कविता: खण्डहर सपनाको पहाड
कवि: डा. नवीनबन्धु पहाडी
आफूभरि फिँजिएका यादका बाडुल्कीहरू
खण्डहर बनेपछि उम्रिएर सिस्नु भइरहेछन्—
बिम्झनामा अतीत ।
समय नदीले छोडेको बगरजस्तै तिमी
अर्को किनारा लागेपछि,
कयौँ हिउँद र बर्खाहरू एक्लै-एक्लै
निरस बिताएँ हुँला आफ्नै छातीमा ।
उमारेर भीर-पहराका निर्जन सुसेली
सुन्नेहरू नभएरै शायद प्रतिध्वनि फर्कन्छ,
प्रतिध्वनि ठोकिन्छ—
घरि ओल्लो किनारामा, घरि पल्लो किनारामा ।
हावाले साउती मारेर जान्छ बारम्बार
र ठोकिन्छ स्पन्दनका भित्ताहरूमा—
“ए, थियो त कुनै दिन ?”
मेरो हृदयमा पनि घाम ओर्लिएर
झलमलाएका पहारहरू,
अथवा जून उदाएर उज्यालिएका यामहरू ।
खोज्छु र खोजिरहन्छु—
चौबाटोमा बाटो बिराएर अलमलिएको यात्रीजस्तो,
दोभानको जङ्घारमा बाढीले तर्न नसकेको बटुवाजस्तो ।
स्वप्निल स्मृति न रहेछ जिन्दगी,
जो थोरै उज्यालो र बाँकी सप्पै सप्पै
रमिते बनेर बिताउनुपर्छ ।
जस्तो कि—
चुनाव जितेर पनि जेलको बन्द पर्खाल पर्खिरहेको
एक भ्रष्टको डायरीजस्तो ।
ढुकढुकी अझै किन बढिरहन्छ?
स्मृति आलो घाउ बनेर बिर्सने कसरतमा नै छु ।
जस्तो नदीले छोडेको बगर—
उमार्दै छ दिलका अन्तरहरूबाट बीउ खोजेर
बैँसका सयपत्री र मखमलीहरू, गुराँस र लालुपाते ।
उस्तै त्रास बाँकी छ—
के थाहा र ?
भोलि आउने सम्भावनाका भेलहरू उर्लिएर
बगर ढाकेर नलतार्ला र ?
समय रहेसम्म हरियो पलाउनु नै छ
टुसाउनु र लहराउनु नै छ ।
लत्रिए पनि तङ्ग्रिएर उठ्नु नै छ,
भाँचिए पनि सरिरहन्छ लालुपाते
मक्किए पनि पलाइरहन्छ वरको चौतारी ।
थाहा छ, जरा टेकेर पनि फर्कन्छ खण्डहरको यौवन
झरीपछि नै हो आकाशले आँखा मस्काउने ।
हो, त्यही आकाश, त्यही जरा
र त्यही समय उम्रिरहन्छ आजकाल—
देशको मुटुबाट, तिम्रा सन्तानका कोलाजहरूबाट
बिम्झनाको खण्डहरबाट—
पर्खिरहन्छ जेल डायरी ।।
अक्षर आवास, धादिङ
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



