कविता: यहाँ को बाँच्यो ? यहाँ को मर्यो ?
कवि: विद्यानन्द बेदर्दी
यहाँ
कफिनमा सुतेकाहरू उठेर हिँडिरहेका छन्,
र कुर्सीमा बसेकाहरू
चिहानको निद्रामा छन् ।
नेता बाँचेका छन्,
तर देशको धड्कन सुन्न सक्दैनन् ।
सहिद मरेका छन्,
तर गल्ली–गल्लीमा
अझै प्रश्न बनेर हिँडिरहेका छन् ।
सहिदको रगत—
सिँढी बनाइन्छ,
सिँढीबाट कुर्सी चढ्छ,
कुर्सीबाट ऐना हेर्दै भन्छ—
“हामी राष्ट्रसेवक हौँ !”
र सहिद दिवसमा,
चढाइन्छ एक मुठी फूल,
बगाइन्छ एक थोपा आँसु,
वर्षभरिको पाप ढाक्न
मञ्चन गरिन्छ
यही एकदिने नाटक ।
यहाँ दोषीहरू
माला लगाएर सम्मानित छन्,
र इमानदारहरू
भोकको रोग लगाएर देशभक्त ।
तर सुन, देश !
सहिद मरेर सकिएका छैनन्,
हामी मौन बसेर सकिँदैछौँ ।
आजै प्रण गरौँ—
अब सहिदलाई
भित्तामा झुन्ड्याएर पूजा मात्र होइन,
छातीमा बोकेर प्रश्न गर्नेछौँ ।
किनकि
यहाँ मर्नु ठूलो कुरा होइन,
यहाँ जिउँदै सत्य हुनु
सबैभन्दा ठूलो बलिदान हो !
अग्निसाइर, कृष्ण-सवरण गाउँपालिका-०४, सप्तरी


