कविता: मौन मृत्युका साक्षी
सङ्गीता खरेल ‘सङ्गी काली’
खुसीको पोल्टामा लुकाएर राखेको आँसुलाई
एक्लोपनको सन्नाटामा पोख्नुको सुखानुभूति,
घडीको टिक-टिक आवाजले पनि
त्रासदीको शंखघोष गरेको चिच्चाहट !
आफ्नै छायाले गरेको लुकामारीसँगैको छल
च्यातिएको फूलजस्तो यत्रतत्र छरिएका सपना,
सपनालाई एकैठाउँ समेट्न गरिएको
अथक र असफल प्रयास ।
जिउने आशामा लागेको कालो बादल
बादल हटाउन आउने धैर्यतारूपी पवन,
निराशाको सुलीमा ठोकिएका
अपमानका ती तीखा किलाहरू ।
पटक-पटक मृत बनेको जीर्ण तन
स्मृतिका अनुपम पल जतन गरेर,
ताराहरू मलामी बनी बगरको छेउमा
दागबत्ती पाउने आशामा
कुरिरहेको एउटा जिउँदो लास ।
चन्द्रागिरि-८, काठमाडौँ


