कविता: छेपारोको मौन गाथा
डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
छेपारो–
जीवन बदल्न सक्ने एक मौन यात्री
हिँड्छ अनगिन्ती उकाली-ओराली,
रुखका हाँगा, घरका छत र भित्ताहरूमा
तिनका विशाल घर र आँगनहरूमा ।
कहिले दौडिँदै र टाँसिँदै भित्ता-भित्तामा
कहिले लुकामारी खेल्दै धाँजा-धाँजामा,
अनि रमाउँदै-रमाउँदै खेल्छ अँध्यारामा ।
दूरबिन घुमाएर संसार हेर्दै
समयको कठघरामा उभिँदा,
हतारोमा रङ बदल्दै जोगाउँछ जीवन ।
मेटाउँछ भोक र प्यास छेपाराहरूले
छलावरणको ‘क्रोमाटोफोर’ चलाउँदै ।
वातावरण र मौसममा घुलिँदै
बदलेर शरीरमा इन्द्रेनी रङ,
सिकाउँछ पाठ मानवलाई–
उसकै शरीरको कागजमा
विभिन्न रङका शब्दहरू पोतेर,
असहजतामा सहजताले बाँच्ने तरिकाको
सन्तुलन र सहअस्तित्वको ।
स्वर्णिम बगैँचाभित्र रङमङ्गिँदै
घाम-जुनको टलकमा टल्कँदै,
औँसीको रातमा जुर्मुराउँदै
प्रकृतिकै छालहरूसँगै बगाउँछन्
शरीरभित्र कविताका धाराप्रवाहहरू ।
लेखेर रङहरूले जीवनका कथाहरू
कहिले दौडन्छ मौसमी छलाङ हान्दै,
शरीरमा ‘बायोलोजिकल’ घडी चलाउँदै ।
घामको किरणमा बनेर सुनौलो रङ
छाया र शीतलमा बनेर रातो रङ,
सहन्छ कहिले तापक्रमको उकालो
सहन्छ कहिले कठ्याङ्ग्रिँदो ओरालो ।
रङको घारीभित्र
बजाउँदै धम्मजेदीको घण्टी
गर्दै सूचनाको सम्प्रेषण–
आक्रामकता, क्षेत्रीयता र प्रेमलहरीको ।
वसन्तमा फेर्छ छानो–
रातो, गुलाबी वा निलो-हरियो
औडाहा गर्मीमा फेर्छ छानो–
निलो वा हल्का हरियो,
शरदमा लिप्दै पोत्छ भित्ता–
खैरो वा माटो रङको ।
भित्ताकै सहारामा
कहिले आकासिन्छ त कहिले पातालिन्छ
भित्ताकै गामबेसी गर्दै भन्छ ऊ–
“जीवन भनेको परिवर्तनशील साहस हो ।”
हिजोआजका मानिसहरू
काँतर छन् र त डराउँछन्
तर ऊ बलभद्र कुँवर र भक्ति थापा बन्दै
बुन्छ युद्ध-योजना र रणनीतिको जालो ।
घाइते बनी पुच्छरै काटिए पनि
कमजोर ठान्दैन
घाम थाकेर अन्धकारमा बेरिएसँगै
ऊ पनि बस्छ मौनतामा,
सुरु गर्छ नयाँ अध्यायको
बिहानीको मिर्मिरे किरणसँगै ।
बन्दै प्रकृतिको क्रान्तिको मौन सैनिक
हान्छ मार शत्रुजीवहरूको,
जोगिँदै शिकारी शत्रुहरूबाट ।
ऊ मानव र कृषिकर्मीको
एक शान्त र चतुर मित्र
युद्ध-कौशलताको पारखी,
प्रकृतिको सच्चा पहरेदार,
जीवविज्ञानको जिउँदो प्रयोगशाला
वातावरण र प्रकृति जोगाउने
एक मौन गाथा ।
नागार्जुन-१०, स्युचाटार, काठमाडौँ


