कविता: किनकि, म नर्स हुँ
कवि: पार्वती पुडासैनी
(सन्दर्भ नर्स दिवस)
झमक्क साँझ पर्दा
अरू सबै आ-आफ्ना घर प्रवेश गर्छन्
तर म भने
दिनमा मात्र होइन रातमा पनि
पहरेदार बन्छु अस्पतालको वार्डमा
किनकि, म नर्स हुँ ।
अरू आमाहरू
खेलाइरहेका हुन्छन् बच्चाहरूलाई
र च्यापेर सुतिरहेका हुन्छन् मस्तसँग
म भने रातोदिन
दूधे बालक र घरका काम छोडेर ड्युटीमा होमिन्छु
अरूहरू बासतिर फर्कन्छन् रम्छन्, रमाउँछन्
म रोगी र दुःखीहरूको पीडामा मलम लगाउँदै हुन्छु
किनकि, म नर्स हुँ ।
भोक, तिर्खा र निद्राले छुँदैन मलाई
भोक लाग्दा पटुकी कस्छु र भोक मार्छु
निद्रा लाग्दा ओथारो बसेझैँ जागा बस्छु
किनकि, म नर्स हुँ ।
कसैले भन्छन् मलाई
तिमीहरू रोबोट हौ मन नभएका
तिमीहरूलाई दुःख पीडाको अनुभूति हुँदैन
तिमीहरू मेसिन हौ, केवल मेसिन
जसले जेसुकै भनुन्
म भने अहोरात्र सेवामा खटिन्छु
किनकि, म नर्स हुँ ।
जब पराजित हुन्छ रोग
जब उज्यालो देख्छु बिरामीको अनुहार
त्यसैको प्रतिबिम्बमा आफू पनि हाँस्छु
किनकि, म नर्स हुँ ।
गोंगबु, नयाँ बसपार्क, काठमाडौँ
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



