लघुकथा: सन्तुष्टिको बुझाइ
— विवेक दुलाल क्षेत्री “दमक”
ऊसित दुई-तीन पटक मर्निङ वाकमा भेट भएको हो। परिचयको पहिलो अंशमै उसले मलाई सोध्यो, “खासमा तपाईं के काम गर्नुहुन्छ?”
“केही गर्दिनँ, त्यत्तिकै घरमै बस्छु!”
मेरो उत्तरमा ऊ सन्तुष्ट देखिएन र उसले पुनः प्रश्न तेर्स्यायो, “हैन, तपाईं कुनै बिजनेस, व्यवसाय गर्नुहुन्न?”
“अहँ, गर्दिनँ त!” मेरो उत्तर खस्न नपाउँदै ऊ निकै पर पुग्यो।
म अरबमा बीसौँ वर्ष बसी फर्केर आफ्नो घर-परिवारसित बाँकी समय बिताइरहेको मान्छे। वर्तमान जिन्दगीसित सन्तुष्ट नै छु। म मर्निङ वाकबाहेक दिनचर्याको नाममा कोठेबारीमा सागपात पनि गोड्छु।
कतैबाट उसको आगमन हुन्छ र मलाई देखेर सोध्छ— “अचम्म! तपाईंलाई यति साना-साना कामबाट कसरी सन्तुष्टि मिल्छ?”
–०००–
दमक बजार-७, बगैँचामार्ग, झापा


