कथा: पाठशाला
कथाकार: रामहरि पोखरेल
आज वि.सं. २०२९ साल फागुन ७ गते । हाम्रोमा संसदीय चुनावको नतिजा प्रकाशित भएको दिन । नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार क. हेम विष्ट अत्यधिक बहुमतले विजयी भए । हामीले विजय जुलुस निकाल्ने भयौँ ।
एउटाले भन्यो— “काँग्रेसको जित हुँदा नारा–जुलुस केही गरेन त ! हामीले चाहिँ किन गर्ने ?”
अर्कोले भन्यो— “हामी काँग्रेसजस्तो हो र ? उसले जे गर्यो, त्यही गर्नुपर्ने !”
यसैको कुराले बहुमत पायो; जुलुस गरिने भयो ।
नारा लेखियो–
इन्क्लाब– जिन्दावाद !
नेपाल कम्युनिस्ट पार्टी– जिन्दावाद !
नेता हेम विष्ट– जिन्दावाद !
राजतन्त्र– मुर्दावाद !
पञ्चायती व्यवस्था– मुर्दावाद !
नारामा विवाद भयो ।
“पुछारका दुईटा नारा हटाउनुपर्छ,” एउटाले तर्क राख्यो, “यदि त्यो नारा लगायौँ भने हामी सबैलाई पुलिसले खोरमा हाल्छ ।”
अर्कोले भन्यो, “सबै नारा लगाउनुपर्छ, खोरमा मात्र होइन; हामी सबै मर्न पनि तयार छौँ ।”
धेरैजसोले उसकै भनाइमा सही थापे, “हो, हो; हामी मर्न पनि तयार छौँ !”
अब नारा स्वीकृत भयो । जुलुस पनि हुने भयो ।
सिन्धुली जिल्लाभरिमा जिल्ला सदरमुकाम माडी बजारको ढुङ्ग्रेबजारमा एउटा मात्र हाई स्कुल थियो– कमला हाई स्कुल ।
टाढाबाट पढ्न आउने विद्यार्थीहरू भाडामा बस्नु पर्थ्यो । हाई स्कुलनजिकैको गाउँ राममाडीमा चारवटा भाडाका घरहरू थिए । घरहरू छुट्टाछुट्टै तर परस्परमा नजिकै थिए । यी चारवटा घरमा डेरा गरेर बाईसजना विद्यार्थी बस्दथे ।
त्यसबेला पञ्चायतको निरङ्कुश हुकुमी शासन थियो । कसैले पनि सरकारको विरोध गर्न पाउँदैनथ्यो । दल खोल्न वा सभा–संगठन गर्न प्रतिबन्ध थियो ।
तर हामी भने प्रत्येक वर्ष संसदीय चुनाव गर्थ्यौं । चुनावको बेला हामी आपसमा पञ्चायती व्यवस्थाको विरोधमा खुलेर बहस गर्थ्यौं । हाम्रो चुनाव क्षेत्रमा धेरै कम्युनिस्ट र थोरै काँग्रेस थिए ।
कम्युनिस्ट पार्टीले लगातार तीनवटा चुनाव जितेपछि पनि काँग्रेसहरू निराश भएका थिएनन्; यसपालिको चुनावमा उनीहरूले राम्रै सक्रियता बढाएका पनि थिए, तर यसपालि पनि चुनाव कम्युनिस्टले नै जित्यो ।
चुनावको पूर्वसन्ध्यामा उम्मेदवार हेम विष्ट र प्रेम थापा हाम्रो डेरामा प्रचारप्रसारको क्रममा आएका थिए । प्रेम थापाले भनेका थिए, “यसपालिको चुनावमा पनि हामीले हेम विष्टलाई जिताउनुपर्छ; यसमा माल्दाइको के भनाइ छ ?”
हाम्रा माल्दाइले भनिदिए, “तिमीहरूलाई जिताएर के गर्नु; बिँडी खानसमेत दिँदैनौ !”
माल्दाइलाई ‘धुम्रपान निषेध क्षेत्र’ घोषणा गरिएको कुरा मन परेको रहेनछ । त्यसैले माल्दाइले असन्तोष व्यक्त गरे । आफूलाई परेको मर्का पोखे । माल्दाइलाई कम्युनिस्टहरूले अरूको व्यक्तिगत जीवनमा हस्तक्षेप गरेको पनि मन परेको रहेनछ ।
प्रेम थापाले धुम्रपानले मानिसको स्वास्थ्यमा पार्ने असर र अनाहकमा पैसा खर्च हुनेबारे विभिन्न उदाहरण दिएर प्रष्ट पारे ।
माल्दाइले केही सम्झेजस्तो गरे र प्याच्च बोले, “सिद्धान्तले मात्र व्यवहार चल्दैन हउ !”
यो वाक्य चाहिँ काँग्रेस नेता हरिबहादुरले चुनावी भाषणको क्रममा भनेको वाक्य थियो । माल्दाइले त्यो ‘कपी’ गरिराखेका रहेछन्; यतिखेर त्यसलाई ‘पेस्ट’ गरिदिए ।
हेम विष्टले माल्दाइतर्फ फर्किँदै भने, “सिद्धान्तहीन व्यवहार कि निष्क्रिय हुन्छ, कि अराजक हुन्छ । यसले कुनै पनि गन्तव्यमा पुर्याउँदैन । उदाहरणका लागि, सिद्धान्त भनेको रेलको इन्जिनजस्तो हो; व्यवहार भनेको रेलको पछाडिको डिब्बा । अब इन्जिनले डिब्बालाई तान्यो भने रेल गन्तव्यमा पुग्छ; तर यदि इन्जिन कमजोर भयो भने के हुन्छ त भन्दा डिब्बाले इन्जिन तान्न थाल्छ र दुर्घटना हुन्छ । त्यसैले कम्युनिस्टले सधैँ सिद्धान्तलाई प्रमुख स्थानमा राखेको हो ।”
माल्दाइले कुनै प्रतिवाद गरेनन्; बुझेको जस्तोगरी मन्टो हल्लाए र समर्थन जनाए ।
उनीहरू गए ।
हामी खाना खाएर सुत्ने कोठामा गयौँ ।
हामी त्यो कोठामा बस्ने तीनपाटनका पाँचजना थियौँ । पाँचैजना आ–आफ्नो सिटमा बसेपछि मैले भनेँ, “नेताहरू आएको बेला सधैँ गुन्द्रुक मात्रै पकाउन नपाइने नियम पनि बनाउनुपर्छ भन्नुपर्ने रहेछ ।”
मेरो भनाइले माल्दाइलाई अलिकति पेच परे जस्तो भयो; किनकि उनलाई गुन्द्रुकजति मिठो अरू केही लाग्दैनथ्यो । सधैँ गुन्द्रुक नै पकाउँथे । भात पनि एउटा चोइलीलाई पुन्युले दुईपल्ट काटेपछि त्रिभुजाकारका तीनवटा डल्ला हुन्थ्यो; अनि तीनवटै भातका डल्ला डुब्ने गरी गुन्द्रुक हालिदिन्थे । यस्तो खाँदाखाँदा हामी दिक्क भएका थियौँ । दिक्क भएका सबैजनाले मेरो भनाइको समर्थन गरेका थिए ।
माल्दाइले झर्किएर भने, “भोलिदेखि तिमीहरू नै भात पकाओ ।”
वास्तवमा यो उनको हामीलाई तह लगाउने अस्त्र थियो र पटक–पटक प्रयोग भइसकेको थियो; किनकि भात पकाउने आँट हामी कसैमा पनि थिएन ।
भोलिपल्ट जुलुसको तयारीमा सबै जुटे । प्लेकार्ड बनाइए । नाराहरू लेखिए । यसपटक ‘सुस्ता क्षेत्र– हाम्रो हो !’ भन्ने नयाँ नारा पनि थपिएको रहेछ । माल्दाइले ‘इन्क्लाब– जिन्दावाद !’ भनेको बुझेका थिएनन् । यो ‘सुस्ता क्षेत्र– हाम्रो हो !’ भन्ने नयाँ नारा पनि बुझेनछन् । मलाई सोधे, “कान्छा ! यो सुस्ता क्षेत्र हाम्रो हो भनेको चाहिँ के हो ?”
यो चुनाव क्षेत्रमा सबैभन्दा जेठा उनकै थिए; तर क्लासमा म अगाडि भएकाले कुनै कुरा मलाई सुटुक्क सोध्दथे । मलाई पनि यो सुस्ताबारे राम्रो जानकारी थिएन, तैपनि सुटुक्क नै भनिदिएँ, “यो कुनै ठाउँको नाउँ होला, माल्दाइ !”
माल्दाइले भने, “अनि, यो ठाउँलाई किन हाम्रो भन्नुपरेको त ?”
मैले भनेँ, “छोड्दिनुस् यी कुरा । जुलुस लाउने बेला भइसक्यो, देख्नुभएन ?… भरे डेरामा छलफल गरौँला ।”
माल्दाइ खिसिक्क हाँसे ।
जुलुस लगाउन तयारी भइसकेको थियो । हेम विष्टलाई माओको तस्बिर भएको ब्याज, अबिर र मालासमेत लगाइयो । सबैले एक–एकवटा प्लेकार्ड बोक्यौँ । माओको फोटो र महानवाणी भएको प्लेकार्ड पनि बोक्यौँ ।
जुलुसले पहिले राममाडी गाउँ परिक्रमा गर्यो । त्यसपछि हामी नुनथला गयौँ र हामीले वरिपरि घुमेर नारा–जुलुस गर्यौँ ।
नुनथला जङ्गलको बिचमा एउटा चौर थियो । खेलकुद प्रतियोगिता वा नारा–जुलुस वा भाषण त्यहीँ हुन्थ्यो । त्यहाँ जतिसुकै कराए पनि कसैले भेउ पाउँदैनथ्यो । जुलुस प्रदर्शन सकेर हामी डेरा–डेरामा पुग्यौँ । सबैलाई एउटा ठुलो युद्ध जितेको जस्तो भएको थियो ।
आज हेम विष्टले हामी सबैलाई उनकै डेरामा खाना खुवाउने भए । खाना खाएर हामी फेरि नुनथला गयौँ । नुनथलामा हामीले धीत मरुन्जेल पञ्चायतको विरोध गर्यौँ ।
हेम विष्टले भाषण गरे—
“विद्यार्थी साथीहरू !
हामीले यो संसदीय चुनाव गरेर यो निरङ्कुश पञ्चायती व्यवस्थाको सांकेतिक विरोध गरेका छौँ । र, यो प्रक्रिया देशैभर सञ्चालन हुनेछ र हामी चाँडै यो व्यवस्था अन्त्य गरेर बहुदलीय व्यवस्था ल्याउनेछौँ । पञ्चायती व्यवस्था हामी विद्यार्थीका लागि जेलसरह भयो । यहाँ विचारको स्वतन्त्रता छैन, यहाँ प्रश्न गर्ने अधिकार छैन, यहाँ सत्य बोल्ने हिम्मत गर्नेलाई ‘राजद्रोही’ भनिन्छ, ‘अराष्ट्रिय तत्त्व’ भनिन्छ । हामीले विश्वको इतिहास पढेका छौँ । समकालीन विश्व परिस्थितिसँग पनि हामी परिचित छौँ । विश्वका धेरै देशमा राष्ट्र जनताले चलाउँछन्; तर यहाँ त राष्ट्र एउटा व्यक्तिले चलाइरहेको छ । विश्वको इतिहासले भन्छ— ‘शिक्षा समाज परिवर्तनको औजार हो ।’ तर यहाँ त शिक्षालाई डर र नियन्त्रणको हतियार बनाइएको छ ।
तसर्थ, हामीलाई बोल्ने स्वतन्त्रता चाहिएको छ; पढ्ने, लेख्ने स्वतन्त्रता चाहिएको छ । पञ्चायती बन्धन तोड्न हामी सडकमा उत्रनेछौँ, पर्चा बाँड्नेछौँ, गीत गाउनेछौँ र प्रत्येक विद्यार्थीको आवाजलाई पञ्चायती निरङ्कुश व्यवस्थाको पर्खाल भत्काउन गोलबद्ध गर्दछौँ । हामी बन्दुकले होइन; कलमले लड्न चाहन्छौँ, तर जब कलमलाई रोकिन्छ, आवाजलाई दबाइन्छ; त्यो आवाज हावामा हराउँदैन, त्यो आवाज विद्रोह बन्छ !
साथीहरू !
नेपालको भूमि सुस्ता भारतले कब्जा गर्दा पनि पञ्चायती शासकहरू मौन छन् । यिनीहरू भारतलाई नेपालको भूमि भेटी चढाएर भए पनि पञ्चायती शासन टिकाइरहन चाहन्छन् । तसर्थ, हामीले हस्तक्षेपकारी भारतको पनि जोडदार विरोध गर्नुपर्दछ । जनताको शासन, जनताको संविधान र स्वतन्त्रताको पुनःस्थापनाको लागि हाम्रो लडाइँ जारी रहनेछ । हामीले विद्यार्थी नेता चिनियाँ काजीको रगतको मूल्य चुकाउनु छ । साथीहरू ! हामी मात्र पढ्ने होइन, परिवर्तन ल्याउने पुस्ता हौँ । हामीले अब इतिहास बनाउनेछौँ ।”
हेम विष्टले भाषण सके । सबैले जोडले ताली बजाए । सभा विसर्जन भयो ।
सबैजना आ-आफ्नो डेरातिर लागे । हामी आ-आफ्नो डेरामा पस्यौँ । हाम्रो डेरामा राजनीतिक विषयमा राति झन्डै बाह्र बजेसम्म नै छलफल चल्यो ।
भोलिपल्ट बिहान अलिक अबेरसम्म सुतिएछ ।
बिहान ब्युँझिएर यसो झ्यालबाट हेरेको त राइफलधारी पुलिसको बटालियन नै आएको रहेछ । तीनवटै डेराका विद्यार्थीलाई धपाउँदै हाम्रोतिर आउँदै गरेको देखियो ।
माल्दाइ सुतिरहेका थिए ।
“ए माल्दाइ ! पुलिस आयो !!” मैले अत्तालिँदै कराएँ ।
माल्दाइ लगायत सबैजना जर्याकजुरुक्क उठे ।
मैले भनेँ— “अब के गर्ने माल्दाइ ?”
“के गर्ने भन्नू !” माल्दाइले झोक्किँदै भने, “खाने बेला हँसिया खाइस; चर्पी जाँदा थापाइस !”
फेरि सम्झाउँदै माल्दाइले भने, “सबैले दुई–तीनवटा बुसकोट लगाओ; त्यहाँ चिसो फलेकमा सुत्नुपर्छ ।”
मैले पहिले कालो रङ्गको बुसकोट लगाए; त्यसपछि अर्को लगाए । अरू सबैले त्यसै गरी दुई–तीनवटा बुसकोट लगाए ।
पुलिस आइसकेको थियो । पुलिस कराउनुभन्दा अगाडि नै हामी बाहिर निस्केर पुलिससँगै बाटो लाग्यौँ । हामीलाई पुलिस थानामा लगियो र कैदी बस्ने घरभित्र हुलेर बाहिरबाट ताला लगाइदियो ।
हेम विष्टले भने, “साथीहरू ! हाम्रा लागि यो घर निर्दलीय पञ्चायती व्यवस्थालाई बुझ्ने पाठशाला हो । निरङ्कुश पञ्चायती व्यवस्थाको तानाशाही शासनका बारेमा अब हामीलाई कसैले सम्झाउनुपरेन । मानिसको वाक्स्वतन्त्रता, विरोध, असन्तोष र मतान्तरलाई यो शासन व्यवस्थामा कसरी लिइन्छ भन्ने यिनै ससाना कोठाबाट हामी सबैले स्पष्ट बुझ्ने भयौँ ।”
सबैले ताली पिटे ।
–०००–
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



