कविता: तिमी कहिल्यै नरोकिनु
अनु अर्याल
म भन्छु–
छोरी ! तिमी आफ्नै भरोसामा उड्नै पर्छ
तिमीले आकाश छुने सपनाभन्दा पहिले
हिँड्दा लड्ने जमिनका खाडलहरू पुरिनुपर्छ ।
यहाँ सधैँ तिम्रो पक्षमा
हुँदैन तिम्रो आफ्नै समय पनि
त्यसैले खुसीका गोरेटोहरू
तिमीले आफैँ निम्त्याउनुपर्छ,
कहिलेकाहीँ स्वार्थमा दबिन सक्छन्
तिम्रै सत्यताका कथाहरू ।
भविष्यका कथाहरू कोरिरहँदा
त्यहाँ दन्कने आगोलाई तिमी आफैँले निभाउनुपर्छ ।
एकातिर अस्तित्व जोगाउन स्वार्थ प्राथमिकता होला
अर्कोतिर माया, प्रेम र घृणाको यथार्थ चिन्नुपर्छ ।
तिम्रो चञ्चलताले कसैलाई हानि नहोस्
तिम्रो मौनताले कसैको बदनामी नहोस् ।
छोरी ! तिमी स्वभावले सधैँ सुन्दरताकी रानी हुनुपर्छ
आफ्नै संस्कारले भरिपूर्ण महारानी हुनुपर्छ ।
जे छ, जस्तै छ,
मनमा कहिलेकाहीँ स्वार्थ भरिए पनि
भावनालाई बुझ्न सक्ने तिमी प्रेमको खानी बन्नुपर्छ ।
त्यसैले छोरी ! तिमी कहिल्यै नरोकिनु
तिमी त कलकल बग्ने पवित्र गङ्गाको पानी हुनुपर्छ ।
धनगढी, कैलाली


