व्यापार पनि चलेकै थियो । तर उसलाई लाग्यो– ‘यतिमै सन्तुष्ट हुनु हुँदैन ।’
उसले व्यापार बाबुआमालाई सुम्पियो अनि ठेकेदारीमा हात हाल्यो ।
सुरुमा उसले काम पाएन । जब ऊसँग केटाहरू र ‘लिङ्क’ भयो, अनि अरू ठेकेदारले काम पाएनन् ।
केही वर्षदेखि ठेकेदारका रूपमा पनि ऊ राम्रै जमेको थियो । तर उसलाई लाग्यो– ‘सन्तुष्टिले अग्रगमनको बाटो थुन्छ ।’
ठेकेदारी भाइ–छोरालाई जिम्मा दियो अनि ऊ राजनीतिमा प्रवेश गर्यो ।
उसलाई लाग्यो– ‘लिङ्क’ नभईकन राजनीतिमा पनि खास केही छैन । अनि उसले पहिले ‘लिङ्क’ को खोजी गर्यो र केटाहरूको सङ्ख्या बढाइदियो ।
केही समयपछि नै ‘लिङ्क’ ले आफ्नो कमाल देखाउन थाल्यो । अनि उसले घोषणा गर्यो– “मलाई तलब–भत्ता केही चाहिँदैन । मैले पाउने रकम अनाथ बालबालिकाको कोषमा जाओस् ।”
अब उसको समाजसेवा र त्यागसँग राज्यसंयन्त्र परिचित छ ।
दिन दुगुना रात चौगुना वृद्धि भएको छ– उसको आर्थिक कारोबार । भन्छ– “यो सब भगवान्को कृपा हो ।”
अनियमितता हेर्ने राज्यका सबै संयन्त्रमा उसको ‘लिङ्क’ छ ।
‘उसले आर्थिक भ्रष्टाचार गर्यो’ भन्दा अब कसले पत्याउँछ ?
–०००–


