कविता: पाइला
कवि: सेढाई जी ‘कामदार’
आरम्भको पदचाप,
क्षितिजको बिहानीदेखि
अनन्त सन्ध्याको टुकीसम्म
नित्य, निरन्तर एकपछि अर्को
चलिरहन्छ अपेक्षासहित ।
बस्दै, उभिँदै अनि पाइला चाल्दै
जन्मको क्षितिजदेखि मृत्युको मौनसम्म,
जीवनको पाइला जिन्दगानीसँग बाँड्दै,
अपेक्षा र सपनाको डोको बोकेर—
मेरो पाइला कुर्कुच्चाका जुत्ताहरू फटाउँदै
कसैलाई नसोधी
चलिरहन्छ, चलिरहन्छ ।
उफ !
छैन ओठको हृदयमा,
हो, त्यसैले मेरो पाइला
जीवन नभए पनि
जीवित छ, अमर छ ।
सगरमाथा र अम्बर जसरी,
पाइलाको महासागर बनेर !
ईश्वरपुर-७, सर्लाही


