कवि : असल चरित्र
खोज्दैछु
हुनु र नहुनुको अर्थ
आकाश हुनु धर्ती नहुनुको अर्थ
सूर्य हुनु ताप नहुनुको अर्थ
प्रकृति हुनु हावा नहुनुको अर्थ
र, यो पनि
मानिस हुनु मानवता नहुनुको अर्थ ।
योग हुनु वियोग नहुनु
त्यो आफैँमा बिरसिलो हुन्छ
बाटो हुनु यात्री नहुनु
त्यो आफैँमा अस्तित्वहीन हुन्छ
शब्द हुनु अर्थ नहुनु
त्यो आफैँमा अर्थहीन हुन्छ ।
जस्तो कि
म हुनु तिमी नहुनु
त्यो मलाई अनर्थ हुन्छ
जन्म हुनु मृत्यु नहुनु
जुन जिन्दगीलाई नै अस्वीकार्य हुन्छ
म, अनि तिमी
जन्म र मृत्यु पनि
हुनु र नहुनुको अर्थबीच
एउटा परिभाषा हो
जसले जीवनमा
समान अपरिहार्यता राख्छ ।
हलेसी तुवाचुङ न.पा., खोटाङ


