कविता: किनकि, म नर्स हुँ
कवि: पार्वती पुडासैनी
(सन्दर्भ नर्स दिवस)
झमक्क साँझ पर्दा
अरू सबै आ-आफ्ना घर प्रवेश गर्छन्
तर म भने
दिनमा मात्र होइन रातमा पनि
पहरेदार बन्छु अस्पतालको वार्डमा
किनकि, म नर्स हुँ ।
अरू आमाहरू
खेलाइरहेका हुन्छन् बच्चाहरूलाई
र च्यापेर सुतिरहेका हुन्छन् मस्तसँग
म भने रातोदिन
दूधे बालक र घरका काम छोडेर ड्युटीमा होमिन्छु
अरूहरू बासतिर फर्कन्छन् रम्छन्, रमाउँछन्
म रोगी र दुःखीहरूको पीडामा मलम लगाउँदै हुन्छु
किनकि, म नर्स हुँ ।
भोक, तिर्खा र निद्राले छुँदैन मलाई
भोक लाग्दा पटुकी कस्छु र भोक मार्छु
निद्रा लाग्दा ओथारो बसेझैँ जागा बस्छु
किनकि, म नर्स हुँ ।
कसैले भन्छन् मलाई
तिमीहरू रोबोट हौ मन नभएका
तिमीहरूलाई दुःख पीडाको अनुभूति हुँदैन
तिमीहरू मेसिन हौ, केवल मेसिन
जसले जेसुकै भनुन्
म भने अहोरात्र सेवामा खटिन्छु
किनकि, म नर्स हुँ ।
जब पराजित हुन्छ रोग
जब उज्यालो देख्छु बिरामीको अनुहार
त्यसैको प्रतिबिम्बमा आफू पनि हाँस्छु
किनकि, म नर्स हुँ ।
गोंगबु, नयाँ बसपार्क, काठमाडौँ


