कविता: रूपमय प्रकृतिका सतभतार मानिस
कवि: सारशी भट्टराई
प्रकृति,
जहाँ गाछीको ओझेलमा बसेर
मानिस अमनको श्वास फेर्छ ।
छहराको कलकल बग्ने पानीले,
मानिसको रापिलो शरीरले
आफ्नो प्यासको तृप्ति गराउँछ ।
चराचुरुङ्गीले आफ्नो गुलियो वाणीले
मानिसको दिवसको सूत्रपात गराउँछन् ।
महीधरले सेतो तुहिनले
आफ्नो विवसन तर शोभित तन लुकाउँछ ।
वनैया पशुले आफ्नो गृह बसाउन
मनुष्यले जसरी पर्यावरणको संहार गर्दैनन् ।
आखिर किन
मानिस मात्र भिन्नाभिन्नै मरौटेको
सिकार हुन्छन् त ?
आखिर किन
आफ्नो स्वार्थका लागि मानिस
आफ्नै संहारमा लागिपरेका छन् त ?
आखिर किन
जीवधारीले मात्र थुनामा बसेर
मानिसलाई विलास गराउनुपर्छ त ?
ती जीवधारी पनि त
प्रकृतिकै कृति हुन् ।
मनुष्यले सिर्जना गरेको
अग्निवाण उड्ने नक्षत्रलोकमा
प्रकृतिद्वारा सिर्जित चराचुरुङ्गीले
किन स्वतन्त्र रूपमा
आफ्नो पखेटा फैलाउन पाउँदैनन् ?
आखिर किन
आफ्नो गृहको गरिमा बचाउन
निरपराध चराचुरुङ्गीको
गृह मास्ने कोसिस गर्दैछन् ?
बुद्धिजीवी कहलाउने
र स्वादिलो भोजनको आनन्द लुट्ने
मानिसभन्दा त
लाटो र कीटपतङ्गको आहारा गर्ने
जीवधारी नै महान् हुन्छन् ।
यिनै हुन्
रूपमय प्रकृतिका सतभतार मानिस ।
विदुर-५, माझीटार, नुवाकोट


