अस्थिपञ्जरको आत्मकथा
सबिन पौडेल
म बाँचेको थिएँ
तर बाँच्दाबाँच्दै म मरेको रहेछु ।
हड्डीभित्र सास थियो,
तर सासभित्र आत्मा हराइसकेको रहेछ ।
सम्मानका सिक्काहरूले
मेरो मनको रगत किनिदिन सकेनन्,
रुपैयाँले आफ्नै मृत्युबाट पनि छुटकारा दिलाउन सकेन ।
मान्छेहरूले मलाई कहिले ‘राजा’ भने, कहिले ‘पागल’ ।
तर सत्य के थियो भने—
म न राजा थिएँ, न पागल, म त बस् एउटा ‘बाँच्दो अस्थिपञ्जर’ थिएँ ।
मेरो अनुहारमा घमण्डको मकै उम्रिएको थियो,
र हरेक हाँसोभित्र कसैले नदेखेको रित्तोपन पलाएको थियो ।
अब हेर्दै छु— मेरो शरीर धुलो भइसकेको छ,
तर मेरो पाप, मेरो नाम, मान्छेहरूको मुखमा अझै जीवित छन् ।
तिमीहरू हतार गर्दै जीवनको दौडमा दौडिरहेछौ,
तर अन्त्यमा तिमीहरू पनि म जस्तै
आफ्नै अस्थिपञ्जरसँग परिचय गराउँदै ‘यो म हुँ’ भन्नेछौ ।
म फर्केर आएँ, तर शरीरबिना, नामबिना, प्रतिष्ठाबिना ।
मात्र एउटा चेतावनी लिएर—
“जीवनलाई ढाँट्यौ भने, मृत्यु पनि तिम्रो नक्कल गर्नेछ ।”
अस्थिपञ्जर मुस्कुराउँछ, र भन्छ—
“साँचो त म हुँ, मात्र नाङ्गो भएर पनि सत्य ।”
मन्थली-१२, रामेछाप


