कवि: अनु अर्याल
उसले हाँस् भन्दा म हाँस्नुपर्ने रे,
उसले नाच भन्दा म नाच्नुपर्ने रे ।
यो गर, त्यो गर—
सबै निर्णय उसैले गर्ने रे,
अनि म
उसले गरेका निर्णय
पछ्याउँदै बाँच्नुपर्ने रे ।
घरको संस्कार उसका लागि
फूलैफूलको आँगन जस्तै,
तर, मेरा लागि भने
बन्देज बनाइएको कैदजस्तै हुनुपर्ने रे ।
भन्दै रुन्थे पहिलेका छोरीहरू ।
आज
यही समाजमा
थोरै भए पनि
सोच परिवर्तन भएको
आभास हुन्छ ।
हिजो मौन थिइन् छोरी,
आज आवाज बनेकी छन् ।
निर्णय खोज्ने मात्र होइन,
अब भविष्य लेख्ने भएकी छन् ।
चिन्ता नगर्नु बा,
अब तपाईँका छोरीहरू
यो समाजका गलत निर्णयलाई
समर्थन गर्ने होइन,
आफ्नो अधिकारका लागि
औँला उठाउन सक्ने भएका छन् ।
धनगढी, कैलाली


