कविता: मक्किएको दलिन
कवि: दिवाकर भट्टराई
हरेक बिहान आँखा खुल्दा
देश देख्छु मक्किएको दलिनजस्तै ।
सतीले सरापेको भनिएको देश,
जहाँ बाँच्नुभन्दा विदेशिनु सजिलो छ ।
रेमिट्यान्सले अडिएको अर्थतन्त्र,
शान्तिको पाठ रटाइरहने राष्ट्र,
तर नागरिकलाई
शान्त भएर बाँच्न नदिने व्यवस्था ।
नक्सामा टाँसिएको देश
भित्तामा टाँगिएको छ,
वास्तविक देश भने
भ्रष्टहरूको हातमा चुँडिँदै छ ।
मनको क्यानभासमा
हरेक दिन
उही चित्र फिर्छ–
मक्किएको दलिन ।
तनहुँ


