कविता: मौन सङ्घर्ष
विमला चौधरी
मलाई मेरै जीवन
अचानक भारी लाग्न थालेको छ,
अलिक धेरै नै थकान
आफैँभित्र बास बस्न थालेको छ ।
रहरहरू हावासँगै कतै उडिसके
सपनाहरू लास जलेझैँ
धेरैअघि खरानी भइसके ।
मेरो अनुहारको चमक
अलिक फिका देखिन थालेको छ
ओठको हाँसो कुन्नि कता गुम्सिन थालेको छ,
तलबलिएका ती आँखाहरू पनि अब
सुकेर निसास्सिएको जस्तो लाग्छन् ।
कण्ठबाट निस्किन खोज्ने
ती आवाजहरू पनि
अब छायाझैँ हराइदिन्छन्,
चुपचाप आफ्ना पैताला सार्दै छु
बाटो मुर्दाघरजस्तै शून्य लाग्छ ।
त्यसैले होला सायद,
बोल्ने-बोलाउने कोही छैन
साथ र हात कसैको आउँदैन,
तर पनि पहाडजस्तै अडिग छु म ।
मान्छे भन्छन्–
समयले हरेक घाउ पुर्छ रे !
तर विश्वासमा लागेको चोट
समयको बलियो औषधिले पनि
नमेटिने अदृश्य दाग रहेछ ।
मौनताभित्रको कोलाहलले मलाई
झन्-झन् पत्थरजस्तै मजबुत बनाउँदै छ,
अडिग बनाउँदै छ ।
अमरबस्ती, कञ्चनपुर


