कविता: विपी कोइराला
कवि: नवराज न्यौपाने ‘मौन’
सृष्टिको चक्र घुमिरहँदा
युग फेरिन्छ
समय फेरिन्छ
चोला फेरिन्छ
तर समयको गीत फेरिँदैन
सृष्टिको रीत फेरिँदैन ।
हरेक समयले
प्रत्येक जमानाले
युगपुरुष जन्माउँछ
युगद्रष्टा जन्माउँछ
सिर्जना र स्रष्टा जन्माउँछ
किनकि युग हाँक्न
युगकै सारथि चाहिन्छ ।
विपी विचारका संवाहक हुन्
निष्ठाका परिचालक हुन्
मानवताको पृष्ठपोषण गर्ने
कुशल राजनीतिक खेलाडी हुन्
साहित्यको श्रीवृद्धि गर्ने
कुशल स्रष्टा पनि हुन् ।
सङ्घर्षै सङ्घर्षले जेलिएको जीवनमा
गरिबीसँग लडे
बिघ्नबाधासँग लडे
राणा र राजाको विचारसँग लडे
तर, विचार कहिल्यै मोडेनन्
समाजवादको लक्ष्य कहिल्यै छोडेनन् ।
मनमा द्विविधा भयो भने
मुटु र माटोसँग सोध्नु भन्थे
जनमत बुझ्न गाह्रो परे
गरिबको झुपडी नियाल्नु भन्थे
गलत बाटो हिँडिएछ भने
चटक्कै छोडिदिनु भन्थे ।
विपीको विद्वत्ता देखेर
राजा पनि तर्सिने गर्थे
विपीको लोकप्रियता बुझेर
षडयन्त्रका तानाबाना वर्षिने गर्थे
तर पनि उनले
आस्था कहिल्यै हार्न जानेनन्
विश्वास कहिल्यै जित्न सकेनन् ।
विदेशी भूमिमा बसेर
देश सपार्न सकिन्न
आँखामा बादल लागेपछि
आकाश उघार्न सकिन्न
त्यसैले मेलमिलापको नीति लिएर
देश फर्किए विपी
जेलनेल भोगे
तर कसैसँग नहारेका उनलाई
क्यान्सरले जितेर गयो
देश बनाउने सपना
सधैँ अधुरै रह्यो ।
आज यतिखेर
विपीलाई चिन्नुपर्छ हामीले
उनकै पदचाप पछ्याउँदै
हिँड्नु पर्छ हामीले
विपीका सपना बुझेर
कार्यदिशा नियाल्नु पर्छ हामीले
किनकि
विपी विचारका संवाहक हुन्
भावनाका भूगोल हुन्
अडानका बृहस्पति हुन्
साँच्चै विपी महामानव हुन् ।
मातातीर्थ, बालागाउँ, काठमाडौँ


