कविता: खण्डहर सपनाको पहाड
कवि: डा. नवीनबन्धु पहाडी
आफूभरि फिँजिएका यादका बाडुल्कीहरू
खण्डहर बनेपछि उम्रिएर सिस्नु भइरहेछन्—
बिम्झनामा अतीत ।
समय नदीले छोडेको बगरजस्तै तिमी
अर्को किनारा लागेपछि,
कयौँ हिउँद र बर्खाहरू एक्लै-एक्लै
निरस बिताएँ हुँला आफ्नै छातीमा ।
उमारेर भीर-पहराका निर्जन सुसेली
सुन्नेहरू नभएरै शायद प्रतिध्वनि फर्कन्छ,
प्रतिध्वनि ठोकिन्छ—
घरि ओल्लो किनारामा, घरि पल्लो किनारामा ।
हावाले साउती मारेर जान्छ बारम्बार
र ठोकिन्छ स्पन्दनका भित्ताहरूमा—
“ए, थियो त कुनै दिन ?”
मेरो हृदयमा पनि घाम ओर्लिएर
झलमलाएका पहारहरू,
अथवा जून उदाएर उज्यालिएका यामहरू ।
खोज्छु र खोजिरहन्छु—
चौबाटोमा बाटो बिराएर अलमलिएको यात्रीजस्तो,
दोभानको जङ्घारमा बाढीले तर्न नसकेको बटुवाजस्तो ।
स्वप्निल स्मृति न रहेछ जिन्दगी,
जो थोरै उज्यालो र बाँकी सप्पै सप्पै
रमिते बनेर बिताउनुपर्छ ।
जस्तो कि—
चुनाव जितेर पनि जेलको बन्द पर्खाल पर्खिरहेको
एक भ्रष्टको डायरीजस्तो ।
ढुकढुकी अझै किन बढिरहन्छ?
स्मृति आलो घाउ बनेर बिर्सने कसरतमा नै छु ।
जस्तो नदीले छोडेको बगर—
उमार्दै छ दिलका अन्तरहरूबाट बीउ खोजेर
बैँसका सयपत्री र मखमलीहरू, गुराँस र लालुपाते ।
उस्तै त्रास बाँकी छ—
के थाहा र ?
भोलि आउने सम्भावनाका भेलहरू उर्लिएर
बगर ढाकेर नलतार्ला र ?
समय रहेसम्म हरियो पलाउनु नै छ
टुसाउनु र लहराउनु नै छ ।
लत्रिए पनि तङ्ग्रिएर उठ्नु नै छ,
भाँचिए पनि सरिरहन्छ लालुपाते
मक्किए पनि पलाइरहन्छ वरको चौतारी ।
थाहा छ, जरा टेकेर पनि फर्कन्छ खण्डहरको यौवन
झरीपछि नै हो आकाशले आँखा मस्काउने ।
हो, त्यही आकाश, त्यही जरा
र त्यही समय उम्रिरहन्छ आजकाल—
देशको मुटुबाट, तिम्रा सन्तानका कोलाजहरूबाट
बिम्झनाको खण्डहरबाट—
पर्खिरहन्छ जेल डायरी ।।
अक्षर आवास, धादिङ


