कविता: गधाको सवारी
कवि: सबिन पौडेल
गधालाई अघि राख्यौँ,
किनकि उसले प्रश्न गर्दैन
हामीले प्रश्न गर्न छोडेको धेरै भइसक्यो ।
उसको ढाडमा
हाम्रो विवेकको बोझ छ,
तर हामी भन्छौँ—
“यो त परम्परा हो ।”
गधा हिँडिरहन्छ
घण्टी बजाउँदै,
हामी त्यसैलाई
समयको सङ्गीत ठान्छौँ ।
जहाँ ऊ अडिन्छ,
हामी डराउँछौँ
किनकि रोकिँदा
आफ्नै छाया देखिन्छ ।
गधाको आँखामा
न स्वर्ग छ, न भविष्य,
तर हामीले उसकै दृष्टिलाई
दर्शन घोषणा गरेका छौँ ।
हामी सवार छौँ,
तर दिशा तय
लगामले होइन,
आलस्यले गर्छ ।
गधा कहिल्यै दोषी हुँदैन,
दोष त सधैँ
सवारीको मौनतामा लुकेको हुन्छ ।
यो गधाको सवारी होइन,
यो त आफू सोच्न नपर्ने
सहज बाटो रोजेको
मानवताको आत्मस्वीकार हो,
जहाँ गधा
बहाना मात्र हो ।
मन्थली-१२, रामेछाप


