कविता: क्षमा
कवि: युवराज भण्डारी
महाशय,
गल्ती तिम्रो भए पनि
स्वीकार गर्नैपर्छ भन्ने छैन,
अहङ्कारको उचाइ घटाउनु
सबैको धर्म हुँदैन ।
हो,
म सही थिएँ होला
तर सही भएर पनि
त्यसलाई साबित गर्न नसक्नु
मेरै कमजोरी हो ।
भैगो मित्र,
आफूलाई दोषी ठानेर
तिमी सुध्रने नाटक नगर,
एक माइल मेरो जुत्तामा हिँडेर
मेरो थकान महसुस गर्ने
सदाशयता समेत बिर्सिदेऊ ।
मैले तिमीलाई सहयोग गरेँ
त्यही मेरो अपराध भयो
ठीक छ तिम्रो लागि
ऐना पनि गलत भनिदिउँला
मेरो आदर्शको कोषमा
उज्यालोको परिभाषा फेरिदिउँला ।
तिमीले मलाई माफ नगरे पनि
मैले तिमीलाई
आजैदेखि क्षमा गरिदिएँ ।
वर्षौँपछि
आज मनको ग्रहण हटेको छ,
अब उज्यालो
मेरो अनुमति पर्खिँदैन ।
तनहुँ, हाल: क्यानाडा


