कवि : कौशी बहादुर सिंह
आरामले सुत्न पाउँदैन
ढुक्कले खान पाउँदैन !
रातको १२–१ बजे फोन आउँछ
“कुनै चोकको नाम लिँदै
चोरी भयो, काटमार भयो, छिटो आइदिनु”
आँखा मिच्दै, थकान बोकेर
ऊ त्यहीँ पुग्छ बाध्य भएर
तर खै किन हो कसैलाई मन पर्दैन प्रहरी ?
प्रहरी,
न सत्ता पक्षको हुन्छ
न त प्रतिपक्षको नै
भिडमा ढुङ्गा खान बाध्य हुन्छ
आन्दोलनकारीको !
आफ्नो ज्यान दाउमा राखेर
अरूको जिउधन जोगाउँदा पनि
खै किन मन पर्दैन प्रहरी ?
भोको पेट, थाकेको शरीर
निद्रा नपुगेको आँखासहित
हाम्रै सुरक्षाको लागि
ड्युटीमा खटिएको प्रहरीले
गाली खानुपर्ने हो र ?
घृणित हुनुपर्ने हो र ?
प्रहरी पनि त मान्छे नै हो,
कसैको छोराछोरी हो !
कसैको श्रीमान्-श्रीमती हो,
कसैको बाआमा हो !
कसैको दाजुभाइ, दिदीबहिनी हो,
उसको पनि परिवार छ !
ऊ कसैको जिउने आधार हो
उसको शरीर पनि मासु र रगतकै हो !
उसलाई पनि त दुख्छ नि
खै किन बर्सिन्छन् ढुङ्गाहरू उसका शरीरमाथि ?
एकछिन स्वच्छ दिमागले सोच्नुहोस्
जब जीवन अन्धकारले घेरिन्छ
गुन्डाको प्रहार सहनुपर्छ !
छोरीबेटी असुरक्षित महसुस गर्छन्
त्यो अवस्थामा सबैभन्दा पहिला
कसको नाम सम्झनुहुन्छ ?
त्यो हो प्रहरी !
हामी सबैलाई चाहिन्छ प्रहरी
तर खै किन मन पर्दैन प्रहरी ?
नलगाड न.पा. –०९, जाजरकोट


