कविता: मृत्युसँगको प्रेम !
विनय इलामेली
मृत्यु किन चुपचाप आउँछ ?
अनि सबैलाई निद्राबाट ब्युँझाउँछ ?
एकाहोरो शङ्खध्वनिसँगै चुपचाप किन अघि बढ्छ ?
मानिस काबिल छ र त मौन भएर पछि लागिरहन्छ ।
शङ्खध्वनिले लासलाई डोहोर्याएझैँ डोहोर्याउनु
म ब्रह्मनालमा लमतन्न रहुन्जेल पर्खिरहन्छु,
मृत्युले चितालाई गर्ने मायाजति नै माया गर्नु
म तिमीलाई आर्यघाटझैँ पर्खिरहन्छु ।
तिमी र म
त्यतै भेटौँ, सँगै जलौँ, सँगै धुवाँमा उडौँ
जीवन साथमा नरहेर के भो र प्रिय !
मृत्युशय्यामा त हामी सँगै छौँ ।
न जात, न धर्म, न वर्ग, न वर्ण
न त छेक्यो यो कठोर समाजले !
दुई थोपा आँसुसँगै अस्तु रुपी हामी
एउटै पोकोमा परिरहेछौँ ।
म ब्रह्मनालमा लमतन्न रहुन्जेल पर्खिरहन्छु
म तिमीलाई आर्यघाटझैँ पर्खिरहन्छु ।
इलाम


