कविता: जब म गाउँ फर्कनेछु
कवि: सुनिल बुढा ‘कछुवा’
जब म गाउँ फर्कनेछु,
लुहारबाडाका लुहार दाइ
आरनमा फलाम तताएर आकार दिइरहेका हुनेछन्।
बुढाथोकीबाडाका बुढाथोकी बाजे
भुवाका चाल सिकाइरहेका हुनेछन्।
रावतबाडी मुखिया बा
तमसुक लेखिरहेका हुनेछन्।
डाँडाघरे डाँडाघरीहरू डाँडाघरमा बसेर
को बटुवा आयो भनेर हेरिरहेका हुनेछन्।
छान्नेखोली कमरेड दाइ
रेडियोमा कमरेडहरूको खबर सुनिरहेका हुनेछन्।
भिटाघरी जेठाबुबा
बन्दुकमा बारुद भरिरहेका हुनेछन्।
टुँडेल्नी बौजू
मागल गाइरहेकी हुनेछिन्।
गैराघरे गैराघरीहरू
राताढुङ्गामा बसेर झ्याउरे गाइरहेका हुनेछन्।
मास्पिन्नेली काका
लोहोटामा पानी सारेर बटुवालाई पिलाइरहेका हुनेछन्।
कोल्बाडाकी धमेनी बज्यै
बोल्लो पारेर चाँद बुनिरहेकी हुनेछिन्।
पुजारीबाडे पुजारी
मस्टा माणुमा न्वागीको तयारी गरिरहेका हुनेछन्।
पैरा स्कूलका बालबालिका
झोलामा दुई किताब र हातमा दाउरा बोकी स्कुल गइरहेका हुनेछन्।
वनघरी बुढाकडायत बाजे
गाउँको सन्चो-बिसन्चो सोध्न गाउँ निस्केका हुनेछन्।
ढोलीबाडाका दाइ
दमाहा बजाइरहेका हुनेछन्।
थालीकोटे कान्छा दाइ
भाटेमा बाख्रा चराइरहेका हुनेछन्।
खर्केनी कान्छी बौजू
लैनो भैँसीको दूधमा खिर पकाइरहेकी हुनेछिन्।
गाउँमा यति हुँदै गर्दा म गाउँ फर्कनेछु
तर पनि म गाउँ आएको कसैलाई सुइँको हुनेछैन।
तर,
जब म गाउँबाट निस्कनेछु
तब—
लुहारबाडाका लुहार दाइ,
बुढाथोकी बाजे,
रावतबाडी मुखिया बा,
डाँडाघरे दाइ,
छान्नेखोली कमरेड दाइ,
टुँडेल्नी बौजू,
भिटाघरी जेठाबुबा,
गैराघरी,
मास्पिन्नेली काका,
धमेनी बज्यै,
पुजारीबाडाका पुजारी,
पैरा स्कुलका बालबालिका,
वनघरी बाजे,
ढोलीबाडाका दाइ,
थालीकोटे कान्छा दाइ,
खर्केनी कान्छी बौजू…
सबै-सबैले आफ्नो काम छोडेर
घरका डिलमा बसेर
आँखाका डिलसम्म आँसु बगाइरहेका हुनेछन्।
तबसम्म म परलोक भइसकेको हुनेछु।
जब म गाउँबाट फर्कनेछु
तबसम्म म स्तब्ध भइसकेको हुनेछु।
खप्तड, छेडेदह गा.पा.-०५, डोगडी, बाजुरा


