Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

लघुकथामा एक प्रयोग अङ्क: ३० | हाम्रो कथाघर

पुस १३, २०८२

कविता: मौन मृत्युका साक्षी | हाम्रो कथाघर

पुस १३, २०८२

कविता: छेपारोको मौन गाथा | हाम्रो कथाघर

पुस १३, २०८२

कविता: मौन सङ्घर्ष | हाम्रो कथाघर

पुस १३, २०८२

कविता: विश्वासको भग्नावशेष ! | हाम्रो कथाघर

पुस १३, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » लघुकथामा एक प्रयोग अङ्क: ३० | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क: ३० | हाम्रो कथाघर

लघुकथा स्तम्भ - लघुकथामा एक प्रयोग
नन्दलाल आचार्यनन्दलाल आचार्यपुस १३, २०८२1K Views
शेयर गर्नुस Facebook Twitter Copy Link Email WhatsApp
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest


नेपाली आख्यान, समालोचना र नाट्य विधामा सुपरिचित नन्दलाल आचार्यको जन्म उदयपुरको ठोक्सिला, जहडामा वि.सं. २०३० असार २८ गते भएको हो। स्नातकोत्तरसम्मको शैक्षिक योग्यता हासिल गरी शिक्षण पेसामा संलग्न रहँदा पनि उहाँले साहित्यमा आफ्नो एक विशिष्ट पहिचान बनाउनुभएको छ। साहित्यलाई जीवनधर्म मान्ने आचार्यले आफ्नो कलमलाई ‘लौरो’, मनलाई उपन्यास र संवेदनालाई ‘शल्यक्रिया’को विषय बनाउँदै सिर्जनात्मक यात्रालाई निरन्तरता दिनुभएको छ।

उहाँका प्रकाशित कृतिहरूले उहाँको बहुआयामिक साहित्यिक व्यक्तित्वलाई उजागर गर्छन्। ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ (नाट्यकृति), ‘गरूराहा’ (उपन्यास), ‘एकहाते जीवन’ (निबन्धसङ्ग्रह), ‘पुण्य कार्कीको कथाकारिता’ (समालोचनासङ्ग्रह), ‘लौरो’ (लघुकथासङ्ग्रह) र ‘शल्यक्रिया’ (कथासङ्ग्रह) जस्ता कृतिहरूले उहाँलाई बहुविधामा कलम चलाउने स्रष्टाको रूपमा स्थापित गरेका छन्। संवेदनशील दृष्टिकोणका साथ सामाजिक विषयवस्तुको कलात्मक उठान गर्नु उहाँको लेखनको प्रमुख विशेषता हो।

नेपाली साहित्यमा, विशेषगरी लघुकथा विधामा, ‘उत्तरकथा’ लेखनको प्रयोग थालनी गर्ने श्रेय आचार्यलाई नै जान्छ। विश्व साहित्यमा प्रचलित यस परम्परालाई नेपाली माटोमा मलजल गर्दै उहाँले एक नौलो आन्दोलनको प्रारम्भ गर्नुभएको छ।

यसै प्रयोगलाई निरन्तरता दिँदै उहाँले हाम्रो कथाघरको “लघुकथामा एक प्रयोग” स्तम्भ सञ्चालन गर्दै आउनुभएको छ। यस स्तम्भमा उहाँले प्रत्येक पटक तीन स्रष्टाका लघुकथा छनोट गरी तिनको विश्लेषणात्मक समीक्षा गर्नुका साथै तिनै कथामा आधारित उत्तरकथाहरू पनि सिर्जना गर्नुहुन्छ। यसरी उहाँले समीक्षा र सिर्जनालाई एकैसाथ अगाडि बढाउँदै नेपाली लघुकथामा एउटा नवीन र महत्वपूर्ण आयाम थप्नुभएको छ।

प्रस्तुत छ “लघुकथामा एक प्रयोग”को
नयाँ ३० औँ श्रृङ्खला


१. लघुकथा: चेतनाको आह्वान
✒ लक्ष्मी रिजाल

एक बिहान युवराजले आफ्नी दिदीलाई भने, “सुन्नुस् दिदी, ‘ज्ञान’ पनि अब बजारको मीठो आवाजमा प्याक भएर बिक्न थाल्यो ।”

दिदी अचम्ममा परिन्, “कस्तो कुरा गरेको भाइ? ज्ञान कसरी बिक्छ?”

त्यसबखत गाउँको टोलभरि ओशोका अडियोहरू गुञ्जिन थालेको धेरै भइसकेको थियो। आवाज मधुर, विषयवस्तु आकर्षक र प्रस्तुति यति जादुमय कि युवादेखि वृद्धसम्म सबै आफ्नो दुःख र सङ्घर्ष बिर्सेर एक किसिमको कृत्रिम शान्तिमा हराएका थिए।

युवराजले हाँस्दै भने, “जसले आवाजलाई मीठो र आकर्षक बनायो, भीडले उसैलाई गुरु मान्न थाल्यो। यो आवाजको नशा हो, जसले मानिसलाई सोच्न र प्रश्न गर्नबाट वञ्चित गर्छ।”

युवराजलाई मीठो आवाजले होइन, मानिसको हराउँदै गएको आफ्नै चेतनाले पोल्थ्यो। उनीहरूको शक्ति बाहिरी आडम्बरमा समर्पित भइरहेको थियो।

एक साँझ उसले केही उत्सुक युवालाई भेला गरेको थियो। “बाहिरको गुरुको आवाज सुन्नु अनिवार्य छैन,” त्यस भेलामा उसले दृढतापूर्वक भनेको थियो, “तर यो आवाजको नशा काटेर आफूभित्रको सत्य सुन्ने हिम्मत चाहिन्छ।”

एक युवाले प्रश्न गरेको थियो, “तर त्यो आवाज सुन्दा त मनमा गहिरो शान्ति मिल्छ नि!”

युवराजले बोली एकाएक दह्रो बनाएको थियो, “निद्रामा पनि शान्ति मिल्छ, तर निद्राले जीवनको यथार्थ बदलिँदैन। क्षणिक शान्तिले समाज बदल्न सक्दैन, हामीलाई जागरण चाहिएको हो।”

सबैको अनुहारमा गहिरो सोचाइ झल्किएको थियो। त्यो मौनता चिर्दै युवराजले अन्तिम र निर्णायक प्रहार गरेको थियो– “हामीले सुन्ने कान होइन, जागृत हुन सक्ने आँखा खोज्नुपर्छ। आवाजले होइन, चेतनाले मुक्ति दिन्छ। नत्र बाहिरी गुरु बलियो बन्छ र जनता आफ्नो शक्तिको स्रोत बिर्सेर झनै कमजोर बन्छन्।”

यतिबेला उही युवराज भन्न थालेको छ, “आफ्नो जीवनको गुरु आफैँ बनौँ, नशाबाट जागृत होऔँ।”

–०००–
❀❀❀

❛लघुकथा टिप्पणी❜
☞ जीवनवादी कोणबाट लक्ष्मी रिजालको ‘चेतनाको आह्वान’ लघुकथाको शल्यक्रिया
✒ नन्दलाल आचार्य

यो लघुकथा ‘चेतनाको आह्वान’ ले आधुनिक अध्यात्मको बजारवादी प्रवृत्ति र यसले व्यक्तिमा पार्ने मनोवैज्ञानिक प्रभावमाथि एक सशक्त जीवनवादी दृष्टिकोण प्रस्तुत गरेको छ। युवराजको माध्यमबाट कथाकारले व्यक्तिको स्वनिर्णय र आन्तरिक शक्तिको जागरणलाई केन्द्रमा राखेका छन्, जुन जीवनवादको मूल मर्म हो।

१. बजारको ज्ञान र मीठो आवाजको भ्रम (The Marketized Knowledge and the Illusion of Sweet Voice)

युवराजको पहिलो भनाइ, “‘ज्ञान’ पनि अब बजारको मीठो आवाजमा प्याक भएर बिक्न थाल्यो,” ले आजको उपभोक्तावादी समाजमा अध्यात्म कसरी एक ‘उत्पादन’ (Product) बनेको छ भन्ने स्पष्ट पार्छ। यो नै कथाको पहिलो चोटिलो प्रहार हो। जीवनवादी कोणबाट हेर्दा अस्तित्ववाद (Existentialism) ले हरेक व्यक्तिलाई स्वतन्त्रता (Freedom) र जिम्मेवारी (Responsibility) का साथमा हेर्छ। तर, जब ज्ञानलाई ‘मीठो आवाज’ र ‘आकर्षक प्रस्तुति’ मा प्याक गरिन्छ, तब त्यो ज्ञान श्रोताको आलोचनात्मक सोच (Critical Thinking) लाई बाइपास गरेर सीधै भावनात्मक स्तरमा प्रवेश गर्छ। यसले व्यक्तिलाई आफ्नो जीवनको दर्शन आफैँ निर्माण गर्ने कठिन बाटोबाट विचलित गराई एउटा तयारी समाधान (Ready-made Solution) तिर डोर्‍याउँछ। बजारको मधुर आवाजले व्यक्तिलाई उसको मौलिक अस्तित्वको सङ्घर्षबाट भाग्न प्रेरित गर्छ। ‘ओशोका अडियो’ को प्रयोगले कथालाई विशिष्ट सामाजिक र सांस्कृतिक सन्दर्भ दिएको छ। ‘आवाजको नशा’ र ‘कृत्रिम शान्ति’ जस्ता पदावलीले बाहिरी आडम्बरमा आश्रित शान्तिभन्दा आन्तरिक चेतनाको शान्ति कति फरक हुन्छ भन्ने कलात्मक भिन्नता देखाउँछ।

२. कृत्रिम शान्ति र यथार्थको अस्वीकार (Artificial Peace and the Denial of Reality)

लघुकथाले गाउँलेहरू आफ्नो दुःख र सङ्घर्ष बिर्सेर ‘कृत्रिम शान्ति’ मा हराएको उल्लेख गर्छ। युवाले ‘गहिरो शान्ति’ मिलेको प्रश्न गर्दा युवराजले दिएको जवाफ यस कथाको दार्शनिक शिखर हो। जीवनवादका अनुसार, जीवन भनेको असहजता, चिन्ता (Angst), र अस्तित्वको सङ्घर्ष (The Struggle for Existence) हो। दुःख र सङ्घर्षलाई बिर्सनु वा कृत्रिम शान्तिमा हराउनु भनेको आफ्नै अस्तित्वको यथार्थबाट पलायन (Bad Faith/Escape) हुनु हो। युवराजको तर्क, “निद्रामा पनि शान्ति मिल्छ, तर निद्राले जीवनको यथार्थ बदलिँदैन,” ले शान्तिको क्षणिक अनुभूतिभन्दा जीवनको यथार्थपरक जागरण (Awakening) लाई महत्त्व दिन्छ। जीवनवादीहरू पलमा शान्तिको खोज गर्नुभन्दा क्षणभङ्गुरता र अर्थहीनता (Absurdity) को सामना गर्नुपर्नेमा जोड दिन्छन्। क्षणिक राहत दिने बाहिरी गुरुको मीठो आवाज एक प्रकारको अध्यात्मिक मादकता (Spiritual Intoxication) मात्र हो। समाज बदल्न र वास्तविक मुक्ति पाउनका लागि ‘शान्ति’ भन्दा ‘जागरण’ महत्त्वपूर्ण हुन्छ। जागरणले व्यक्तिलाई उसको दुःखको मूल कारणमाथि प्रश्न गर्न र कर्म (Action) गर्न प्रेरित गर्छ।

३. आन्तरिक शक्तिमाथिको समर्पण (Surrender to External Power)

युवराजलाई मानिसको ‘आफ्नै चेतना हराउँदै गएको’ र ‘शक्ति बाहिरी आडम्बरमा समर्पित’ भएकोले पोल्थ्यो। यो समर्पणले व्यक्तिलाई ‘कमजोर’ बनाउँछ। यो जीवनवादी ‘गुरु’को समस्या (The Problem of the Guru) माथिको टिप्पणी हो। जब एक व्यक्तिले आफ्नो सत्य (Truth) सुन्नको सट्टा बाहिरी गुरुको आवाजलाई परम सत्य मान्छ, तब उसले आफ्नो प्रामाणिकता (Authenticity) गुमाउँछ। ऊ आफ्नो जीवनको निर्माता (Creator) बन्नुको सट्टा ‘गुरु’ को विचारको दास (Slave) बन्छ। जीवनवादले हरेक व्यक्तिलाई आफ्नो जीवनको पूर्ण र निरपेक्ष गुरु (Absolute Master) आफैँ बन्न आह्वान गर्छ। अन्तिम वाक्य, “बाहिरी गुरु बलियो बन्छ, र जनता आफ्नो शक्तिको स्रोत बिर्सेर झनै कमजोर बन्छन्,” ले एक खतरनाक सामाजिक समीकरण प्रस्तुत गर्छ। यहाँ ‘गुरु’ केवल आध्यात्मिक नेता नभई शक्तिशाली संस्था (Powerful Institution) वा सत्ता (Authority) को प्रतीक बनेको छ, जसले जनताको चेतनालाई नियन्त्रण गर्न चाहन्छ।

४. निष्कर्ष : जागृत आँखा र स्व-गुरुत्व (The Awakened Eye and Self-Mastery)

युवराजको निर्णायक आह्वान छ– “हामीले सुन्ने कान होइन, जागृत हुन सक्ने आँखा खोज्नुपर्छ। आवाजले होइन, चेतनाले मुक्ति दिन्छ।” कथाको अन्त्यले जीवनवादको सारलाई समाहित गरेको छ। बाहिरी श्रवण (Hearing) ले परनिर्भरता सिर्जना गर्छ, जबकि आन्तरिक दृष्टि (Seeing) वा जागृत आँखाले आत्म-बोध र स्वतन्त्रता दिन्छ। ‘आवाज’ संसारको हल्ला हो, तर ‘चेतना’ आफ्नो मौलिक अस्तित्वको पहिचान हो। जीवनको नशा काट्ने र आफैँ गुरु बन्ने निर्णय (Choice) गर्नु भनेको आफ्नो अस्तित्वलाई आफैँ परिभाषित (Self-definition) गर्नु हो। लघुकथाको समापनमा युवराजले दिएको सन्देश, “आफ्नो जीवनको गुरु आफैँ बनौँ, नशाबाट जागृत होऔँ,” ले व्यक्तिलाई आफ्नो अस्तित्वको सम्पूर्ण जिम्मेवारी लिन र अद्वितीय, मौलिक जीवन जिउन प्रेरित गर्छ। यो कथा सरल भाषामा गहिरो दार्शनिक प्रश्न उठाउने शक्तिशाली कलाकृति हो, जसले आधुनिक समाजको अध्यात्मिक व्यापारमाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ।

❀❀❀

❛उत्तरकथा❜
लघुकथा: विवेकको विष्फोट
✒ नन्दलाल आचार्य

“गुरु बन्न त सजिलो रहेछ युवराज, तर अनुयायीको दासताबाट मुक्त हुन गाह्रो!” त्यसपछि दिदीले युवराजको आँखामा हेर्दै भनिन्।

गाउँमा अब अडियो होइन, युवराजकै ‘मौनता’ को चर्चा थियो। मानिसहरू उसलाई नयाँ ‘मुक्तिदाता’ मान्न थालेका थिए। युवराज झस्कियो– कतै ऊ आफैँ अर्को प्याकेज त बनिरहेको छैन?

उसले तत्कालै सबैलाई चौरमा भेला गरायो। भीडमा कसैले सोध्यो, “अब हामीले कसको मार्ग पछ्याउने त?”

युवराजको स्वरमा आकस्मिक गम्भीरता र दार्शनिक दृढता मिसियो, “मेरो विचारलाई मूर्ति नबनाऊ, त्यसलाई ढुङ्गा बनाएर पुरातन अन्धविश्वासको सिसा फुटाऊ।”

उसले प्रगतिशील भावमा थप्यो, “मैले तिमीहरूलाई उभिन सिकाएको हुँ, ममाथि ढल्किन होइन। जबसम्म तिमीहरू मेरो सहारा खोज्छौ, तबसम्म तिमीहरू मुक्त होइन, मात्रै मालिक फेरिएका बँधुवा हौ।”

त्यो साँझ गाउँमा कुनै गुरुको भजन बजेन, बरु प्रत्येक घरमा आत्म-समीक्षाको दियो बल्यो। अन्त्यमा युवराजले बोली फ्याँक्यो– “मुक्ति कुनै ओँठको उपदेशमा होइन, आफ्नै पसिनाको गन्ध र प्रश्न गर्ने आँटमा लुकेको हुन्छ।”

❀❀❀


२. लघुकथा: जिजीविषा
✒ दुर्गा वनवासी

श्मशानमा जलेका विभिन्न चिताबाट बाँकी रहेका सानाठूला दाउरा र चोइटाहरू खोलाको बगरमा यत्रतत्र छरिएका थिए। जुनजुन चिताका ती दाउराहरू थिए, ती चितामा जलाइएका शरीरका आत्माहरू मध्यरातमा तिनै दाउरामाथि बसेर गफ गर्न थाले।

एउटा आत्माले भन्यो– “मेरो बाइकलाई त्यो असत्ती ट्याङ्करले ठक्कर नदिएको भए यति चाँडै त्यो सुन्दर शरीर छाड्नुपर्दैनथ्यो नि मैले!”

दोस्रो आत्मा उदास हुँदै बोल्यो– “त्यो पैसामुखी डाक्टरले लापरवाही नगरेको भए म पनि यसरी असमयमै शरीरबाट छुट्नुपर्दैनथ्यो।”

तेस्रो आत्माले बोझिलो स्वरमा भन्यो– “ती स्वार्थी नेताहरूको लहैलहैमा लागेर बन्दुक नसमातेको भए म पनि यो सुन्दर संसारमा सशरीर घुमिरहेकै हुन्थेँ। कत्ति न शहीद बन्ने लहड लिएर जीवन बलिदान दिएँ, न कदर भयो, न परिवारले नै केही पायो!”

अर्को आत्माले भन्यो– “तिमीहरूभन्दा पनि दुःखद कथा त मेरो पो छ। मातापिताको मृत्युपछि दाइले अंश ठग्यो भनेर मुद्दा हालेँ। आफ्नै दाजुले गुन्डा लगाएर यो गति पारिदियो। श्रीमती रोइरहेकी देख्छु, छोराछोरी निःसहाय देख्छु। न सान्त्वना दिन सक्छु, न त छुन नै। बरु मुद्दा नहालेकै भए हुने रहेछ।”

यस्तै असन्तुष्टि र जिजीविषाका कारण शरीर छाडेको दुई सय वर्षसम्म पनि प्रेतकल्पमै रुमल्लिइरहेको एक प्रेतात्मा ती नयाँ आत्माहरूका अतृप्ति र गुनासाहरू सुनेर अलिकति मुस्कुराइरह्यो।

–०००–
❀❀❀

❛लघुकथा टिप्पणी❜
☞ जीवनवादी कोणबाट दुर्गा वनवासीको ‘जिजीविषा’ लघुकथाको शल्यक्रिया
✒ नन्दलाल आचार्य

दुर्गा वनवासीद्वारा लिखित लघुकथा ‘जिजीविषा’ (जिउने इच्छा) ले मृत्युपछिको अवस्थाबाट जीवनको गहिरो अर्थ र मानवीय अस्तित्वको महत्त्वलाई उजागर गर्छ। लघुकथा श्मशानको पृष्ठभूमिबाट सुरु हुन्छ, जहाँ जलेका चिताका अवशेषहरू वरपर मध्यरातमा चार नयाँ आत्माहरू जम्मा भएर आ-आफ्नो अकाल्पनिक र अप्रत्याशित मृत्युका कारणहरूमाथि गुनासो गर्दैछन्। यी आत्माहरूले अभिव्यक्त गरेका अतृप्ति र असन्तुष्टिले उनीहरूको जीवनप्रतिको प्रबल मोहलाई दर्साउँछ। पहिलो आत्माले दुर्घटनाका कारण, दोस्रोले डाक्टरको लापरवाहीका कारण, तेस्रोले राजनीतिक बहकाउमा लागेर र चौथोले सम्पत्ति विवादका कारण ज्यान गुमाएको बताउँछन्। उनीहरूको यो गुनासो केवल मृत्युको कारणप्रतिको आक्रोश मात्र नभएर अधुरो र अपूरो जीवन प्रति गरिएको पश्चात्ताप हो। यही बेला, दुई सय वर्षदेखि प्रेतकल्पमा भौंतारिइरहेको एक पुरानो प्रेतात्मा उनीहरूका गुनासा सुनेर मुस्कुराउँछ। यो मुस्कान नै कथाको कलात्मक र ज्ञानबर्द्धक उच्चतम बिन्दु हो। यो मुस्कानले नयाँ आत्माहरूको अपरियक्वता र जीवनको निरन्तरताको शाश्वत सत्यलाई सङ्केत गर्छ। ‘जिजीविषा’ को मूल दर्शन जीवनप्रेम, कर्मको महत्त्व र स्वीकार्यतामा आधारित छ।

१. जिजीविषाको शाश्वतता (The Eternity of the Will to Live)

मृत्युपछिको मोहका कारण लघुकथामा आत्माहरूले व्यक्त गरेका गुनासाहरूले मृत्युलाई स्वीकार गर्न नसकेको अवस्थालाई देखाउँछ। हरेक आत्माको कथनले उनीहरू अझै पनि शारीरिक रूपमा संसारमा रहन चाहन्थे भन्ने स्पष्ट पार्छ। बाइकको सुन्दरता, पारिवारिक प्रेम, राजनीतिक आदर्श र सम्पत्तिको लडाइँ, यी सबै भौतिक र भावनात्मक मोहहरू जीवनका अभिन्न अङ्ग हुन्, जसलाई छोड्न आत्माहरू तयार छैनन्। यसले जीवन जतिसुकै दुःख, कष्ट वा विसङ्गतिले भरिएको भए पनि, जिउने इच्छा (जिजीविषा) मानिसको आधारभूत प्रवृत्ति हो भन्ने बुझाउँछ। जीवनलाई हामी जति सामान्य मान्छौं, मृत्युको मुखमा पुग्दा त्यसको मूल्य उति नै बढी हुने रहेछ भन्ने सन्देश कथाले दिन्छ।

२. कर्म र नियतिको दर्शन (The Philosophy of Action and Destiny)

आत्माहरूले आफ्नो मृत्युको दोष बाह्य कारण (ट्याङ्कर, डाक्टर, नेता, दाजु) लाई दिन्छन्। यो मानवीय स्वभाव हो, आफ्नो दुर्भाग्यको कारण अरूलाई देखाउनु । तर, जीवनवादी दृष्टिकोणले हेर्दा, यी घटनाहरू मानवीय कर्म (कर्मफल) र नियतिको चक्रका उपज हुन्। तेस्रो आत्माले ‘शहीद बन्ने लहड’ लिएर बलिदान दिएको तर कदर नभएको गुनासो गर्नुले, कुनै पनि ठूलो लक्ष्य वा आदर्शको पछि लाग्दा त्यसको सम्भावित परिणाम र त्यसको स्वीकार्यताका लागि तयार हुनुपर्छ भन्ने सन्देश दिन्छ। चौथो आत्माको पश्चात्ताप (‘बरु मुद्दा नहालेकै भए हुने रहेछ’) ले पनि गल्ती गरिसकेपछि त्यसको अपरिहार्य नतिजालाई स्विकार्न नसकेको अवस्था देखाउँछ।

३. प्रेतात्माको मुस्कान र ज्ञानको परिपक्वता (The Smile of Acceptance)

दुई सय वर्षको अनुभवका सन्दर्भमा कथामा सबैभन्दा महत्त्वपूर्ण पात्र त्यो प्रेतात्मा हो, जो दुई सय वर्षसम्म प्रेतकल्पमा रुमल्लिनुको अर्थ हो– ऊ पनि आफ्नो जीवनकालमा कुनै ठूलो अतृप्ति बोकेर मरेको थियो। उसको लामो समयको प्रेतयोनी यात्राले उसलाई यो बुझाइ दिएको छ कि नयाँ आत्माहरूको अहिलेको विलाप पनि उसले कुनै समय गरेको विलापजस्तै अस्थायी र अर्थहीन छ। प्रेतात्माको मुस्कानले जीवनको खेल समाप्त भइसकेपछि गुनासो गर्नुको कुनै अर्थ छैन भन्ने गहिरो ज्ञानलाई प्रतिनिधित्व गर्छ। यो मुस्कानले जीवनमा आइपर्ने सुख, दुःख, प्राप्ति र क्षतिलाई शान्त भावले स्वीकार गर्ने परिपक्वतालाई दर्शाउँछ। यो स्वीकार्यता नै जीवनवादको वास्तविक दर्शन हो।

४. कथाको कलात्मकता र प्रभाव

कथाको विम्ब र भाषाशैली सरल भए पनि प्रभावकारी छ। ‘श्मशान’ को भयावह र उदास वातावरणमा आत्माहरूले ‘सुन्दर संसार’ को मोह व्यक्त गर्नु, तथा ‘जलेका दाउरा’ माथि आत्माहरू बसेर गफ गर्नु जस्ता विम्बहरूले कथालाई दार्शनिक उचाइ दिएका छन्। र आत्माहरूको प्रत्यक्ष संवादले पाठकलाई उनीहरूको दुःख र पश्चात्तापसँग सहजै जोड्छ। हरेक संवाद समाजको यथार्थ (दुर्घटना, स्वास्थ्यको लापरबाही, राजनीतिक दुरुपयोग, पारिवारिक किचलो) को प्रतिविम्ब हो। कथाको अन्त्यमा प्रेतात्माको मौन मुस्कानले पाठकलाई एकैछिन घोत्लिन बाध्य बनाउँछ। यो अन्त्यले कुनै पनि स्पष्ट जवाफ नदिई जीवनको रहस्य र स्वीकार्यताको गहिरो प्रश्न छाडेर जान्छ, जुन उत्कृष्ट लघुकथाको विशेषता हो। निष्कर्षमा, ‘जिजीविषा’ ले जीवनलाई यसरी चित्रण गरेको छ कि, मृत्युले पनि यसलाई पूर्ण रूपमा मेटाउन सक्दैन। जीवनवादी कोणबाट, यो कथाले हामीलाई वर्तमानमा बाँच्न, आफ्नो कर्मको फललाई स्वीकार गर्न र बाह्य कारकहरूमा दोष थोपर्नुभन्दा आन्तरिक शान्ति खोज्न प्रेरित गर्छ। वास्तविक जिजीविषा शरीर त्यागेपछि संसारमा रुमल्लिनुमा होइन, जिउँदो छँदै आफ्नो जीवनलाई पूर्णताका साथ बाँच्नुमा छ।

❀❀❀

❛उत्तरकथा❜
लघुकथा: जिजीविषाको भोलि
✒ नन्दलाल आचार्य

“अब त के गर्ने त?” नयाँ आत्माहरूको करुण प्रश्न सुनेर दुई सय वर्षे प्रेत मुस्कुरायो। “रोइरहने कि बदलिने?” उसले सोध्यो।

बाइक दुर्घटनामा मरेको आत्मा चिच्यायो, “म फेरि जन्मिएँ भने सडक नियम तोड्नेहरूविरुद्ध बोल्छु।” डाक्टरको लापरवाहीले मरेको आत्मा भन्यो, “म जनताको स्वास्थ्य अधिकारका लागि लड्छु।” बन्दुक बोकेको आत्मा झस्कियो, “म युद्ध होइन, चेतनाको राजनीति रोज्छु।” अंश ठगिएको आत्मा आँसु पुछ्दै भन्यो, “म न्यायलाई अदालत होइन, समाजबाट सुरु गर्छु।”

प्रेतले खोलातिर औँला ठड्यायो– “यहाँ बगेको पानी जस्तै जीवन पनि निरन्तर छ। शरीर मर्छ, तर चेतना मर्नु हुँदैन। परिवर्तन चाहिने हो भने अर्को जन्म कुर्नु पर्दैन, आजै बाँचेकाहरूको दिमाग हल्लाउनुपर्छ।”

अचानक बिहानको पहिलो उज्यालो फैलियो। प्रेत हरायो, तर उसको आवाज बाँकी रह्यो— “मृत्यु गुनासो होइन, विद्रोह सिकाउने पाठ हो।”

❀❀❀


३. लघुकथा: सस्ती देवी
✒ रचना शर्मा

घरभन्दा केही परको चौतारोमा मानिसहरूको बाक्लो उपस्थिति देखेर जगतले बाटोमा हिँड्दै गरेका काकालाई सोध्यो, “काका! त्यो चौतारोमा केको जमघट हो?”

“हिजो त तेत्राजनाले खबर गर्दै हिँडेका थिए, थाहा पाएनौ र?” काकाले प्रतिप्रश्न गरे।

“म त अस्ति पोखरा गएर आज बिहानै आइपुगेको। केही थाहा छैन, काका।”

“ए… हो र ? बढ्दै गएको प्राकृतिक तथा दैविक प्रकोपले पुर्‍याएको क्षतिबारे कसरी समाधान गर्ने भन्ने छलफल हो। म पनि त्यतै जाँदैछु, हिँड तिमी पनि।”

गफिँदै दुवै जना चौतारोतिर लागे। गाउँका मुखिया बा भन्दै थिए, “यस्ता प्रकोप कम गर्न देवीदेवताहरूको श्रद्धापूर्वक पूजा गर्नुपर्छ।”

जगतले भन्यो, “मुखिया बा! मैले पोखरामा विन्ध्यवासिनीको पूजा गरेर केही रकम दान गरेँ।”

“म पनि केही दिनअघि मनकामनामा कालो बोको चढाएर आएको हुँ,” काकाले सुनाए।

“म महोत्तरीको त्रिशूली देवी मन्दिरमा सुनको हार चढाउने विचारमा छु,” शरणले भन्यो।

सबैका कुरा सुनेपछि मुखिया बा बोले, “सुन, चाँदी, हिरामोती जडित महँगी देवीले होइन, हामीले समयअनुसार बदलिनुपर्छ। अब सस्ती देवीको पूजा गरौँ।”

“सस्ती देवी?” सबै चकित भए।

“हो, सस्ती देवी। टाढा जानु पर्दैन,” मुखिया बाले भने, “कोरोनाले लोग्ने गुमाएकी साईँली, छोरा गुमाएकी वृद्ध आमा र पहिरोमा बाआमा गुमाएका दुई बालिका, यिनै सस्ती देवी हुन्।”

–०००–
चितवन

❀❀❀

❛लघुकथा टिप्पणी❜
☞ जीवनवादी कोणबाट रचना शर्माको ‘सस्ती देवी’ लघुकथाको शल्यक्रिया
✒ नन्दलाल आचार्य

रचना शर्माको लघु कथा ‘सस्ती देवी’ ले सतही धार्मिकता र वास्तविक मानव सेवा बीचको गहिरो विरोधाभासलाई जीवनवादी (Humanistic) दृष्टिकोणबाट सशक्त रूपमा प्रस्तुत गरेको छ। कथाको सरल बुनावटभित्र जीवनका मर्मस्पर्शी सत्यहरू र बदलिँदो सामाजिक चेतनाको आवश्यकता लुकेको छ।

१. लघुकथाको बुनोट र संरचनागत सौन्दर्य

लघुकथाको आरम्भ जिज्ञासाबाट हुन्छ। पात्र जगतले चौतारोमा भएको जमघटबारे सोध्नु कथालाई मूल विषयवस्तुतिर डोर्‍याउने प्रारम्भिक कडी हो। प्राकृतिक र दैवी प्रकोपको समाधान खोज्ने उद्देश्यले गाउँलेहरू भेला हुनु कथाको मुख्य सेटिंग हो। मुखिया बा, जगत, काका र शरणका सुरुवाती संवादहरूले परम्परागत समाजको कर्मकाण्डीय चेतनालाई प्रतिनिधित्व गर्दछन्। उनीहरू प्रकोपको समाधान टाढाका महँगा मन्दिरहरू, दान र महँगा भेटीहरूमा खोज्छन्। यहाँ जीवनको दुःख निवारणका लागि भौतिक वस्तु (सुन, चाँदी, बोको) लाई माध्यम बनाउने सतही धार्मिकता माथि व्यङ्ग्य गरिएको छ। परिवर्तनको मोड (Turning Point) कथामा छ। मुखिया बा को दोस्रो अभिव्यक्ति नै सम्पूर्ण कथाको मुख्य विन्दु हो। उनले ‘महँगी देवी’ को पूजा छोडेर ‘सस्ती देवी’ को पूजा गर्नुपर्ने तर्क प्रस्तुत गर्छन्। ‘सस्ती देवी’ शब्दको प्रयोगले पाठक र पात्र दुवैलाई चकित पार्छ, जसले कथामा तत्कालको चासो र गहनता सिर्जना गर्छ। ‘सस्ती देवी’ को परिचयपछि कथाको उद्देश्य स्पष्ट हुन्छ: प्रकोपले पीडित वास्तविक मानिसहरू (कोरोनाले श्रीमान् गुमाएकी साइँली, छोरा गुमाएकी वृद्ध आमा, पहिरोमा आमाबाबु गुमाएका दुई बालिका) नै हाम्रो श्रद्धा र सेवाका जीवित देवी हुन्।

२. जीवनवादी शल्यक्रिया (Humanistic Analysis)

जीवनवादी दर्शनले मानवको मूल्य, गरिमा र क्षमता माथि जोड दिन्छ। यस कथालाई यही दर्शनको लेन्सबाट हेर्दा तीन मुख्य ज्ञानबर्द्धक पक्षहरू भेटिन्छन्:
क. मानव दुःखको वास्तविक स्वरूप: कथाले प्राकृतिक वा दैवी भनिएका प्रकोपहरूले पुर्‍याएको क्षतिलाई अमूर्त नभई प्रत्यक्ष मानव पीडा का रूपमा चिनाउँछ। “कोरोनाले लोग्ने गुमाएकी साईँली, छोरा गुमाएकी वृद्ध आमा र पहिरोमा बाआमा गुमाएका दुई बालिका” यो वाक्यांश कुनै मूर्ति वा अदृश्य शक्ति नभई जिउँदो जीवनका अपूरणीय क्षतिहरू हुन्। जीवनवादले मानिसको यहाँ र अहिलेको पीडालाई सर्वोच्च प्राथमिकता दिन सिकाउँछ। कथाले देखाउँछ कि, सुनको हार वा कालो बोकाले यी मानिसहरूको भावनात्मक र भौतिक शून्यतालाई भर्न सक्दैन। उनीहरूलाई चाहिने सहानुभूति, सहयोग, र मानवीय सहारा हो।
ख. धर्म र कर्मकाण्डको पुनःपरिभाषा: परम्परागत रूपमा धर्मलाई मन्दिर, मूर्ति, भेटी र दान सँग जोडेर हेर्ने गरिन्छ, जसले साधन (पैसा, वस्तु) लाई साध्य (शान्ति, कल्याण) भन्दा माथि राख्छ। मुखिया बाको ‘सस्ती देवी’ को अवधारणाले धार्मिकताको अर्थलाई भक्तिबाट सेवामा रूपान्तरण गर्दछ। उनी तर्क गर्छन् कि महँगी देवी (भौतिक सम्पत्तिमा आधारित पूजा) को पूजा गर्नुभन्दा सस्ती देवी (मानव सेवामा आधारित पूजा) को सेवा गर्नु बढी श्रेयस्कर छ। यो नै जीवनवादी दृष्टिकोण हो, जसले सचेत कर्म (Conscious Action) लाई निष्क्रिय प्रार्थना भन्दा महत्त्वपूर्ण मान्छ।
ग. ज्ञानबर्द्धक सन्देश: धर्म भनेको ठूला भवन होइन, ठूलो हृदय हो। मन्दिर वा धाममा गरिने महँगो दानभन्दा आफ्नै समुदायका निराश्रित र पीडित मानिसहरूलाई सहयोग गर्नु नै सर्वोत्तम पूजा हो। यसले मानवतालाई नै देवत्व प्रदान गर्दछ।

३. समयअनुसार बदलिने चेतनाको आह्वान

मुखिया बाको यो भनाइ आधुनिक जीवनवादको मूल निचोड हो: “सुन, चाँदी, हिरामोती जडित महँगी देवीले होइन, हामीले समयअनुसार बदलिनुपर्छ। अब सस्ती देवीको पूजा गरौँ।” कथाले परम्परागत सोचमाथि प्रश्न गर्दै वर्तमानको चुनौती (प्रकोपबाट सिर्जित मानवीय सङ्कट) लाई सम्बोधन गर्न मानिसले आफ्नो सोच र कार्यशैली परिवर्तन गर्नुपर्ने अनिवार्यता औंल्याएको छ। आजको युगमा दैवी प्रकोपको समाधान केवल पूजा होइन, बरु सक्रिय सामाजिक कार्य, सहयोग र मानव केन्द्रित विकास हो। ‘सस्ती देवी’ शब्दले परम्परागत देवीको महँगोपन र मानवीय सेवाको निःशुल्कता/सहजता बीचको तुलनालाई अत्यन्तै कलात्मक ढङ्गले प्रस्तुत गरेको छ। ‘सस्ती’ शब्दले यी पीडित मानिसहरूको आर्थिक अवस्थालाई मात्र नभई उनीहरूको सेवा गर्नका लागि ठूलो धनको आवश्यकता नहुने (केवल सद्भाव र सहयोगको आवश्यकता हुने) सन्देश पनि दिएको छ।

४. निष्कर्ष

‘सस्ती देवी’ एक सरल कथा भए पनि यसले मानवकेन्द्रित दर्शनलाई प्रखरताका साथ उठान गरेको छ। कथाको अन्त्यले पाठकलाई आत्मनिरीक्षण गर्न बाध्य बनाउँछ: हामी आफ्नो समस्याको समाधानका लागि कहाँ खोज्दैछौं, महँगा पत्थरमा वा जीवनको धरातलमा? यस लघु कथाको शल्यक्रियाले देखाउँछ कि वास्तविक मोक्ष वा कल्याण को बाटो मन्दिरको गजुरबाट होइन, बरु सडकको किनारमा रहेका पीडित मानवको सेवा बाट मात्र सम्भव छ। यसले परम्परागत अन्धविश्वास भन्दा मानवीय सद्भावलाई माथि उठाउनुपर्ने ज्ञानबर्द्धक सन्देश दिन्छ।

❀❀❀

❛उत्तरकथा❜
लघुकथा: सस्ती देवीपछि
✒ नन्दलाल आचार्य

“त्यसो भए पूजा कहिलेदेखि?” जगतको प्रश्नले चौतारो झन् चुप लाग्यो। मुखिया बाले सास ताने, “आजैदेखि।” “कसरी?” शरणले सोध्यो। “दानपेटिका होइन,” मुखिया बाले स्पष्ट भने, “हात खोल्ने, आँखा खोल्ने र सोच बदल्ने पूजा।”

काकाले हिम्मत गरे, “साईँलीलाई सहकारीमा जोडौँ, वृद्ध आमाको उपचार गाउँकै कोषबाट गरौँ, ती दुई बालिकालाई पढाउने जिम्मा लिऊँ।” भीडमा खुसखुसाहट चल्यो। एक युवक बोल्यो, “देवी रिसाउँदिन?” मुखिया बाले जवाफ दिए, “देवी तब रिसाउँछिन्, जब हामी जिम्मेवारीबाट भाग्छौँ।”

त्यसैबेला साईँली आई। उसले शिर निहुराएर भनिन्, “म पूजा होइन, काम चाहन्छु।” वृद्ध आमाले थपिन्, “म भाकल होइन, औषधि चाहन्छु।” दुई बालिकाले एकै स्वरमा भने, “हामी मूर्ति होइनौँ, भविष्य हौँ।”

❀❀❀

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

नन्दलाल आचार्य लघुकथामा एक प्रयोग

यो पनि पढ्नुहोस्...

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: २१ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क: २९ | हाम्रो कथाघर

कविता : एकादेशको कथा | जीवन सोनी

लघुकथामा एक प्रयोग अङ्क: २८ | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: २० | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क: २७ | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: २१ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क: २९ | हाम्रो कथाघर

उपन्यास: गरुराहा भाग: ४ | नन्दलाल आचार्य | हाम्रो कथाघर

यौनकथा: काम–रतिको पुनर्जन्म | हाम्रो कथाघर

भर्खरै

लघुकथामा एक प्रयोग अङ्क: ३० | हाम्रो कथाघर

पुस १३, २०८२

कविता: मौन मृत्युका साक्षी | हाम्रो कथाघर

पुस १३, २०८२

कविता: छेपारोको मौन गाथा | हाम्रो कथाघर

पुस १३, २०८२

कविता: मौन सङ्घर्ष | हाम्रो कथाघर

पुस १३, २०८२

कविता: विश्वासको भग्नावशेष ! | हाम्रो कथाघर

पुस १३, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.