कविता: खाते म
कवि: खुनराज कोइराला
जात नेपाली, खाते मेरो थर
फुटपाथको भोजन, सडकपेटी घर ।।
खुल्ला गगन छानो सधैँ मेरो
सर्वोच्च शिखर शिर-सेरोफेरो ।।
बोतल-कागज टिप्नु नित्य कर्म
कुकुरसरह थर्काउने, खोई मानव धर्म?
शीतलहर हिउँ फुरुरुरुरुरु झर्छन्
प्राणी सजीव सब एक दिन मर्छन् ।।
ढुङ्गालाई भेटी चढाउँछन् मागी वरदान
थापे हात कण्ठ च्याप्छन् जवान,
नालीको ढल पर्फ्युमझैँ लाग्छ
इन्जिनको धुवाँ-धुलो अगरबत्तीझैँ लाग्छ ।।
खाते म, हात-खुट्टा ढलानझैँ भए
नाता खोजौँ कहाँ, खाते ख्याति पाए,
सपनाहरू थिए चन्द्र छुने
समीरझैँ बहन्छ हृदय रुने ।
खाते म नेपाली थर,
सडकपेटी मेरो घर ।
गैरीगाउँ, धादिङ


