“ए साँइली बुहारी ! त्यतातिर हाम्रो पाठो आ’छ र ? बिहानदेखि खोज्या छु, कतै भेट्दिनँ बाई ।”
“ए बजै ! यतै आउनु न । आज घरैको भाले काटेर यो चिसोमा कोदोको ढिडोसँग कपाकप खाउँ भनेर लाको ।”
“सुन् न साँइली, हाम्रो पाठो खोज्न हिँडेकी कता गयो गयो । तिमरले भाले भन्छौ, बास्न त खसी-बोकाको जस्तो पो छ त !”
“बजै, के बोलेको तपाईंले ? जाबो एक छाक मासु खानलाई अर्काको पाठो ढाल्नु छैन हो हाम्लाई । थोरै गरिब छौँ भनेर यतिको त नहेपे पनि हुने हो ।”
बजैले कड्किँदै भन्छिन्– “तँ त मेरा नजराँ सधैँ चोरझैँ लाम्च । पहिला छोराको मन चोरिस्, अनि मेरा गहना चोरेर छुट्टिएर बस्या छस् ।”
रिसले आगो हुँदै साँइली भन्छे– “तिम्रै छोरा मामाकहाँ जाँदा मेरो मन चोरेको । बैँसले मात्तिएको तिम्रो छोरालाई घरै कोठाभित्र आग्लो लाएर राखेको भए हुन्थ्यो क्यारे !”
यत्तिकैमा सासू र बुहारीको झगडा हात हालाहालसम्म पुग्छ । बजैले साँइलीलाई अगेनो छेउको चिरपाटे दाउराले हान्दै थला पारिन् ।
साँइलीले सोची– ‘कुकुरलाई घिउ कहाँ पच्नु ! झन् यो जाडोमा बूढी बजैलाई तातो खाउँ भनेको त उल्टै मलाई यस्तो बनाएर…।’ उसले भनी– “हेर बजै ! तिम्रा अरू सबै बुहारी सहराँ छन् । तिमी मर्दा त मैले नै पानी खुवाउनु पर्ला नि !”
बजै आँखा रातै बनाएर भन्छिन्– “तेरो कहिले भलो नहोस् । आज आएर पाठो मारिस् ।”
साँइली पनि के कम– “हेर्नुस् बजै, मैले आज तिम्रो पाठो मारेको भए छ महिनाभित्र तिम्रो छोरालाई घुम्टो परोस् ।”
त्यही बेला उताबाट पाठो ‘प्याँ–प्याँ’ गर्दै आयो ।
–०००–
वालिङ, स्याङ्जा


