सुरेशकुमार पाण्डेका चार लघुकथा
१. लघुकथा : सहयोग
“दामनी ! आज बिदा हो क्या हो ? ट्युसन जाने होइन ?” देवकीले छोरीलाई सोधिन् । दामनीले सुनेको नसुन्यै गरिन् र कुचो उठाएर दलान बढार्न थालिन् ।
“के भने मैले ? सुनिनस् कि क्या हो ?” आमाले फेरि सोधिन् ।
“ट्युसन जाँदिनँ आमा म,” दामनीले निराश हुँदै भनिन् ।
“के भन्छे यसले ? हिजोसम्म त खुसी हुँदै जान्थी, आज के भयो ? कति मुस्किलले मास्टर सा’बले पढाउँछु भन्नुभएको छ । सित्तैमा कसले पढाउँछ हामी गरिबलाई ? विनोद सरजस्तो भलाद्मी कहाँ पाउँछेस् ? सबै काम छोड्, म गरिहाल्छु, तँ ट्युसन गैहाल,” देवकीले सम्झाउन खोजिन् ।
“आमा, मलाई त्यहाँ ट्युशन पढ्ने मनै छैन, म घरै बसेर पढ्छु,” दामनीले बिन्ती गरि ।
“के भएको अचेलका केटाकेटीलाई ? सित्तैमा पढाउँछु भन्दा पनि मान्दैनन् । बाह्र कक्षाको कठिन पढाइ, विनोद सरको सहयोग पाए तँलाई नै फाइदा हुन्थ्यो,” देवकी फतफताइन् ।
“आमा ! त्यहाँ अरू कुनै केटी साथी आउँदैनन्, म एक्लै हुन्छु, त्यसैले मलाई जान मन छैन,” दामनीले भनिन् ।
“हेर यो केटी ! विनोदले सबैलाई सित्तैमा किन पढाउँथे? गरिबकी छोरी भनेर दया लागेर पो तँलाई पढाउँछु भनेका हुन् । अरूको के मतलब, आफ्नो सोच न !”
“आमा ! हजुरलाई कसरी सम्झाऊँ ? कसैले कसैलाई सित्तैमा पढाउँदैन, यति बुझिदिनुहोस् न ! अब मलाई त्यहाँ जा भनेर कर नगर्नुहोस्,” दामनी अलि चर्को स्वरमा बोली र आँगन बढार्नतिरै लागि ।
२. लघुकथा : मृत्यु उप्रान्त
“राधे, बिहानै कहाँ हिँडेको ?” विनयले सोध्यो ।
“दाइसँगै भारत जान लागेको,” राधेले भन्यो ।
“अनि यहाँ कुन चाहिँ दाइ हुनुहुन्छ ?” सेता कपडा लगाएको अधबैँसे अपरिचित व्यक्तिलाई सँगै देखेर विनयले सोध्यो ।
“माथिल्लो घरका नुरी बूढीलाई चिन्नुहुन्छ नि हजुरले ?”
“किन नचिन्ने ! बिचरी जीवनभर दुःख गरिन्, अन्त्यमा अभावमै प्राण त्यागिन् । उहाँको दुःखको कथाले मलाई सधैँ भावुक बनाउँछ,” विनयले नुरीको विगत कोट्यायो ।
राधेले विवरण दियो, “उहाँकै साइँला छोरा भारतमै बस्नुहुन्छ, उतै विवाह गरेर परिवारसहित हुनुहुन्छ । आमाको काजकिरिया गर्न मात्र पाल्नुभएको । जेठा त सानैदेखि हराएका हुन्, अत्तोपत्तो छैन । माइला पनि भारतमै छन्, तर छुट्टी नमिलेर आउन सकेनन् । कान्छालाई आमाले जापान पढ्न पठाएकी थिइन्, उनी पनि उतै छन् । यहाँको नाम चोपलाल हो । मैले नै फोन गरेर बोलाएको थिएँ । परदेशी जीवन यस्तै त हो नि ! आमाको जीउँदो मुख हेर्न पाउनुभएन, मृत्यु उप्रान्त मात्रै दर्शन गर्न पाउनुभयो ।”
“अनि अहिले भारत किन जाने ?” विनयले निधार खुम्च्याउँदै सोध्यो ।
“आमाको अस्थि विसर्जन गर्न गया जान लागेको । जीवित छँदाको ठुलो धोको थियो गया जाने नुरी आमाको, पूरा गर्न पाउनुभएन । अहिले मरेपछि भए पनि अस्थि बगाइदिने विचारले जाँदै छौँ,” राधेले भन्यो ।
“अनि, कति दिन दुःख बोक्छौ त भाइ ?” विनयले चोपलालतिर हेर्दै सोध्यो ।
चोपलालले भन्यो, “वर्ष दिन नबोक्दा मानिसले के भन्लान् ? म आमालाई धेरै माया गर्छु, पूरै वर्षसम्म दुःख बोक्छु ।”
“जीउँदो छँदा सेवा गर्न नसके पनि मृत्यु उप्रान्त त औपचारिकता पूरा गर्नैपर्यो,” विनयले सुस्तरी भन्यो ।
३. लघुकथा : नमरेको लास
“मलाई बरु भोकै मर्न मन्जुर छ, अर्काको देशमा जान्नँ,” शेरेले अडान राख्यो ।
“यहाँ रोजगार छैन, घरमा बेरोजगार बसेर के गर्छौ ? हाम्रा पुर्खाले विदेशीको सेवा गर्दै आएका छन् । मेरा बाजे ब्रिटिसका बफादार थिए, मेरा बा पनि उनीहरूकै काममा खटेका थिए । मैले पनि त हिन्दुस्तानमा ४० वर्ष इमानदार सैनिक बनेर बिताएको हुँ । तँलाई थाहा छैन त्यो सबै ?” बहादुरले इतिहास कोट्याउँदै सम्झाउन खोजे ।
“बाबा, हजुरले आफ्नो सारा जीवन भारतमा बिताएर के प्राप्त गर्नुभयो ? के हामीले खान र लगाउनकै लागि अरूको गुलामी गर्नैपर्ने हो ?” शेरेले निराश हुँदै भन्यो ।
“तँ किन बुझ्दैनस् ? मलाई सानामा सबैले ‘भतुवा’ भन्थे । तर त्यो भतुवालाई ‘बहादुर’ नाम कसले दियो थाहा छ ? हिन्दुस्तानमा मेरा बाजेले ब्रिटिस सरकारमा देखाएको बहादुरीले गर्दा नाति-पनातिसमेत बहादुर बन्न पाएका हौँ । मैले सानैमा तेरो नाम शेरबहादुर राखिदिएको हुँ, ताकि कुनै दिन तँ पनि बहादुरी गरेर देखाउनेछस्,” बहादुरले आफ्नो आकाङ्क्षा व्यक्त गरे ।
“बाबा, मरेपछि सबै लास बन्छन्, तर हाम्रो परिवार त जिउँदै लास बनेर बाँचेको रहेछ । तर म नमर्दै लास बन्न सक्दिनँ,” शेरेले कोदाली उचाल्यो र बारीतर्फ लाग्यो ।
४. लघुकथा : शत्रु
“धने विदेश जान्छु भन्छ, खै कसले सहयोग गर्ला ?” तुलसीले निधार खुम्च्याउँदै भने ।
“किन जानुपर्यो विदेश ? थोरै लगानी गर्न सके दुवै छोरालाई रोजगारको राम्रो व्यवस्था हुन्थ्यो । यतै पनि बजारमा घर अनि सटर रहेछ,” मित्रमणीले सुझाव दिए ।
“हो क्यारे, तर जे सुकै काम गरे पनि धनको खाँचो पर्छ । धनबिनाको योजना फलदायी कहाँ हुन्थ्यो र ? आफूसँग रुपैयाँ छैन,” तुलसीले दुखेसो पोखे ।
“विदेश जाने खर्चलाई नै देशमै कुनै काममा लगानी गर्दा हुन्थ्यो नि !”
“विदेश जाने पनि ऋण लिएरै हो । घर धितो राखेर ऋण लिने विचार गरेको छ धनेले । कान्छोलाई डिग्री दिलाउँदा लिएको ऋण ब्याजसहित अझै लाखजति तिर्न बाँकी छ । त्यो तिरेपछि फेरि ऋण लिएर धनेलाई विदेश पठाउने विचारमा छु,” तुलसीले खुलस्त भने ।
“हजुरका दाजुले पनि सहयोग गर्लान् नि ? उनको व्यवसाय त राम्रो छ,” मित्रमणीले भने ।
“खै, उनी त्यति राम्रो बोल्नै खोज्दैनन्, सहयोगको त कुरै छोडौँ,” तुलसीले अँध्यारो अनुहार बनाउँदै भने ।
“पहिले त खुबै राम्रो थियो, के भएको हो र ?”
“के हुनु नि ! एउटा खरकट्टी जग्गा दुई भाइको साझा थियो । मलाई ऋण लागेपछि त्यो बिक्री गर्न खोज्दा उनले खरकट्टी धितो राखेर ऋण लिएका रहेछन्, त्यो पनि जम्मा ५० हजार । त्यो चुक्ता गरिदिनुहोस् भनेको त… !” उनी बोल्नै छोडे ।
“फेरि के भने त ?”
“पैसा हुँदा ऋण तिर्छु, तँलाई तिर भनेको छैन भन्दै उल्टै हकार्न थाले । दाजुलाई के भन्ने ? त्यस दिनदेखि उनीहरू कोही पनि हाम्रो घरमा आउँदैनन्,” तुलसीले दुखेसो पोखे ।
“पैसाको मुख कालो हुँदोरहेछ । हामी दुई भाइको पनि त्यस्तै छ,” मित्रमणीले आफ्नो समस्या बताउँदै भने ।
–०००–
घोराही-१८, दाङ
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



