कविता: मेरो गाउँ
कवि: सलिन विष्ट
लहलह धान झुल्छ फाँट हरियाली,
प्रकृतिको सुवासले छर्छ खुसियाली,
प्राणभन्दा प्यारो लाग्छ मलाई मेरै गाउँ,
रमाइलो गाउँ छोडी भन कहाँ जाऊँ ?
प्रेम दिन्छिन् प्रकृति निश्चल सुगन्ध छरी,
सहिष्णुताको वास छ मेरो गाउँ भरी,
विविधतामा एकताको उदाहरण मेरो गाउँ,
सहिष्णु यो गाउँ छोडी भन कहाँ जाऊँ ?
बुद्धिजीवी बुढापाका युवा जोसिला छन्,
राष्ट्रियताको गाना गाउँदै सबै रमाउँछन्,
समतामूलक समाजको उदाहरण मेरो गाउँ,
प्राणभन्दा प्यारो गाउँ छोडी भन म कहाँ जाऊँ ?
मादले दाई मादल ठोक्छन् गीत गाउँछन् गाइने,
मर्दा पर्दा सबैलाई छर छिमेक चाहिने,
समायोजन गर्दै सबै अघि बढ्ने गाउँ,
आमाजस्ती गाउँ छोडी भन म कहाँ जाऊँ ?
लालीगुराँस फुल्छ हजुर डाँफे मुनाल गाउँछ,
लोकगीतको भाका हाली गाउँले गीत गाउँछ,
जैविक विविधताको घर मेरो गाउँ,
उदात्त यो गाउँ छोडी भन कहाँ जाऊँ ?
हिमालको गौरव बोकेको मेरो मातृभूमि,
कर्तव्य र ज्ञानको पाठ सिकाउने मेरो कर्मभूमि,
प्रकृतिको अनुपम उपहारले सुसज्जित गाउँ,
सम्पदाले भरिपूर्ण यो गाउँ छोडी भन म कहाँ जाऊँ ?
परम्परा झल्काउने माटोको त्यो घर,
उल्लासपूर्ण जनजीवन किसानीको भर,
गाउँछन् गीत गाइने दाजै झुम्छ सारा गाउँ,
समानताको धरोहर यो गाउँ छोडी भन म कहाँ जाऊँ ?
नाच्छिन् मारुनी छमछम पाखा पखेरा हाँस्छन्,
तामाङ सेलो गीतको तालमा च्याङ्बा दाई नाच्छन्,
दोहोरी गीतको भाकामा सधैँ झुम्छ मेरो गाउँ,
संस्कृतिको गाउँ छोडी भन कहाँ जाऊँ ?
सावित्री छन् घर घर मुना मदनका कथा,
मौलिक परम्परा र ऐतिहासिक गाथा,
संस्कृतिको जगेर्नामा अघि बढ्ने गाउँ,
मौलिकपनले भरिएको गाउँ छोडी कहाँ जाऊँ ?
बनेपा-१२, काभ्रे


