कविता: यहाँ को बाँच्यो ? यहाँ को मर्यो ?
कवि: विद्यानन्द बेदर्दी
यहाँ
कफिनमा सुतेकाहरू उठेर हिँडिरहेका छन्,
र कुर्सीमा बसेकाहरू
चिहानको निद्रामा छन् ।
नेता बाँचेका छन्,
तर देशको धड्कन सुन्न सक्दैनन् ।
सहिद मरेका छन्,
तर गल्ली–गल्लीमा
अझै प्रश्न बनेर हिँडिरहेका छन् ।
सहिदको रगत—
सिँढी बनाइन्छ,
सिँढीबाट कुर्सी चढ्छ,
कुर्सीबाट ऐना हेर्दै भन्छ—
“हामी राष्ट्रसेवक हौँ !”
र सहिद दिवसमा,
चढाइन्छ एक मुठी फूल,
बगाइन्छ एक थोपा आँसु,
वर्षभरिको पाप ढाक्न
मञ्चन गरिन्छ
यही एकदिने नाटक ।
यहाँ दोषीहरू
माला लगाएर सम्मानित छन्,
र इमानदारहरू
भोकको रोग लगाएर देशभक्त ।
तर सुन, देश !
सहिद मरेर सकिएका छैनन्,
हामी मौन बसेर सकिँदैछौँ ।
आजै प्रण गरौँ—
अब सहिदलाई
भित्तामा झुन्ड्याएर पूजा मात्र होइन,
छातीमा बोकेर प्रश्न गर्नेछौँ ।
किनकि
यहाँ मर्नु ठूलो कुरा होइन,
यहाँ जिउँदै सत्य हुनु
सबैभन्दा ठूलो बलिदान हो !
अग्निसाइर, कृष्ण-सवरण गाउँपालिका-०४, सप्तरी
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



