कवि : नारायण नाथ योगी
अब मसी सुक्ने डर छैन,
न त मथिङ्गल खियाउनुपर्छ,
कष्ट गरेर अनुभूतिका लाभाहरू
पिलाउनुपर्छ ।
बस,
एउटा ‘कमान्ड’ दिए पुग्छ —
‘लेख त एउटा वियोगको गीत’,
अनि च्याट-जीपीटीले ओकलिदिन्छ —
‘छटपटी’ र ‘जीत’ ।
लेखक बन्न अब
न अध्ययन चाहिन्छ, न त साधना,
न चाहिन्छ कुनै समाजको भोगाइ
र जीवन्त आराधना ।
औँलाले ‘इन्टर’ थिचेपछि
जन्मन्छन् ‘महान्’ पाण्डुलिपि,
जहाँ विचार त छ,
तर सबै उधारो र अलिअलि ‘कपी’ ।
ओहो !
ती फेसबुकका भित्तामा झुन्डिएका
‘नयाँ’ साहित्यकार,
जसको सिर्जनाको बाउ ‘एल्गोरिदम’ हो,
र आमा ‘इन्टरनेट’ को तार ।
आफैँले नबुझेका शब्दका चाङहरूमा
उनीहरू ‘वाहवाह’ खोज्छन्,
र मेसिनले उनेका विम्बहरूमा
आफ्नै ‘मौलिकता’ देख्छन् ।
‘जेमिनी’ ले पस्किएको
पसिनाबिनाको ‘क्रान्ति’,
अनि ‘जीपीटी’ ले बुनेको
नक्कली ‘आध्यात्मिक शान्ति’ ।
यो त त्यस्तै भयो —
जस्तै प्लास्टिकको फूलमा सुगन्ध खोज्नु,
वा एउटा रोबोटको धातुको छातीमा
‘मुटु’ छ भनी रोज्नु ।
स्याबास छ यो ‘डिजिटल-विद्वता’ लाई !
जहाँ
लेखक त केवल एउटा
‘डाटा-एन्ट्री अपरेटर’ भएको छ,
र साहित्य —
एउटा यस्तो फास्टफुड, जो स्वादिलो त छ,
तर यसले
न त आत्मालाई अघाउँछ,
न त इतिहास नै रचाउँछ ।
याद राख ‘प्रोम्प्ट-कवि’ ज्यू —
मेसिनले तिमीलाई ‘शब्द’ त सापटी देला,
तर ‘साधना’ दिँदैन,
यसले तिम्रो ‘स्टाटस’ त चम्काउला,
तर तिम्रो ‘अस्तित्व’ लेख्दैन ।
सिल्भर स्क्रिनको चमकले
आँखा त तिर्मिराउलान्,
तर भित्र रित्तो छौ भने,
तिमीलाई
‘सर्जक’ को नाम कसले देला र ?
इटहरी, सुनसरी


