कविता: मौन सङ्घर्ष
विमला चौधरी
मलाई मेरै जीवन
अचानक भारी लाग्न थालेको छ,
अलिक धेरै नै थकान
आफैँभित्र बास बस्न थालेको छ ।
रहरहरू हावासँगै कतै उडिसके
सपनाहरू लास जलेझैँ
धेरैअघि खरानी भइसके ।
मेरो अनुहारको चमक
अलिक फिका देखिन थालेको छ
ओठको हाँसो कुन्नि कता गुम्सिन थालेको छ,
तलबलिएका ती आँखाहरू पनि अब
सुकेर निसास्सिएको जस्तो लाग्छन् ।
कण्ठबाट निस्किन खोज्ने
ती आवाजहरू पनि
अब छायाझैँ हराइदिन्छन्,
चुपचाप आफ्ना पैताला सार्दै छु
बाटो मुर्दाघरजस्तै शून्य लाग्छ ।
त्यसैले होला सायद,
बोल्ने-बोलाउने कोही छैन
साथ र हात कसैको आउँदैन,
तर पनि पहाडजस्तै अडिग छु म ।
मान्छे भन्छन्–
समयले हरेक घाउ पुर्छ रे !
तर विश्वासमा लागेको चोट
समयको बलियो औषधिले पनि
नमेटिने अदृश्य दाग रहेछ ।
मौनताभित्रको कोलाहलले मलाई
झन्-झन् पत्थरजस्तै मजबुत बनाउँदै छ,
अडिग बनाउँदै छ ।
अमरबस्ती, कञ्चनपुर
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



