कविता: मौनताको चित्कार: दागिएका सपना र अग्नि-शपथ
कवि: सलिन विष्ट
म एउटा उखेलिएको फूल हुँ,
जसलाई सुगन्ध लुट्नेहरूले
हिलोमा निमोठेर छोडिदिए ।
मेरो शरीरमा नीलडामहरू छैनन्,
ती त एउटा सभ्यताको अनुहारमा लागेका
अमेट कलङ्कका छिटाहरू हुन् ।
त्यो कालो रातको अन्धकारले
मेरो देह मात्र होइन,
मेरो आत्माको पवित्र मन्दिरलाई पनि
अपवित्र बनाउने दुस्साहस गर्यो ।
मैले चिच्याएँ, गुहार मागेँ,
तर ब्रह्माण्डको मौनता
यति भयानक थियो कि
मेरै आवाज ठोक्किएर
मेरै मुटुमा गाडियो ।
अनि यो समाज…!
जो मेरो घाउमा मलम लगाउन होइन,
मेरो चरित्रको अस्तित्व परीक्षण गर्न आउँछ ।
तिनीहरूका नजरहरू गिद्धझैँ छन्,
जसले मेरो पीडामा संवेदना होइन,
रमिता खोजिरहेका हुन्छन् ।
तिनीहरू भन्छन्–
“त्यो रात ऊ बाहिर किन थिई ?”
“उसको लुगा कस्तो थियो ?”
धिक्कार छ तिम्रो न्यायको तराजुलाई !
जहाँ अपराधी खुला आकाशमुनि
छाती फुलाएर हिँड्छ,
र म भने आफ्नै घरको अँध्यारो कुनामा
‘इज्जत’का नाममा जिउँदै गाडिन्छु ।
मलाई ‘अपवित्र’को छाप लगाउने यो संसार !
के तिम्रो नजर कहिल्यै
त्यो पापीको हातसम्म पुग्यो ?
मेरो आँसुलाई कमजोरी नसम्झ,
यो त मभित्र जलिरहेको
ज्वालाको पहिलो झिल्का मात्र हो ।
तिमीले मलाई ‘बलात्कृत’ भन्यौ,
मैले आफूलाई ‘विजेता’ ठानेकी छु ।
तिमीले सोचेका छौ– म टुटिसकेँ,
म अब कुनै अँध्यारो कुनामा
खुम्चिएर मर्नेछु ।
तर सुनिराख,
म त्यो फिनिक्स चरा हुँ,
जो आफ्नै खरानीबाट
पुनः जन्म लिन जानछ ।
मेरो अस्मिता
मेरो यो शरीरको छाला मात्र होइन,
मेरो अस्मिता मेरो अदम्य साहस हो ।
हो, म रोएँ,
म रातभरि कराएँ,
मैले आफ्नै हात र शरीरलाई घृणा गरेँ ।
तर अब पुग्यो !
अब म मेरो आँसुलाई हतियार बनाउनेछु ।
जुन समाजले मलाई औँला उठाएर हेला गर्छ,
भोलि त्यही समाजलाई
मेरो अस्तित्व स्वीकार्न विवश पार्ने
अठोट म आजै लिन्छु ।
तिमीले मेरो वर्तमानको फूल टिपेर फाल्यौ होला,
तर मेरो भविष्यको बगैँचा त अझै
मेरो अठोटको माटोमा सुरक्षित छ ।
अब मेरो ओठमा विलाप होइन,
एउटा भीषण गर्जन हुनेछ ।
म ती सबै पर्खालहरू भत्काउनेछु,
जसले नारीलाई
‘वस्तु’ र ‘इज्जत’का नाममा
कैदी बनाउन खोज्छ ।
म फेरि उठ्नेछु–
एउटा नयाँ बिहानीको किरण बनेर,
एउटा झुक्न नजान्ने हिमाल बनेर ।
मेरो यो नयाँ रूपमा
न कुनै सङ्कोच हुनेछ, न कुनै डर ।
म त्यो दिनको प्रतीक्षामा छैन,
म त्यो दिन आफैँ निर्माण गर्नेछु,
जहाँ न्यायले मेरो शिरलाई होइन,
अन्याय गर्नेको अहङ्कारलाई झुकाउनेछ ।
म मरेकी छैन,
म त भर्खरै मात्र आफ्नो
शक्तिमा जागृत भएकी छु ।
मेरो यो पुनरोदयले देखाउनेछ कि–
एउटी नारीलाई खरानी बनाउन खोज्नेहरू
एक दिन आफैँ त्यही ज्वालामा भष्म हुनेछन् ।
मेरो कथाको अन्त्य रोदनमा होइन,
एउटा गर्विलो विजयमा हुनेछ !
बनेपा-१२, काभ्रे
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



