कवि: नारायण खनाल ‘नीलम’
ओ ! उन्मत्त भीड
अम्बाको रुखमा चढेर
आकाश छोएको भ्रममा
किन बनिरहेछस् बन्दी ?
झरेर भुइँमा
हेर त एकपटक,
स्वार्थको धुवाँमा
निसास्सिएको देश !
बनेर शीतल
सोच एकपटक,
देश बेचेर
राजा हुने लालसा बोकेकाहरू,
आगोमा पसेर पानी खोज्नेहरू
किन बन्न खोजिरहेका छन् शासक ?
मनन गर
गहिरिएर,
के
अब पनि
देश दुखेको
देखाउन
शब्द चाहिन्छ ?
अथवा
हेरे पुग्छ एकपटक—
आफ्नै आमाको विचलित मुहार !
ओ उन्मत्त भीड !
खोज उत्तर—
किन
भ्रमसँग यति धेरै
लहसिँदै छ
आजको नवयुवा ?
अर्घाखाँची


