कवि : सलिन विष्ट
यो अनन्त
शून्यताको महासागरमा,
जहाँ ताराहरूका टापुहरू
तैरिइरहेका छन्,
र…
समयका लहरहरूले
अज्ञात किनारलाई हिर्काइरहेका छन्;
म त्यहाँ एउटा सानो,
अनि अति सूक्ष्म बिन्दु हुँ ।
म उभिएको यो पृथ्वी,
जसलाई म ‘मेरो संसार’ भन्छु,
यो विशाल आकाशगङ्गाको
एउटा कुनामा झुन्डिएको
धुलोको एउटा कण मात्र त हो !
तर अचम्म लाग्छ,
यही सानो कणभित्र मेरा
कति ठूला सपनाहरू
अटाइएका छन्,
यही सानो बिन्दुभित्र मेरो
अहङ्कारको सिङ्गो सगरमाथा
उभिएको छ ।
खर्बौँ प्रकाश वर्षको यो फैलावटमा,
जहाँ कयौँ सूर्यहरू मर्छन्
र नयाँ ताराहरू जन्मिन्छन्,
मेरो आयु एउटा निमेषको
झल्को मात्र हो ।
म त न इतिहासको आदि हुँ,
न भविष्यको अन्त्य,
म त केवल दुई शून्यताबीचको
एउटा क्षणिक कम्पन हुँ ।
जब म आकाशतिर हेर्छु;
मलाई आफ्नै दुःखहरू
सानो लाग्न थाल्छन्,
मेरा हार र जीतहरू
अर्थहीन लाग्न थाल्छन् ।
किनकि
यो ब्रह्माण्डलाई
मेरो रिसको तापले केही फरक पर्दैन,
न त मेरो सफलताको कोलाहलले
यसको मौनतालाई भङ्ग गर्न सक्छ ।
तर…
यो लघुताभित्रै एउटा
विशालता लुकेको छ ।
भलै म एउटा सानो बिन्दु हुँ,
तर म त्यो बिन्दु हुँ जसले
ब्रह्माण्डलाई ‘देख्न’ सक्छ ।
मैले आफ्ना आँखाले ती
ताराहरूको प्रकाश पिउन सक्छु,
मैले आफ्नै चेतनाले यो
अनन्तको आयतन नाप्न सक्छु ।
म नभएको भए,
यो ब्रह्माण्डको सुन्दरतालाई
कसले व्याख्या गर्थ्यो ?
म नभएको भए,
यी नक्षत्रहरूको चमकलाई
कसले प्रेम गर्थ्यो ?
हो,
म सानो छु,
तर मभित्र पनि त्यही पदार्थ छ
जसले ती ताराहरू बनेका छन्,
मेरो रगतमा त्यही फलाम
बगिरहेको छ जुन कुनै दिन
अन्तरिक्षमा विस्फोट भएको थियो ।
त्यसैले,
म एउटा सानो बिन्दु मात्र होइन,
म त यो ब्रह्माण्डले आफैँलाई
चिन्ने एउटा आँखा हुँ ।
म सानो छु,
तर
म पूर्ण छु,
म शून्य छु,
तर म नै अनन्तको
एउटा सुन्दर हिस्सा हुँ ।
बनेपा-१२, काभ्रे


