नवदुलहीको पीडा
विष्णु ढुङ्गाना ‘निश्चल’
नवदुलही भएको हप्ता दिनमै,
बूढी आमाको जिम्मा लाएर
मेरा यौवनका छालहरूलाई उमालेर,
हुइँकिन्छ ऊ खाडीतिर
एक सुन्दर सपनाको पोको बोकी ।
पतिदेवको मोबाइलको घण्टीसँगै,
छचल्किन्छन् मेरा यौवनका रसहरू र,
म साट्न सक्दिनँ,
सप्तरङ्गी मेरा यौवनका चाहहरू ।
कसले देख्छ, नवदुलहीको पीडा ?
र त,
म र मजस्तै नवदुलहीहरू निस्कन्छन्
घरबाट विभिन्न बहानामा,
कुनै शान्त ठाउँको खोजीमा,
नाठो लिएर… ।
ऊ खेल्छ मस्तले, मेरो यौवनमा
र मेरो प्यास मेटाउँछ, मानौँ,
तिर्खाएको बटुवालाई पानी दिएर ।
हरेक ३/४ वर्षमा
पाहुना बनेर झुल्किन्छ ऊ,
राम्ररी हेर्न पनि नपाई उसको मुहार
फर्कन्छ फेरि खाडीतिरै ।
जन्मन्छ बच्चा, कसको हो ?
थाहा छैन आफैँलाई,
नाता छ अनौठो ऊसँग मेरो,
सम्बन्ध छ फेरि अर्कैसँग ।
चल्दै छ जिन्दगीको रेल यसरी नै,
एउटा वारि र
अर्को सात समुद्रपारि बसेर ।
गौरादह न.पा.-९, बैगुन्धुरा, झापा


