कवि: सलिन विष्ट
सृष्टिको उपहार यो हिमशिखरको काखैमा,
सभ्यताको दीप बल्छ यहाँ प्रेमको साखैमा,
डाँफे मुनाल नाच्छन् लोकगीतको भाकामा,
लालीगुराँस हाँसेका छन् डाँडा र पाखामा ।
स्वाधीनताको गर्विलो दियो कहिल्यै रेटिन्न,
अमर वीरका ती बलिदान कहिल्यै मेटिन्न,
सीता माताको त्यागले यहाँ माटो छ बोलेको,
मानवताको मार्गमा यो मन दयाले खोलेको ।
वेद र पुराणको गहिराइ पनि यहीँ नै भेटिन्छन्,
सृष्टिको रहस्यको गाँठो पनि यहीँ नै मेटिन्छन्,
किसानले हलो-कोदालोले धर्तीलाई खनेको,
पसिना बगाई अन्न फलाउँदै उब्जाउ बनेको ।
न्यानो पवन चल्दा मन यो मेरो कति रम्दछ,
श्रम पौरखको त्यो मीठो फल यहीँ नै फल्दछ,
बुद्धको शान्तिको सन्देश पनि विश्वभर पुग्दछ,
ज्ञानको मूलधारा चेतना पनि यहीँबाट बग्दछ ।
श्री पशुपतिनाथको कृपाले यो धर्ती पवित्र छ,
जनकपुरको अमर कीर्ति त अझै विश्वचित्र छ,
साहस र स्वाभिमानले भरिएको मेरो देश नेपाल,
हिमाल, पहाड, तराईको स्वरूप छ कति विशाल ।
बनेपा-१२, काभ्रे


