कविता: ऋण होइन, मूल्य बोकेका मान्छेहरू
कवि: कौसिबहादुर सिंह
हिजो मेरा बालाई
सय रुपैयाँले नपत्याउनेहरू,
खै किन आज मेरो आँगनमा
हजारको आश बोकेर आइपुग्छन् !
दुःखमा साथ नदिएकाहरूलाई
ऋणमा विश्वास नगरेकाहरूलाई
मुखभरिको जवाफ दिन मन त हुन्छ !
तर त्यसो गर्दिनँ
किनकि म शिक्षित छु,
मेरा बा-आमाले मलाई
संस्कार सिकाउनुभएको छ !
मेरा बासँग धन थिएन
मन अपार थियो,
आमाको आँखामा सपना थिए,
घर अभावले भरिएको थियो !
ती सपनाहरू पूरा गर्न
दाइ-भाउजूको साथ थियो !
जग्गा बन्धकी राखेर भए पनि
शिक्षाको बत्ती,
मेरो जीवनमा बालियो !
त्यो बत्तीमा
बाबा-आमाको पसिना,
दाइ-भाउजूको त्याग
सबै मिसिएको छ !
मेरो जीवनको यात्रामा
श्रीमतीको मुस्कान छ,
उसले देखाएको माया
शब्द नचाहिने समझदारीले
घर अझै उज्यालो बनाएको छ !
बा-आमा हजुरहरूको शिर
सधैँ ठाडो रहनेछ,
किनकि हाम्रो घर
धनले होइन !
त्याग र मानले अडिएको छ !
हाम्रो कारण
शत्रुले कहिल्यै शिर
उठाउन सक्ने छैनन् !
हजुरको आँखामा सधैँ
गर्व बगिरहनेछ,
किनकि हामी
ऋण होइन
मूल्य बोकेका छोरा हौँ !
नलगाड न.पा. -०९, जाजरकोट


