कवि : डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
अँध्यारो रात चिर्दै,
बिहानी खोज्दै
फुत्त डाँडाबाट निस्केको
सुकुमार सूर्य मुस्कुराएझैँ
शीतल धरती र आकाश चुम्ने
चरीको स्वरलहरीसँगै
मुस्कानको बाँसुरी झन्झन् मुस्कुराउँछ ।
कहिले खुसीमा आँत फुकाएर,
कहिले दुःखमा पीडा र आँसु लुकाएर
मुस्कुराइरहन्छ मुस्कानको बाँसुरी
तर अनभिज्ञ छन् –
मठाधीशहरू ।
मुस्कानको मर्म
थाहा पाउँछन् केवल
पीडाको शोध गर्नेहरूले,
पीडा कसरी लुकाइन्छ भनेर ।
तर
जब शरीर थाक्छ,
तब मुस्कान हराउँछ,
अनि ऊ खुला पुस्तकालय बन्छ
जहाँ पढ्छन् जोसुकैले पनि,
तर केवल बुझ्छन् –
अनुभूति गर्नेहरूले मात्र ।
नागार्जुन–१०, काठमाडौँ


