कविता: साडी– सभ्यताको अनन्त यात्रा
कवि: नारायण नाथ योगी
वैदिक मन्त्रको पवित्रता, अनि सभ्यताको आदि रूप,
नारीत्वको पूर्णता झल्काउने, साडी हो दिव्य स्वरूप ।
तपोवनका ऋषिपुत्रीदेखि, राजमहलका रानीसम्म,
साडीले नै सजाएको छ, इतिहासका पाना हरदम ।
अन्यायको त्यो कुरुसभामा, जब धर्म नै मौन थियो,
द्रौपदीको अस्मिता जोगाउन, साडी नै कवच बन्यो ।
कृष्णको करुणा बनी पोखियो, त्यो अनन्त चीरको धारा,
साडी नै बन्यो नारीको शक्ति, साडी नै भयो सहारा ।
कहिले आमाको शीतल आँचल, ममताको मीठो खानी,
कहिले कुलको मर्यादा बन्दै, लज्जा जोगाउने कडी ।
यज्ञ-कुण्डको अग्नि साक्षी, या सिन्दूरको उज्यालो,
साडीबिना त अधुरो लाग्छ, हरेक मङ्गलको पाटो ।
बनारसको रेशमी जादु, ढाकाको त्यो बुट्टा भरिएको,
विश्वलाई नै लोभ्याउने गरी, कलाले यो कोरिएको ।
‘विश्व साडी दिवस’ मा, सारा जगले शिर नुहाउँछ,
आधुनिकताको भिडमा पनि, साडीले नै शान बढाउँछ ।
फेसनका हजारौँ लहर आलान्, फेरिँदै जालान् पहिरन,
तर साडीमा नै लुकेको हुन्छ, नारीको असली दर्पण ।
नछोडौँ है मौलिकता, जोगाऔँ यो अमूल्य नासो,
साडी नै हो हाम्रो गौरव, साडी नै हो खुसीको हाँसो ।
इटहरी, सुनसरी


