लघुकथा: अन्तिम पत्र
— सलिन विष्ट
राजन विदेशिएको आज आठ वर्ष भइसकेको थियो। सुरु-सुरुमा त हप्तामा एक पटक उसले घरमा फोन गर्थ्यो, पछि महिनामा एक पटक र अन्ततः वर्षौँ बिते पनि फोन आउन छोड्यो।
आमा डाँडामाथिको पुरानो घरमा एक्लै बस्न थालिन्। घरको आँगनमा रोपेको आमाको मनपर्ने गुलाब अब ओइलिँदै गइरहेको थियो। ‘आज त पक्कै मेरो छोरा आउँछ होला’ भन्ने आशामा हरेक बिहान उनी ढोकातिर हेर्थिन्।
एक दिन, गाउँका एक छिमेकीले राजनलाई खबर दियो—आमा बिरामी भएर अस्पतालमा छिन्। त्यो खबर सुन्नासाथ राजनको मुटु काँप्न थाल्यो। काम, पैसा र सुविधा सबै छाडेर ऊ तुरुन्तै घर फर्कियो। अस्पताल पुग्दा आमा निसासिँदै थिइन्। उनले मधुरो स्वरमा भनिन्, “छोरा, तिमीले सधैँ भन्यौ ‘समय छैन’ अनि मलाई फोन गर्न पनि बिर्सियौ। अब त मसँग पनि धेरै समय छैन।”
राजनको आँखाबाट अश्रुधारा झर्यो। ऊ बोल्न खोज्थ्यो, तर शब्दहरू निस्केनन्। आमाले मुस्कुराउँदै उसको हात समातिन् र बिस्तारै आँखा बन्द गरिन्।
आमाको सिरानीमुनि एउटा पुरानो चिठ्ठी थियो। त्यो आमाको अक्षरमा लेखिएको थियो, जसमा यस्तो लेखिएको थियो:
“छोरा, तिमी सफल होऊ भन्ने मेरो सपना थियो। तर सफल जीवनभन्दा ठूलो कुरा माया र समय हुने रहेछ। कहिल्यै नबिर्स, पैसा होइन, समय नै सबैभन्दा ठूलो सम्पत्ति हो। जब तिमीले समय निकालेर आफूलाई माया गर्ने र साथ दिने व्यक्तिहरूको साथमा बस्न सक्छौ, गाह्रो-साह्रो परेको समयमा सहयोग गर्न सक्छौ, त्यही नै जीवनको साँचो सफलता हो।”
राजनले त्यो चिठ्ठी ओठमा टाँस्यो। बाहिर आकाशमा घाम अस्ताउँदै थियो, तर उसको मनमा भर्खरै बिहान भएको जस्तो उज्यालो सोच जागिरहेको थियो। आमा गइसकेकी थिइन्, तर उनको शिक्षाले उसलाई फेरि नवीन जीवन जिउन सिकाएको थियो।
–०००–
बनेपा-१२, काभ्रे
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



