“आज फेरि ढिलो गर्यौ ?”
ढोका खोलेर साथीले सोधी । उसको आवाजमा सामान्य सोधपुछ थियो, तर नजरमा प्रतीक्षाको मधुरो उज्यालो थियो ।
मैले मुस्कान दिने प्रयत्न गरेँ, तर त्यो हाँसो ओठसम्म मात्र पुग्यो, हृदयसम्म पुग्न सकेन । क्लास अलि लम्बियो अनि बाटो… बाटो पनि कताकता डरलाग्दो लाग्यो ।
ऊ सुन्नेबित्तिकै हल्का हाँसी । “कोरियाको बाटो डर लाग्ने ? यहाँ त सधैँ रातभरि बत्ती बलिरहन्छन् नि ! सबै व्यवस्थित र सुरक्षित छ ।”
ऊ सही थिई । यहाँ सबै व्यवस्थित छ, सुरक्षित छ । तर म केही बोलिनँ । उसको त्यो हाँसोभित्र जीवनप्रति निश्चिन्तता र विशुद्ध आत्मविश्वास थियो । तर मेरो हाँसोभित्र भने एक पुरानो, चिसो डर सधैँ मिसिएको हुन्थ्यो ।
म बाटो हिँड्दा सधैँ त्यो दिनको अँध्यारो साँझ सम्झन्छु— साथीसँग सपिङ गरेर फर्किँदै गर्दा अचानक बत्तीको तीव्र प्रकाश लिएर आएको त्यो गाडी । मेरो हातमा उसको अन्तिम न्यानोपन थियो, जसले मलाई अन्तिम पल्ट भेटेको थियो । त्यो न्यानोपन, एक झट्कामा, सदाका लागि चिसो भइदियो ।
त्यसपछि, बाटोमा हिँड्दा मेरा पाइलाहरू सधैँ भारी हुन्छन् । खुट्टा काँप्न थाल्छन्, हातहरू पसिनाले लतप्प हुन्छन् । जस्तो कि कसैले पछाडिबाट बोलाइरहेको छ, जस्तो कि कसैले त्यो भयानक दृश्य फेरि सम्झाइरहेको छ । मेरो मन मान्दैन कि म सुरक्षित छु ।
एकदिन हिँड्दै गर्दा साथीले सोधी, “किन हिँड्दा बारम्बार पछाडि फर्किन्छेस् ?”
मैले एक कृत्रिम मुस्कान दिएँ, जुन उसका लागि थियो, तर मेरा लागि थिएन । “थाहा छैन… कहिलेकाहीँ लाग्छ— कसैले मेरो हात समाएर भनिरहेको छ, ‘सावधान होऊ !’ ”
ऊ हाँस्दै हिँडी, सायद यसलाई मेरो कुनै अनौठो बानी सम्झेर । तर म मनमनै सोच्दै थिएँ— सायद त्यो उसको आत्मा हो, जो मेरो हरेक डरभित्र, हरेक चिसो पसिनाको थोपाभित्र अझै पनि बाँचिरहेकी छ । ऊ मलाई सम्झाउँदै छे कि संसारमा सबै व्यवस्था र उज्यालोका बीच पनि, कहिलेकाहीँ बाटोहरू मौन खतराले भरिएका हुन्छन् ।
–०००–
पीएचडी शोधार्थी, सोसियल वेल्फेयर होसो विश्वविद्यालय, दक्षिण कोरिया
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



