै करबौ । कपड़ो दऽ के पठादेबौ । चाउर आ दाइल सेहो दऽ कऽ पठादेबै । आब की चाही, तोरा ?’

वीरु धनको तुजुक देखाएर भए पनि आफ्नो मनोकाङ्क्षा पूर्ण गर्ने मनसायमा पुग्छ । ऊ आफ्नो जिद्दी छोड्दैन ।

कलुवा धर्मसङ्कटमा पर्छ । अन्नदाताको आज्ञा उल्लङ्घन गरोस् त गाउँ नै छाडेर रातारात हिँड्नुपर्छ । आदेश शिरोधार्य गरोस् त आफ्नी सुकुमारी छोरीको कौमार्यलाई तिलाञ्जली दिनुपर्छ । यसो गरेर बाँच्नु पनि मुर्दा समान हुन्थ्यो ।

खुइय गर्छ । रोगी श्रीमती सम्झन्छ । नाबालक छोरो सम्झन्छ । घरमा अन्नको दानो नभएको महसुस गर्छ । के गरूँ–नगरूँको दोधारमा निकै बेर अल्झिरहन्छ ।

अन्तमा निष्कर्ष निकाल्छ– यी राक्षसजस्ता मालिकहरूको दानवी प्रवृत्तिबाट गाउँका कुनै नारी चोखा छैनन् । मेरी छोरी मुसी मात्र कसरी बच्न सक्छे ? मालिकको मन प्रफुल्ल भइरहे अनुकम्पा बक्स भइरहन्छ । भोकभोकै सुत्नु पर्दैन । वस्त्रविहीन हुनु पर्दैन । आपत्विपतमा गर्जो टार्न दस घर चहार्नु पर्दैन । छोरा–छोरीहरूको विवाहका लागि ठूलो चिन्ता लिनुपर्दैन । मालिकले छहारी दिए अरू कसैले हेप्न पाउँदैन ।

‘हेतैं मालिक ! हम भेजदेब ।’ केही आश र केही त्रासका बीच ऊ स्वीकारोक्ति जनाउन विवश हुन्छ । केही गुमाएरै भए पनि केही पाउने आशमा चित्त बुझाउन खोज्छ ।

वीरुबाट खाना खान जाने सङ्केत मिल्छ । त्यस सङ्केतलाई कलुवा भगवान्‌को आशीर्वाद सम्झन्छ र छोरीलाई समेत डाकेर भान्सा घरतर्फ मोडिन्छ ।

त्यसबेला मालिक र नोकरबीच यस्तै कुरा हुन्थे । मालिकका कुरामा समयअनुसार केही दया लुकेको पाइन्थ्यो । नोकरका कुरामा भने विवशता गुम्सिएको भेटिन्थ्यो । मालिक वर्गका लागि एकले अर्काको पीरमार्का सम्बोधन गर्नुपर्छ भन्ने जरुरी छँदै थिएन । परिस्थितिको दास हुन कलुवाहरूलाई मञ्जुर थियो ।

×××

ज्योति ! अब यसैमाथि अर्को प्रसङ्ग थप्दछु । त्यही गरुराहा गाउँको हरिया मोची बिलट महाजनकहाँ जनमा (मजदुरी) काम गर्थ्यो । बिहान झिसमिसेमा घर छाड्थ्यो । राति अबेर रात काट्न मात्र घर फर्कन्थ्यो ।

छोरीहरूको बिहे गरिसकेको थियो । छोरो बढ्दै थियो । छिमेकीहरू ‘बिहे गर्दे’ भन्दै थिए । ऊ भने खर्चबर्चको जोहो गर्न नसक्नाले चुपचाप थियो । सुने पनि नसुनेझैँ गर्न विवश थियो । बुझे पनि अबुझ बन्न प्रयासरत् थियो ।

मालिकको खेतमा साँझसम्म काम गरी एक भारी घाँस बोकेर फर्केको हरियालाई भारी बिसाउन नपाउँदै बिलट मालिकको छोरो श्रीरामले सहानुभूतिको बोली निकाल्यो– “हरिया ! बहुते काज कैलही रौ । तुँ नीक जन छें ।”

श्रीराम हराम हो, साह्रै दुष्ट छ भन्ने कुराको प्रत्यक्षदर्शी ऊ स्वयम् हो । आज किन यस्ता सहानुभूतिका कुराहरू भनिँदै छ ? खुसी हुनुको सट्टामा ऊ केही भयभीत बन्यो ।

कुनै नराम्रो काम गराउनु छ भने श्रीराम मीठा–मीठा कुरा गर्थ्यो । आज कुन प्रलय आउने पऱ्यो ! हरियाले सम्भावित खतरा महसुस गर्‍यो तर केही बोल्न सकेन ।

बोल्ने छुट कसैलाई हुन्नथ्यो । बोल्यो कि सकियो । जसले विरोध गर्छ, त्यसले कतै काम पाउन्नथ्यो । भोकभोकै मर्न विवश हुनुपर्थ्यो । मनका कुरा ओठमा ल्यायो कि बेस्कन पोल्थ्यो । अन्यत्र बोल्दै हिँड्यो भने अकालमा नै जीवनलीला समाप्त हुन्थ्यो । त्यसको भेउ कसैलाई पनि हुन्नथ्यो । भए पनि खोल्ने हिम्मत कसैको हुन्नथ्यो ।

कसैले खोलिहाल्यो भने पत्याइदिने काम कसैबाट हुन्नथ्यो । पत्याइहाले पनि त्यसबाट मालिकहरूलाई कुनै लछारपाटोले छुँदैनथ्यो । बरु विपक्षीको सर्वस्व सिद्धिन्थ्यो । भयले कोही केही गर्न सक्दैनथे । गर्नैपर्ने आवश्यकता पनि कतिपयले देख्दैनथे ।

कपट दृष्टिले हरियातर्फ नजर गाड्दै श्रीरामको बोली सुनियो– ‘हे रौ हरिया ! सुनैछी तुँ बेटाके विआह करैलऽ चाहै छी ?’

कुरा सुनेर उसको मन प्रसन्न भयो । त्यो आनन्द उसको ओठमा पढ्न पाइन्थ्यो । के भनूँ–भनूँ भयो । मन खोल्ने मौका पनि यही हो भन्ने लाग्यो । त्यो घडी निकै बेर रहेन । बोल्ने शब्द पनि ऊसँग थिएनन्, किनभने दुष्ट मान्छेका मनमा दुष्ट कुरा नै खेलिरहेका हुन्छन् भन्ने उसलाई राम्रो हेक्का थियो ।

मालिकले दया देखाउनुको अर्थ ठूलो स्वार्थ पूर्ति गर्नु हो भन्ने उसले बुझेको थियो । तापनि खर्चबर्चको कमीले मन भएर पनि छोराको बिहे गराउन नसकेको र मालिकले कृपा गरे हुन्थ्यो भन्ने आशयका साथ उसले मुख खोल्यो– ‘हँ मालिक ! करबाक मोन तऽ छै, मुदा खर्चाबर्चा कुछो नइँ छै । मालिकके कृपा हेतै तऽ, बलू कऽ लैतिए छौंडाके बिआह ।’

मौकामा चौका हान्न सिपालु श्रीराम किन पछि पर्थ्यो र ! गरिबीको फाइदा लुट्न पल्केको ऊ मुख मिठ्याउँदै बोल्यो– ‘अरे, खर्चाके तूँ की परबाह करैछी । जे खर्चा लगतौ हम देबौ । बस, कुछ दिनके खातिर दुलहीनके कामतमे रहैलऽ दिहै । तोरो कुछ लाभ हेतौ ।’

बिहेको खर्च मालिकले बेहोर्ने त ठीक थियो । नयाँ दुलही मालिककहाँ पठाउनुपर्ने कुराले उसलाई भाउन्न पार्‍यो । भनोस् पनि के भनोस् ? विरोध गर्ने कुरा पनि आएन । नगरोस् पनि कसरी नगरोस् ? ऊ बिलखबन्दमा पऱ्यो । ऊ त्यसै टोलाइरह्यो ।

आफूले त इज्जत लिलाममा चढाएर तिनै सन्तानको सुख र प्रतिष्ठाको लागि काम गरिरहेको छु । तिनै सन्तानले पनि इज्जत गुमाएर रहनुपर्‍यो भने मरेकै दिन हुने भयो । ‘हुन्न’ भनेर ठाड्ठाडै भनूँ भने पनि भोलिदेखि ‘यहाँको दैलो नटेक्’ भनिहाल्छ । ‘हुन्छ’ भन्दा इज्जत मात्र लिलाम हुन्न, छोराबुहारीको मनोकाङ्क्षामा कुठाराघात देखापर्छ । यही सोचेर आखिरमा उसले नबोल्ने प्रण गर्‍यो ।

श्रीरामले जति बोलाए पनि ऊ होसविनाको मान्छेजस्तो सुनी मात्र रह्यो । एक प्रकारले नबोलीकन उसले खेल जित्यो । तर, छोराको बिहेका लागि आउने सहयोगबाट ऊ वञ्चित रह्यो । बरु उसलाई छोरो त्यत्तिकै बसेकोमा खुसी लाग्यो । दुलहीलाई मालिककहाँ हवाला गरिदिनु अन्याय सम्झिरह्यो ।

आखिरमा दलित बस्तीमा चेतना नभएको हैन । त्यस चेतनालाई बाहिर ल्याउने अवस्था मात्र नपाएको हो । विद्रोही भावना नभएको होइन, त्यसले मलजल मात्र नपाएको हो । त्यसबेला श्रीरामले पनि यही बुझेको हुनुपर्छ । त्यस दिनदेखि उसले त्यस्ता कुरा हरियानजिक दोहोर्‍याएन । तर, काममा नआउन भन्दियो । खाइपाई गरेको नोकरी क्षणभरमै चट्ट हुँदा हुनसम्मको आर्थिक नोक्सानी भएको अनुभूतिले हरिया पिरोलियो । दिनभर हात बाँधेर बस्नु नै उसको दिनचर्या बन्न पुग्यो ।

×××

ज्योतिजी ! कुरा अघि–अघि बढ्दै छ । सानातिना शृङ्खलाहरू आउँदै छन् । गहिरा गल्छेडाहरू हिँड्न बाँकी नै छन् । परिस्थितिका दासहरूको जीवनचर्या छर्लङ्ग हुँदै–हुँदै जाँदै छ ।

म एकाध घटनाका इतिवृत्ति प्रस्तुत गर्ने ध्याउन्नमा छु । तिमीले झर्कोफर्को गर्ने कुरा आउँदैन । तिमीलाई ठूल्ठूला पहाड चढाउनु छ । उकालीमा ठेल्नु छ । ओरालीमा समाउनु छ । समग्रमा भन्नुपर्दा तिमीलाई गरुराहाको सेरोफेरो घुमाउनु छ ।

दशैँ–तिहार भर्खरै बिदा भएको समय छ । मालपोत तिर्ने समय आएको छ । गोडाइत (मालपोत ठेकेदारको सहयोगी) चारैतिर झ्याली पिट्दै हिँड्दै छ– “सुनू ! सुनू ! सुनू ! गाम–समाज ! हमर बात सुनू ! कामतमे जा कऽ मालपोत तिरू । सिर्फ १५ दिनके भीतरमे मालपोत तिरि कऽ निश्चिन्त बनू । समयमे सरकारी काज करू ।”

हरियाले गरुराहाको गाउँसमाजले कामतमा गएर सिर्फ १५ दिनभित्रमा मालपोत तिर्नुपर्ने गोडाइत–आतङ्क आफ्नै कानले सुन्यो । समयमा सरकारी काम फत्ते नगरे पाइने सम्भावित दण्डको सम्झनाले मनमा ढ्याङ्ग्रो बजेको अनुभव गर्न थाल्यो ।

गोडाइतका कुराले गाउँमा एक प्रकारको आतङ्क फैलिन्छ । तिर्न सक्नेहरू गएर तिर्छन् । नसक्नेहरू चारैतिर गएर बिलौना गर्छन् । ऋणपान दिन पत्याउने कमै हुन्छन् । पत्याउनेले पनि जग्गामै गिद्धेदृष्टि फ्याँक्छ । पैसा महँगो हुन्छ । बरु अन्न पाइएला तर पैसा पाइने कुरै आउँदैन । सबैसँग सबै किसिमको होसियारी रहने कुरा पनि आएन ।

गोडाइतको धमासले गरुराहा नै त्रासमय नभएको होइन । लक्ष्मी, किसन, भोजाइ, विषण, बचाइ मोचीहरू पन्ध्रौँ दिनमा कामत पुग्छन् । तन काटेर ल्याएको धन बुझाउँछन् । फर्कँदा आफ्नो खेत घुम्दै टोलाउँछन् । खेतको धान ओइल्याएको पाउँछन् । आकाशतिर नियाल्छन् । पानी पर्ने छाँटकाँट छैन ।

अन्न फले पनि, नफले पनि तिरो चाहिँ तिर्नैपर्ने ! भित्रभित्रै मुर्मुरिन्छन् । वर्ष दिन कसरी काट्ने ! चिन्ता थुपरिन्छ । पन्छाउने उपाय एउटै छ । त्यो हो– मालिककहाँ गएर पसिना बेच्नु । खुन सुकाउनु । नानाभाँतीका अत्याचारलाई पचाउनु र बदलामा जिउँदो रहनु । यस्तै सोच्दै सबै चुपचाप घरतिर फर्किन्छन् ।

तेह्र दिन बितिसकेपछि गोडाइत पुनः आउँछ र नतिर्नेलाई २ दिनभित्र तिर्न स्मरण गराउँछ । पैसाको जोहोमा जाँदा–जाँदै कतैबाट पाउन नसकेपछि हरिया निराश बन्छ । १५ दिन बितिसकेपछि पाइने सजायले त्रस्त बन्छ ।

हरिया गोडाइतलाई चाँडै पैसाको व्यवस्था गरी चुक्ता गर्ने बाचा गर्दै भन्छ– “गोड़ाइत साहब ! हम जल्दीए फरिछा देबै । पैसाके व्यवस्था कऽ रहल छी । जब पैसाके बनोबस्त भऽ जेतै त हम जरुर कामत पर आइबजेब ।”

मुखले त हरिया कामत गएरै मालपोत तिर्ने कबुल गर्दछ तर कसरी रकम जम्मा पार्ने, त्यो उपाय भने ऊसँग छँदै छैन ।

गोडाइत पनि दुई दिनको समय थप दिएको स्मरण गराउँदै नतिरे तीनखुटिया सजाय दिलाउने धम्कीका साथ बोल्छ– “हम कुछो नइँ बुझै छी । दू दिनके भीतरमे जे करै लऽ छौ, से कर, नइँ तऽ तीन खुटिया सजाए भेटतौ, से बुझि ले हँ ।”

हरियालाई भनेजस्तो किन हुन्थ्यो ! मालिक श्रीरामका कुरा मानिदिएको भए गर्जो टर्थ्यो भन्ने मन पनि भयो । अर्को मनले भन्यो– बरु जे पर्ला, इज्जत त लिलाम गर्दिनँ, गर्दिनँ । जे सजाय भोग्नुपर्छ भोग्छु । परिवारले त भोग्नु पर्दैन । यस्तै–यस्तै सोचेर ऊ निदाउने चेष्टा गर्छ ।

एकएक प्रलयका सम्भावित क्षणहरू उसका आँखा वरपर नाच्न थाल्छन् । बरु एकपटक प्रयास गर्छु । सत्रौँ दिनमा पनि जोहो गर्न सकेँ भने सजायबाट बच्छु । फेरि सजाय भेटेर पनि समय मात्र पाउने हो । तिरो त नबुझाइकन हुन्न । सोच्दासोच्दै उसका आँखा कतिखेर लागे, पत्तो भएन ।

बिहान चार बजे कुखुराको आवाजले ऊ बिउँझियो । गाईगोठमा पुग्यो । धुवाँ लगायो । गोबर सोहोर्‍यो । गाईलाई पराल हालिदियो । त्यसको शरीर सुम्सुम्यायो । धनमाथिको रातिगेडीको रूपमा त्यही ब्याउन ठिक्क परेको गाई छ । त्यसलाई मास्ने मन छैन । त्यो पनि ससुरालीले दिएको धन ।

त्यो ब्याउला । दूधभात खान पाइएला । त्यसले अर्को बाच्छी जन्माउला । त्यो पनि एक दिन कोरली बन्ला । गाईको रूपमा आउला । एउटा गाईको ठाउँमा दुई वटा गाई होलान् । हुँदाहुँदै गोठभरि गाई होलान् । तिनै गाईबाट भैँसी जोडिएला । गोठमा आफ्नै हल गोरु होलान् । जनमा आफ्नै गोरु लिएर जान पाइएला । तीन सेर अन्नको सट्टामा पाँच सेर पारिश्रमिक भेटिएला । घरका सदस्य पनि खुसी होलान् । चाँडै धनी बनिएला । झुपडीले पनि मुहार फेर्ला । छोराले पनि सजिलै बुहारी भित्र्याउला । घरमा नाति–नातिना नाच्लान् । बुहारी पनि घुम्टो ओढेर हुक्का ल्याएर आफ्नो छेउमा राख्ली । सुस्ताउँदै हुक्का तानेर नाति–नातिनासँग खेलेर बसूँला । छोराले धन कमाएर ल्याउला । गाईभैँसीबाट पनि मनग्यै धन आर्जन गर्न सकूँला ।

सोच्दा–सोच्दै हरिया त उघ्न पो थालेछ । पल्टन लाग्दा पो झसङ्ग हुन्छ । अर्धचेतन अवस्थाबाट चेतनमा आउँदा उही थलोमा एउटै गाई भेट्छ । त्यसलाई मासेर भए पनि मालपोत नतिरी नभएको पाउँछ । खै, छोरो एक्लो छ । न बुहारी छे, न नाति–नातिना छन् । ऊ सुनसान बिहानीमा एक्लै छ । फगत एक्लो ।

ऊ पैसाको जोहोमा गाउँभरि घुम्छ । पत्याउनेहरूसँग पैसै हुन्न । नपत्याउनेहरूसँग भएको पैसाले उसको काम चल्दैन । त्यही खेत जोगाउन पैसा खोज्न हिँडेको मान्छे, त्यही जग्गा हडप्न खोज्नेहरू धेरै निस्किए ।

मध्याह्नसम्ममा केही बन्दोबस्त हुन सक्दैन र ऊ घरतिरै फर्किन्छ । खुइय गर्दै दलानमा बस्छ । नानाभाँतीका आशङ्काहरू मनमा आउँछन् । कसैलाई बताउनु जरुरी ठान्दैन ।

आखिर पन्ध्रौँ दिन पनि त्यत्तिकै गयो । सोह्रौँ र सत्रौँ दिनभरि गाउँघरमा हारगुहार गर्दा पनि एक पैसा पत्याउने फेला परेनन् । अठारौँ दिनमा दुई जना लठैत साथमा लिएर गोडाइतको प्रवेश हुन्छ । कठालोमा समाएर हरियालाई लछार्दै र पछार्दै कामतमा विराजमान मालपोत ठेकेदारकहाँ पेस गरिन्छ । त्यहाँ उसले गरेको अनुनय–विनय जङ्गलको रुवाइमा परिणत हुन्छ । अन्त्यमा ठेकेदारको इसारामा उसलाई तीनखुटिया सजाय दिने निर्णय हुन्छ ।

तीनवटा इँटा ल्याइन्छ । पूर्वतिर एउटा राखिन्छ । पश्चिमतिर नजिक–नजिक केही फराकिलो पारेर दुई वटा राखिन्छ । त्यसमा पूर्वतिर दुवै हातको कुहिनो टेकाइन्छ । पश्चिमका दुवै इँटामा पर्ने गरी दुवै खुट्टाका घुँडा टेकाइन्छ र चर्को सूर्यको किरणलाई हेरिरहन लगाइन्छ । इँटाबाट बाहिर हातपाउ गए, सूर्यलाई हेर्नबाट आँखा विचलित भए शरीरमा पशुलाई झैँ कोर्रा बर्सिने क्रम जारी रहन्छ । बोल्न त परै जाओस्, रुन–चिच्याउन समेत मनाही हुन्छ । मुखबाट जति शब्द बाहिरिन्छन्, त्यत्तिकै मात्रामा चुटाइ भेटिन्छ ।

यस किसिमको उर्दी जारी गरी हरियालाई तीनखुटियामा राखिन्छ । ऊ सूर्यका किरण हेर्न थाल्छ । आँखाबाट आँसु बग्न थाल्छ । शरीरबाट पसिना चुहुन सुरु हुन्छ । एक घण्टा बित्छ । सजाय सकियो भनिँदैन । बरु सूर्य हेर्नबाट आँखा किन बाहिर लगेको भनेर बेलाबेलामा कोर्रा बर्साइन्छ ।

त्यसरी सजाय पाउनेहरूमा करिया, भिखना, शैनिया, सोमना, मंगला पनि हुन्छन् । गोडाइत कोर्रा बर्साउँदै, गाली गर्दै एकनासले पिट्दो हुन्छ । परपरबाट मानिसहरू हेर्दा हुन्छन् । कोही ‘ठगहरूलाई ठीक भयो’ भन्दछन् । कोही भने सहानुभूति राख्दछन् । सहानुभूति राख्नेहरूको मुखबाट समेत आवाज निस्किन सकिरहेको हुन्न । कारण, तिनीहरूले कामतका सेवकका रूपमा त्यहाँ रहन पाएका छन् ।

दुई घण्टाको तीनखुटिया सजाय सकिनासाथ छ जनालाई एक अर्काको जननेन्द्रिय तानातान गर्न लगाइन्छ । एक अर्काको कान मोल्न लगाइन्छ । नतान्ने र नमोल्नेलाई हातमै भाटो बर्साइन्छ । हरिया, करिया, भिखना, शैनिया, सोमना र मंगला गरी छ जना नै विवश हुन्छन् । भनेजस्तो गर्छन् । त्यसपछि बाल्टिनमा गोबर–माटो–पानी घोल्न लगाइन्छ र एकले अर्काको शरीरमा टाउकादेखि खन्याउन लगाइन्छ । उनीहरू विरूप हुन्छन् । मरेतुल्य हुन्छन् । त्यसपछि पनि मुक्ति मिल्दैन । त्यस्तै रूपमा दौडँदै गाउँ परिक्रमा गर्न लगाइन्छ । यत्ति गरिसकेपछि उनीहरू कामतवाला मालपोत ठेकेदारकहाँ हाजिर गराइन्छन् ।

ठेकेदार पाँच दिनभित्रमा मालपोत बुझाउन फरमान जारी गर्छ, नत्र अरू सजाय मात्र पाइने हैन जग्गा नै गुम्ने जनाउ दिँदै बोल्छ– “तुँसभ बात नइँ बुझै छिही । आबो पाँच दिनके भीतरमे मालपोत बुझा । नइँ बुझेबही तऽ फेर सँ सजाइ भेटतौ । आ तोहर सैब जमीनजाल चैल जेतौ । से बात नीकसँ बुझि ले । बुझलें की नइँ ?”

ठेकेदार सिंहझैँ विवश प्राणीमाथि गर्जिरहन्छ । सजाय पाउनेहरू हात जोडेर उभिरहन्छन् । ऊ फेरि कुरा बुझेको हो भन्ने आशय व्यक्त गर्दछ । स्वीकारोक्तिमा सबै जना मुन्टो हल्लाउँछन् र पाँच दिनको समयसीमाबारे सोच्दै घर फर्कन्छन् ।

∎∎∎∎∎
क्रमशः


तपेश्वरी–१, गल्फडिया, उदयपुर
nandalalacharya@gmail.com
मो. नं. ९८४२८२९२०६


प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

गरुराहा गरुराहा भाग: ४ नन्दलाल आचार्य

यो पनि पढ्नुहोस्...

यौनकथा: काम–रतिको पुनर्जन्म | हाम्रो कथाघर

लघुकथा : नाता | सुरेशकुमार पाण्डे | हाम्रो कथाघर

लघुकथा : सडकमा बाँचेको डर | सरस्वती पुडासैनी | हाम्रो कथाघर

लघुकथा : लिङ्क | ईश्वर पोखरेल | हाम्रो कथाघर

लघुकथा : भ्रम | लक्ष्मी रेग्मी खनाल | हाम्रो कथाघर

६ अनूदित लघुकथा | सन्दिप तोमर | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

बाल उपन्यास : अद्भुत विवाह | भाग: एक | नन्दलाल आचार्य

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: २० | हाम्रो कथाघर

पोस्टमा स्मार्ट लघुकथा श्रृङ्खला: १९ | किशन पाैडेल | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क: २५ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भर्खरै

उपन्यास: गरुराहा भाग: ४ | नन्दलाल आचार्य | हाम्रो कथाघर

मंसिर २८, २०८२

यौनकथा: काम–रतिको पुनर्जन्म | हाम्रो कथाघर

मंसिर २७, २०८२

समाचार: विद्युतकर्मी साहित्यिक समाजले पुष्कर लोहनीको साहित्यिक योगदानलाई सम्झियो

मंसिर २७, २०८२

स्मार्ट कविता श्रृङ्खला ५३ | हाम्रो कथाघर

मंसिर २६, २०८२

गजल श्रृङ्खला ३२ | हाम्रो कथाघर

मंसिर २५, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.