कविता: प्रतिकार
सुष्मा दाहाल
म आगो होइन,
आगोको अँगालोबाट पलाएको
अँध्यारोको नाङ्गो चेत हुँ,
जसले रातलाई
उसकै कालो छालबाट तानेर
घामको घुँडामा फ्याँकिदिन्छ ।
प्रतिकार यति मात्र हो–
अन्धकारको अँध्यारो च्यातेर
आफ्नै प्रकाशको उज्यालो लेख्ने साहस ।
मेरो एक फोक्सो सासभित्र लुकिरहेको थियो
एउटा सिङ्गो विश्व, एक असमानता,
र एक गड्गडाहट !
म पवनको कोमल शतरञ्ज छाडेर
बनिरहेछु पहाडको कठोर चट्टानी मुटु,
जहाँ हरेक चट्टान अन्यायको घाउ देखाउँदै
माग्छन् मेरो शिराको रगत ।
म भुइँ हुँ,
जो पटक-पटक लडेर अधीरता चिर्दै
फेरि धीर रूपमा उठेर हलचल ल्याउँछु ।
मेरो हृदयको दरारमा साँचिएको छ शताब्दीभरिको मौनता
र त्यही मौनताले उमार्छ मभित्र विद्रोहको काँडा,
जसले अत्याचारको छाती चिर्न कुनै धार माग्दैन ।
म आँधी हुँ,
तर बदलिरहने मौसम होइन
विरोधको मुटुबाट जन्मिएको प्रतिशोध हुँ ।
म फूलहरू फ्याँक्दिनँ,
बरु तिनलाई यसरी झस्काउँछु कि
तिनका पत्र-पत्रले सिञ्चित गरून् नयाँ पराग,
जसले फुलाओस् अनन्त क्रान्तिको नवीन आभा ।
मेरो रक्तनलीमा नदी होइन,
प्रतिशोधको धारा बग्छ
जहाँ-जहाँ म बग्छु,
त्यहाँ झूठका सेतुहरू भत्किन्छन्
र बन्छन् सत्य अनि समानताका
चिरस्थायी पुलहरू ।
म एक यस्तो क्षण हुँ,
जसले इतिहासको काख च्यातेर
भोलिलाई पुनः लेख्छ– समन्यायको इतिहास !
म दमनको मृत अनुहारलाई सहअस्तित्वको रोगन लगाई
मानवताको अङ्कुर बनाउँछु ।
त्यो बेला म बोल्नेछैन,
शब्दमा सौन्दर्य भर्नेछैन
म त बीभत्स रूपमा भत्किनेछु,
अनि मात्र मेरा टुक्राहरूले
सत्यको पूर्ण आकृति बनाउनेछन्
जसलाई दुनियाँले चिन्नेछ–
‘प्रतिकार’ भनेर ।
तेह्रथुम
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



