कविता: विश्वासको भग्नावशेष !
सलिन विष्ट
जब पहिलोचोटि
उसको आँखामा आँखा जुधाएँ
मैले आफ्नो अनन्त भविष्यको खाका देखेँ,
उसको हाँसो–
मेरो उदास दिनहरूका लागि प्रकाश बन्यो
उसको मौनता पनि
मेरो कानका लागि मिठो धुन बन्यो ।
मैले त जीवनको हरेक पानामा
उसको अटुट साथको हस्ताक्षर खोजेको थिएँ,
मेरो सम्पूर्ण अस्तित्वको आधार
उसकै विश्वासको धरहरामाथि
खडा गरेको थिएँ ।
तर मैले बुझ्न सकिनँ–
समयसँगै त्यो धरहरा भित्रभित्रै
कसरी छिद्र र कमजोर हुँदै गएछ !
अचानक एक बिहान,
जब सूर्य उदाएको थिएन
उसले मेरो सपनाको मन्दिरमाथि
शंकाको घन बर्साई,
मेरा प्रतिबद्धता र समर्पणका वर्षहरू
उसको एउटै झूटो आरोपअगाडि
अर्थहीन कागज बने !
ऊ टाढा भई,
सँगसँगै लिएर गई मेरो आत्मपरिभाषा
आज म यो भग्नावशेषमा उभिएको छु,
जहाँ प्रेमको अवशेष होइन
केवल अधुरो विश्वासको धूलो मात्र उडिरहेछ ।
मान्छे भन्छन्–
समयले हरेक घाउ पुर्छ रे !
तर विश्वासमा लागेको चोट
समयको बलियो औषधिले पनि
नमेटिने अदृश्य दाग रहेछ ।
यहाँ सम्बन्धको मृत्यु
शरीरको बिछोडले हुँदैन रहेछ
यो त
हृदयभित्रको विश्वासको हत्याले हुने रहेछ ।
म त आज पनि मायाको त्यो अर्थ बुझ्छु
जसलाई उसले
अर्थहीन सामान ठानी फालिदिई ।
हो, म त्यो कथाको पात्र हुँ
जसले विश्वासलाई भगवान् मानेर पुज्यो,
तर उसले पुजेको भगवान्
पत्थरको मूर्तिभन्दा पनि
ठोस र निर्दयी निस्कियो ।
म असफल प्रेमी होइन,
म त ठगिएको विश्वासी हुँ
जो आफ्नो टुटिसकेको सत्य लिएर
समाजको अगाडि मौन छ !!
बनेपा-१२, काभ्रे


