लघुकथा: संस्कार
— लीलाराज दाहाल
“अब नेपालीमा बोल् त फेरि? अङ्ग्रेजी मात्रै बोल् भनेर कतिपल्ट भनिसकें? नेपालीमा बोलिस् कि पिटाइ खाइस्!” बुथुरी जैसीले छोरालाई डर देखाउन हात उज्याई!
ऊ छोरालाई पढाउँदै थिई। उसले पतितर्फ हेरेर भनी, “हेरिस्यो न कालु! अहिलेको स्कुलमा पनि नेपाली पढाउँदो रहेछ! यसरी त हुँदै भएन। छोरालाई अर्को स्कुलमा सारौँ न, के!”
अब उसले छोरालाई जोडतोडले ‘राजसी’ भाषामा बोल्न सिकाइरहेकी थिई। यस्तो भाषामा बोले मात्रै मानिस संस्कारि मानिन्छ भन्ने उसमा अटल विश्वास थियो। तँ, तिमी, तपाईं जस्ता शब्द प्रयोग गर्ने वरिपरिका मान्छेहरूलाई ऊ ‘पाखे’ भन्थी। उनीहरूले सहरिया संस्कारको बर्को ओढ्न थाले पनि गाउँले मजेत्रोलाई पूर्ण रूपले त्याग्न सकेका थिएनन्। उनीहरू गाउँले परिवेश र सहरिया संस्कारको दोसाँधमा उभिएका थिए।
एकैछिनमा साइकलमा तरकारी बेच्दै आएको व्यापारीलाई छेउको गल्लीमा रोकेर हप्काउँदै सोधी, “ए भैया, आलु-प्याज कति रुपैयाँ किलो दिन्छस्?”
तरकारी किनेर फर्केपछि घरको कम्पाउन्डभित्र कुकुरको स्याहार गरिरहेका घरबेटीतिर हेर्दै उसले संस्कारजन्य भाषामा सोधी, “आज पनि यो ह्यान्सी डगले बिस्कुट, मिट खाइसेनछ दाई?”
–०००–
वाग्मती-११, कर्मैया, सर्लाही


