कवि: नवीन श्रेष्ठ
राणाले दास बनाए,
राजाले प्रजा
अनि बहुदलले जनता बनाए,
तर ‘म’ अनागरिक !
नागरिक बन्न प्रयासरत छु,
मलाई नागरिक बन्न देऊ ।
अब केही फरक पर्दैन—
चुनावी सभा र महासभा,
चर्का स्वरमा बोलिएका ती भाषणहरू,
अघिपछिका भीडहरू
अनि तिम्रा ती चुनावी पर्चाहरू
अब सबै बेकार छन्
तिमी जस्तै !
मैले इतिहास भोगेको छु,
यहाँ सरकार जसको छ
सडक पनि उसैको हो भन्ने बुझेको छु ।
राजाले न्याय नपाएको मुलुकमा
तिमी ‘जेन-जी’ न्यायको कुरा गर्छौ,
म कसरी विश्वास गरौँ ?
जबकि
कयौँ योद्धाले न्यायका नाममा
सहिदको घोषणा र
भित्तामा झुण्डिएको
तस्बिरमा उनिएको माला मात्रै पाएका छन् ।
कैयौँ भागीरथी र निर्मलाका चित्कार
अझै गुञ्जिरहेका छन् ।
मलाई थाहा छ,
यहाँ न्याय खोज्नु भनेको
दिउँसै लालटिन बालेर
आकाशमा तारा खोज्नुजस्तै हो ।
तिमी
मङ्गल र वृहस्पतिमा
मानव बस्तीको कुरा गर्छौ,
म त आफ्नै जन्मभूमिमा अनागरिक छु,
सिमानाका पिँजडामा थुनिएको छु,
मलाई मेरो मानवत्व देऊ !
बाराहापोखरी, खोटाङ


