कविता: मौन शहर
कवि: सलिन विष्ट
म एउटा मौन शहर हुँ,
जहाँ मानिसहरू हिँड्छन्, दौडन्छन्
तर बोल्दैनन् ।
तिनीहरूका ओठहरू खुल्छन्, आवाज निस्किन्छन्
तर…
त्यो केवल एक खाली प्रतिध्वनि हुन्छ ।
यो शहरको सबैभन्दा ठूलो अभिशाप
वा शायद सबैभन्दा ठूलो सत्य—
यहाँ सम्बन्धहरू छन्, तर संवाद छैन ।
हरेक घरमा एउटै कथा छ
हरेक झ्यालमा एक अधुरो प्रश्न,
तर ती कथाहरू केवल भित्ताहरूले सुन्छन्
ती प्रश्नहरूलाई कुनै उत्तरले कहिल्यै भेट्दैन ।
हामी सँगै खाना खान्छौँ
एउटै छतमुनि निदाउँछौँ,
तर हरेक हृदयभित्र एक्लोपनको एउटा टापु छ
जहाँ सबैलाई प्रवेश निषेध छ ।
यो शहरको सडकहरूमा
खुसीका साना-साना झुटहरू छरिएका छन्,
हरेक हाँसोभित्र डरको एक तह छ—
कहीँ कतै कसैले मेरो वास्तविक पीडा
नदेखिदेओस् भन्ने डर ।
हामीले मित्रतालाई डिजिटल पर्दामा सीमित गर्यौँ
र प्रेमलाई केवल एउटा औपचारिकतामा खुम्च्यायौँ ।
म त्यो प्राचीन रूख हुँ
जसको फेदमा शपथ र प्रतिज्ञाहरू लेखिएका थिए,
तर जसका पातहरू झुटको बतासले उडाइदिए ।
मेरो जरा अझै गहिरो छ
तर माथिल्लो भाग मृत ।
यो शहरको इतिहासमा युद्धहरू भएका छैनन्
न त ठूला महामारीहरू,
तर यहाँ हरेक दिन सूक्ष्म विश्वासहरूका हत्या हुन्छन् ।
मान्छेहरू भीडमा पनि आफैँसँग कुरा गर्छन्
किनकि उनीहरूलाई थाहा छ—
यहाँ सुन्ने कानहरू छन्,
तर बुझ्ने हृदयहरू दुर्लभ छन् ।
म मौन शहर हुँ,
जहाँ सबैभन्दा ठूलो चिच्याहट
अव्यक्त भावनाहरूको झङ्कार हुन्छ ।
र मलाई थाहा छ—
जब यो मौनता टुट्नेछ,
त्यो सम्बन्धको होइन
केवल विनाशको आवाज बन्नेछ !!
बनेपा -१२, काभ्रे


