कथा: अर्की आमा
कथाकार: देबकी के. सी.
रेखा तरुनी भइसकेकी थिइन्। उनका दुई बहिनी र एक भाइले आफैँ जीवनसाथी रोजिसक्दा पनि रेखाले भने जोडी भेट्न सकेकी थिइनन्। त्यसको एउटै कारण थियो— रेखा अनपढ थिइन्। भाइ-बहिनीले पढे, आफैँले रोजेर घरजम पनि बसाले, तर रेखा जहाँको तहीँ रहिन्।
रेखा सानो छँदा उनका आमाबाबा निकै गरिबीको चपेटामा थिए, त्यसैले उमेर छँदा उनलाई स्कुल पठाउने चासो गरेनन्। उनलाई घरधन्दामा सघाउनकै लागि राखियो। पछि छिमेकका सबै र आफ्नै भाइ-बहिनीहरू स्कुल गएको देखेर जसोतसो रेखालाई पनि स्कुल त भर्ना गरिदिए। तर, बालकक्षाका भर्खरका दुधे बालबालिकाहरूसित बसेर कखरा सिक्न रेखालाई लाज लाग्थ्यो। किनकि उनको उमेर ती बालकक्षाका साथीहरूभन्दा निकै बढी भइसकेको थियो। उनको शरीर पुटुक्क परेको थियो। अरू सिँगान बगाउने बालबालिकाभन्दा रेखा छिप्पिएकी र राम्री देखिन्थिन्। तैपनि स्कुल जाने रहरले गर्दा आफूभन्दा सानाहरूसित बसेर उनी कखरा सिक्ने गर्थिन्।
तर एकदिन, कक्षाका सबै विद्यार्थीहरूको अगाडि नै आफूलाई कखरा सिकाउने मास्टरले उनको स्तन च्याप्प समातेपछि रेखा डर र लाजले भुतुक्क भइन्। उनमा न त मास्टरलाई गाली गर्ने शब्द थियो न त प्रतिकार गर्ने साहस नै। त्यस दिनदेखि स्कुलप्रति नै यस्तो वितृष्णा जाग्यो कि, रेखाले स्कुलमा पाइला राख्नु त के, स्कुलतिर फर्केर पनि हेरिनन्।
कखरा सिक्दै गर्दा मास्टरको गिद्धे नजरमा परेर स्कुल छाड्न बाध्य भएकी रेखा अब त तरुनी पनि भइसकेकी थिइन्। बिहे गर्नलाई परिपक्व भएकी रेखामा बाहिरी सुन्दरताको त कमी थिएन, कमी थियो त मात्र शिक्षाको। त्यही कारण उनीसित बिहे गर्न कुनै पनि केटाहरू तयार भएनन्।
भाइ-बहिनीकै छोराछोरी स्याहार्दै रेखाको जवानी ओइलिँदै गएको पत्तो भएन। गाउँमा सबैले कुरा काट्न थाले— “रेखा त बुढीकन्या पो भई,” “रेखालाई त कुनै केटाले पनि बिहे नगर्ने भो रे,” “रेखा त नबिक्ने भई, जवानी नै खेर जाने भो।” गाउँलेहरूको यस्तो कुराले मन निकै दुख्थ्यो, तर उनको मन दुखेको कसले बुझ्थ्यो र?
रेखालाई पनि बिहे गर्ने रहर नलागेको कहाँ हो र? आफ्नो उर्लँदो बैँसका रहरलाई निमोठेर बाँचेकी थिइन् रेखा। आफ्ना भाइ-बुहारी र बहिनी-ज्वाइँ हात समातेर जिस्कँदै हिँडेको देख्दा रेखाको मन लोभिन्थ्यो। ‘मेरो पनि यस्तो जोडी कहिले होला?’ उनी सोच्थिन्। छिमेकमा छोरीहरू बच्चा च्यापेर माइती आएको देख्दा रेखा आफूलाई मुस्किलले सम्हाल्थिन्। कुनै केटाले नहेरेपछि बिहे गर्ने रहर जागेर मात्र के गर्नु? अरूको जोडी हेरेर कल्पनाको सागरमा डुबुल्की मार्नु बाहेक विकल्प नै के थियो र? जति केटा आए पनि उनको शिक्षाको स्तरलाई निहुँ बनाएर उम्कन्थे। यस्तो लाग्थ्यो, यो संसारमा उनको लागि केटा बनेकै छैन अर्थात् उनको भाग्यमा बिहे भन्ने लेखेकै छैन।
बल्लतल्ल आकाश-पाताल खोजेजस्तै गरी उनको लागि एउटा केटा फेला पर्यो। त्यो पनि अर्धानु। अर्काको लोग्ने। पेसाले प्रहरी, नाम श्यामबाबु। पाँच वर्षअघि स्वास्नी पोइला गएकी रे। श्यामबाबुको दस बर्से छोरा राहुल थियो। आफू जागिरे भएकोले छोराको रेखदेख गर्ने मान्छेको अभाव र आफ्नो प्यास मेटाउनको लागि उसले बिहे गर्न आँटेको थियो।
‘नहुनु मामाभन्दा त कानो मामा नै जाति’ भनेझैँ, रेखाको बिहेकै लागि एउटा केटा फेला पार्न नसकेको बेला परिवारले श्यामबाबुलाई नै उपयुक्त ठानेर रेखाको बिहे गरिदिए। रेखालाई ‘बुढीकन्या’ भनेर गिल्ला गर्नेहरूको मुखमा पनि बिर्को लाग्यो। “रेखाजस्तो अनपढ र बुढीकन्याले पनि श्यामबाबुजस्तो जागिरे लोग्ने पाई, रेखा त भाग्यमानी रैछे,” एकपटक फेरि समाजले उनको चर्चा गर्यो।
अर्धानु लोग्ने भए पनि समाजको तीखो व्यङ्ग्य सुन्नुभन्दा त रेखालाई त्यही लोग्ने ठीक लाग्यो। रेखाले लोग्ने त पाइन् तर राहुलको मायामा कमी आउने डरले श्यामबाबुले राखेको ‘सन्तान नजन्माउने’ (मातृत्व बन्द गर्ने) बिहे अघिकै सर्तलाई रेखाको परिवारले स्वीकार गरेको थियो। बल्लतल्ल पाएको केटा फेरि उम्किएला भन्ने डरले परिवारले उसको सर्त स्वीकार त गरे, र रेखाले पनि परिवारको निर्णय विरुद्ध विद्रोह गर्न सकिनन्। अर्धानु लोग्नेबाट रेखाले लोग्नेको सामिप्यता त पाइन्, तर मातृत्वमा बन्देज लगाउनुपरेकोमा उनी निकै दुखी थिइन्।
रेखालाई बच्चाको हेरविचार गर्न खुब मन पर्थ्यो। आफ्ना भाइ र बहिनीहरूका बच्चा रेखाले नै हुर्काएकी थिइन्। तर आज आफ्नै कोखमा तगारो लाग्दा उनी चुप लाग्न विवश थिइन्। आफू अर्धानु भएर पनि श्यामबाबुले कुमारी केटी भोग गर्न पायो, आफ्नो छोरा राहुलको हेरविचार गर्ने आइमाई पायो। उसका त सबै आवश्यकता पूरा भए। तर रेखाले त केवल आफ्नो ओइलिँदै गएको वैँशमा रङ्ग भर्न लोग्ने मात्र पाइन्, मातृत्व गुमाइन्। आफैँले सन्तान जन्माएर आफ्नो लाम्टो चुसाउँदै आनन्द लिने त्यो अवसर गुमाइन्। उनले मात्र शरीर न्यानो पार्ने लोग्ने पाइन्।
मातृत्वको अनुभव गर्न नपाएर पिरोलिएको उनको मनले सधैँ राहुललाई सौताको छोरा होइन, आफ्नै सन्तान देख्यो। उनी राहुललाई अत्यन्त माया गर्दै छोरा भन्थिन्। तर राहुलले उनलाई कहिल्यै पनि ‘आमा’ भनेन, भन्यो त केवल ‘अर्की आमा’। उसको ‘अर्की आमा’ भन्ने शब्दले रेखाको मन छियाछिया भयो। तर पनि उनले राहुललाई केही भन्न सकिनन्। उसलाई केही भन्नु त के, कड्के नजरले हेर्न पनि श्यामबाबुले रेखालाई बन्देज गरेका थिए। राहुलमाथि एक शब्द कडा बोले त श्यामबाबु रेखामाथि जाइलाग्थे।
दिक्क लाग्थ्यो रेखालाई आफू ‘अर्की आमा’ भएकोमा। उनले मनमनै अनुभूति गर्न थालेकी थिइन्— आफूले कोखमा राखेर बच्चा जन्माउँदा भन्दा पनि गाह्रो हुँदो रैछ सौतेली आमा बन्न अर्थात् ‘अर्की आमा’ बन्न।
एकदिन राहुलको स्कुल जाने बेला हुँदै थियो। पोलिस गरेर टल्काएको राहुलको जुत्ता बोकेर रेखा उसको कोठामा पसेकी मात्र के थिइन्, राहुलले बेस्सरी रिसाउँदै भन्यो, “मेरो जुत्ता समातेर दाग किन लगाइदिएको अर्की आमा?”
फेरि एकपटक उसको मुखबाट निस्केको ‘अर्की आमा’ शब्दले रेखाको आँखा रसाउन थाले। राहुल रिसाएको देखेर श्यामबाबु पनि रेखामाथि खनिँदै भने, “अलच्छिना आइमाई! एउटा बच्चालाई माया गर्न पनि आउँदैन?” श्यामबाबुको त्यो शब्दले रेखाको मनमा निकै गहिरो चोट लाग्यो, दुखाइले रेखाका आँखाबाट आँसु बर्बती खस्न थाले।
श्यामबाबुसित बिहे हुँदा सबैले भन्थे— रेखा भाग्यमानी रैछ, बुढीकन्या भए पनि सरकारी जागिरे लोग्ने पाई। बिहे गरेकै दिन आमा हुन पाई। बोक्ने-ब्याउने टन्टानै नगरी आमा बन्न पाई रेखा। तर समाजले सोचेजस्तो रेखा ‘आमा’ कहिल्यै बन्न सकिनन्। रेखा बनिन् त केवल सौतेली आमा र राहुलको नजरको ‘अर्की आमा’। सायद अब रेखा यो जुनीमा आमा बन्न सक्तिनन्, सिवाय ‘अर्की आमा’।
–०००–
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



